
सूजता निङ्लेखु
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर, जहाँ विगतका दिनहरुमा खाजाको नाम लिनासाथ समोसा, जेरी, पुरी तरकारी सम्झनामा आउँथ्यो । विद्यालयदेखि कार्यालयको खाजाको ‘मेन्यु’मा पुरी तरकारी र समोसाले राज जमाएको हुन्थ्यो ।
विहान विद्यालय जानेहरूका लागि होस् या साथीभाई जमघटमा तातो समोसा र चिया खाने चलन थियो । रेष्टुरेन्टमा होइन, चोक र बजारको गल्लीमा राखिएको ठेलामा पाकेको तातो–तातो समोसा र पुरी तरकारीको स्वाद विराटनगर–१२ का ५५ वर्षीय राजकुमार साहको सम्झनामा अझै ताजा छ ।
तर, अहिले समयसँगै खानेकुराको स्वाद पनि फेरिएको उनको बुझाइ छ । उनी भन्छन्, “मेरो नाति धेरैजसो मःम खान मन पराउँछ, अरु खानेकुरा खान मान्दैन ।”उसो त विराटनगरमा विभिन्न नाम दिएर खोलिएका मःम हाउसले पनि अनुमान लगाउन सकिन्छ, पछिल्लो दशकमा यहाँ मःमले विशेष स्थान ओगट्न थालेको छ ।
काठमाडौं, पोखरामा प्रख्यात मानिने मःमको परिकार अहिले विराटनगरको हरेक होटल, रेष्टुरेन्टमा फरक–फरक स्वाद भेटिन्छ । त्यसमा पनि विराटनगरको ट्राफिक चोकमा रहेको ‘टम एण्ड जेरी’ ‘बफ’ मःमका लागि प्रख्यात मानिन्छ ।
चिकन, भेज मःमको तुलनामा बफ मःम धेरै बिक्री हुने गरेको ‘टम एण्ड जेरी’की सञ्चालक कल्पना कार्की गुरुङ बताउँछिन् । त्यसो त कल्पनाको मःम व्यवसाय थाल्दै गर्दाको अनुभव छुट्टै छ । विराटनगरमै जन्मेकी कल्पनाको जेरी, पुरी तरकारीको स्वादसँग गहिरो नाता गाँसिएको छँदै थियो । तर, मःमको स्वाद भने व्यापार गर्न थालेपछि थाहा पाएको सुनाइन् ।
“स्वादै थाहा नपाई व्यापार गरेको, विराटनगरमा अहिले जस्तो प्रशस्त मःम दोकान थिएन, जेरी पूरी, समोसा त्यही त थियो खाजा”, उनले भनिन्, “मैले त व्यापार गरेपछि मःम खाएको हो ।”
श्रीमानले हात समातेर मःम बनाउन सिकाएको बताउने उनी व्यवसायिक यात्राको सुरुवात ठेलाबाट भएको बताउँछिन् । उनको पसलमा सेकुवाको परिकार पनि पाइन्छ । तर, मःम ढिला पाक्दा पर्खिनका लागि मात्रै सेकुवा खाने गरेको उनको भनाइ छ ।
उनी भन्छिन्, “खासमा मःम खानकै लागि आउने ग्राहकहरूले अलिक ढिला पाक्ने भएपछि टाइमपासका लागि सेकुवा खान्छन् ।”
सुरुवाती दिनहरुमा ३० देखि ३५ प्लेट मःम बिक्री हुने गरेको ‘टम एण्ड जेरी’को यात्रा अहिलेसम्म आइपुग्दा एउटा सिंगो राँगाको मासु मःमका लागि खपत हुने गरेको उनको दाबी छ ।“हाम्रो पनि सिजन हुन्छ, साउनमा त्यति धेरै मःम बिक्दैन्,” उनी भन्छिन्, “दशैँ, तिहार, रथयात्रा यस्तो बेला त एउटा सिंगो राँगा नै जान्छ ।” विद्यार्थी, कर्मचारीदेखि सबै खालको उमेर समूहकाले मःम धेरै मन पराउने गरेको उनको बुझाइ छ । पसलमा ८ जनालाई रोजगारी दिएकी छिन् । किमा बनाउने, बेल्ने, पोको पोको पार्न कर्मचारीसहित आफैले खटिने गरेको उनले सुनाइन् ।
खाजाको रुपमा मःम खानका लागि आएकी विराटनगर–३ की हेमा राई ठेलामा हुँदादेखि ‘टम एण्ड जेरी’को मःम खाएको बताउँछिन् । उनी होटलमा बसेपछि ‘मेन्यु’ जति पल्टाए पनि मःमले नै ठाउँ पाउने गरेको हाँस्दै सुनाउँछिन् ।
