पताल गंगा सहकारीका तत्कालिन अध्यक्ष २ करोड ठगीमा पक्राउ

विर्तामोड । दुई करोडभन्दा बढी रकम हिनामिना गरी विगत दुई वर्षदेखि फरार रहेका पताल गंगा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका तत्कालिन अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।

उनीसहित परिवारका पाँचजना मिलेर बचतकर्ताको दुई करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ हिनामिना गरेको उनलाई आरोप छ । खनाललाई प्रहरीले गत बिहीबार कैलालीको धनगढीबाट पक्राउ गरेको हो । झापा भद्र्रपुर नगरपालिका घरभइ हाल बिर्तामोड नगरपालिका ४ मा डेरा गरी बस्दै आएका ४१ वर्षीय खनाल फरार थिए । जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट पक्राउ परेका उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उपस्थित गराइएको छ ।

पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष टंकप्रसाद भेट्वालले २०७८ कात्तिक १६ गते २ करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ विगो कायम गरी खनालविरुद्ध जाहेरी दिएका थिए । उनका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयमा २०७१ कात्तिक ४ गते मिसिल पेश भएको थियो । अदालतबाट भने २०७९ मंसिर १४ गते म्याद जारी भएको थियो । अदालतबाट म्याद जारी भएपछि अध्यक्ष खनालकी बहिनी ३६ वर्षीया गोमा खनाल (भण्डारी) २०७९ कात्तिक २५ गते पक्राउ परेकी थिइन् । अनुसन्धानपश्चात् अदालतको आदेशले १ लाख ५० हजार रुपैयाँ धरौटी राखेर उनी तारेखमा छुटेकी थिइन् ।

त्यस्तै खनालका मामा ससुरा बिर्तामोड घर भई हाल भद्रपुर नगरपालिका वडा नं ८ बस्ने ५१ वर्षीय अनन्त जीवन लुईटेल पनि अदालतमा आफैं उपस्थित भई ७५ हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । तर खनालकी श्रीमती ४४ वर्षीया कमलादेवी भट्टराई (खनाल) र खनालका भाइ ३६ वर्षीय सिताराम खनाल हालसम्म फरार छन् । पक्राउ परेका खनाललाई भने आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार, २० बैशाख, २०८२, रातीको ०८:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर