विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको हत्या आफ्नै बुहारी र नातिनीले मिलेर गराएको प्रहरीले खुलासा गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुसन्धान अनुसार, हत्या योजनामा संलग्न भएर ४५ वर्षीया बुहारीले किशोरहरूलाई २० हजार दिने प्रलोभन देखाएर वृद्ध कुमालको हत्या गराएकी हुन्। हत्यामा संलग्न भएको आरोपमा बुहारी र १२ वर्षीया नातिनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई शुक्रबार सार्वजनिक गरिएको छ ।
प्रहरीका अनुसार, हत्या योजनामा १३ वर्षीया नातिनीसमेत प्रत्यक्ष रूपमा संलग्न थिइन्। नातिनी र बुहारीको मिलेमतोमा दुई किशोरमार्फत घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गर्ने दुई किशोर १७ वर्षका रहेका छन् र मजदुरी पेशामा संलग्न थिए।
प्रहरीले घटनास्थलको अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुरको समेत सहयोगमा चारैजनालाई पक्राउ गरेको हो। पक्राउ परेका मध्ये तीन जना नाबालक भएकाले प्रहरीले उनीहरूको परिचय खुलाएको छैन भने ४५ वर्षीया बुहारीलाई मात्र सार्वजनिक गरिएको छ।
प्रहरी प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतका अनुसार, हत्या गर्नेहरूलाई मदिराले लट्ठ परेर बसेको अवस्थामा वृद्धको हत्या गर्न सजिलो भएको थियो। ‘हत्या पछिको सहमति अनुसार २० हजार दिने भनिए पनि उनीहरूले रकम पाएका थिएनन्,’ डिएसपी बस्नेतले बताए।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत संखुवासभाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक मीनबहादुर कुमालले २०५९ सालमा गाउँकै एकजनाको हत्या गरेर पाँच वर्ष जेल सजाय भोगेका थिए। जेलमुक्ति पछि उनले आफ्नै छोरालाई समेत खुकुरी प्रहार गरेका थिए। उनका छोरा हाल वैदेशिक रोजगारीका लागि कतारमा छन्।