“जति पल्टाए पनि खानेकुराका परिकार मगाए पनि अन्तिममा एक प्लेट मःमले ठाउँ पाउँछ,” उनी भन्छिन्, “त्यही भएर मःम हामी सबैको साझा खाजा हो जस्तो लाग्छ ।”
यस्तै विराटनगर कलेज रोडमा रहेको ‘माल्टा खाजा घर’ बफ मःमका लागि प्रख्यात मानिन्छ । दैनिक जस्तो भीडभाड हुने यहाँ विशेष नेवारी परिकारसहित बफ, चिकेन मःम पाइन्छ । १५ वर्षदेखि सञ्चालनमा आएको ‘माल्टा खाजा घर’मा पुगेर मःमको स्वाद नचाख्ने कमै होलान् ।
“दार्जिलिङबाट विवाह गरेर विराटनगर आएँ, अलिक दुःख नै थियो के गर्ने भनेर सोच बनाइरहेको बेला मैले मःम बनाएर छिमेकीलाई पनि बाँडे,” उनले भनिन्, “उहाँहरूले मिठो भनेर प्रतिक्रिया दिनुभएपछि मैले भेज मःमको व्यवसाय सुरु गरेकी हुँ ।”
पहिले ४० रुपैयाँ प्लेटमा बिक्थ्यो । अहिले ७० रुपैयाँ प्रति प्लेट भएको छ । भेज मःम धेरैजसो मारवाडी समुदायले समेत रुचाउने भएकोले कारोवार झांगिएको उनले बताइन । भन्छिन्, “दार्जिलिङको स्वाद भएकोले ननभेजले पनि चाख्नकै लागि भएपनि भेज मःम खाएर जानुहुन्छ ।”
नेवारी परिकारसँगै मःम खानेको भिड लाग्ने गरेको माल्टा खाजा घरका सञ्चालक प्रदीप मानन्धर बताउँछन् । दैनिक ६ देखि ८ किलोसम्म राँगाको मासु मःमका लागि प्रयोग हुने गरेको उनको भनाइ छ । सबै उमेर समूहले खाजामा मःम नै रुचाउने गरेको उनी बताउँछन् ।
यता, तीनपैनीमा रहेको ‘नाङ्लो’, ‘न्यू दार्जिलिङ मम सेन्टर’ भेज मःमलागि प्रख्यात मानिन्छ । दुवै ठाउँको मःमको आ–आफ्नै स्वाद रहेको त्यहाँ आउने ग्राहकहरूको भनाइ छ । नजिकैको भेजिज मःम हाउसमा पनि ग्राहको उत्तिकै चहल पहल हुन्छ ।
भारतको जोगबनी, फारबिसगञ्जबाट समेत ‘नाङ्लो’मा पाक्ने मःम खानका लागि भारतीयहरु आउने गरेका छन् । यता, ‘दार्जिलिङ मम सेन्टर’मा पाइने भेज मःम खान विराटनगर बाहिरबाट समेत ग्राहक आउने गरेको मञ्जना शेर्पा बताउँछिन् ।
‘दार्जिलिङ मम’की सञ्चालक रहेकी मञ्जनाको माइती घर दार्जिलिङ भएकाले त्यहाँको स्वाद कर्मथलो अर्थात् विराटनगरमा टपक्कै टिपेर जसरी ल्याएको उनले बताइन । संघर्षको दौडधुपमा मःमको व्यापार गर्ने योजना बनाएको र सुरुवातमा छिमेकीलाई खुवाएपछि व्यवसाय सुरु गरेको उनले सुनाइन् ।
मञ्जना र दिदी भएर सञ्चालन गरेको दार्जिलिङ मःममा अहिल ८ जनाले काम गरिरहेका छन् । डल्ला बनाउने, पकाउनेदेखि सबै स्टाफ र आफूहरू मिलेर काम गर्ने गरेको उनले बताइन् । भेज मःमको परिकार कसरी स्वादिलो बनाउने ? भन्ने प्रश्नमा उनी हाँस्दै भन्छिन्, “रेसिपी सेक्रेट नै राखौं होला ।”
विराटनगरमा मःमका लागि प्रख्यात मानिएको टम एण्ड जेरी, दार्जिलिङ मःम, माल्टा खाजाघर प्रतिनिधिमूलक मात्रै हुन् । पछिल्लो समय गल्ली–गल्लीमा खुलेका मःम हाउसहरूले पनि ग्राहकको मन जित्न थालेका छन् । तीमध्ये केही स्थानहरूले परम्परागत स्वादलाई नयाँ प्रस्तुतिसाथ ल्याइरहेका छन् भने केहीले तातो–तातो सुपसहितको मःममा नविनता थपेका छन् । विराटनगर पछिल्लो समय मःम हब नै बनेको छ । कतिपय सेन्टरले यहाँका फ्रोजन मःमको समेत कारोबार गर्छन । मागअनुसार होम डेलिभरी दिनेदेखि बिक्री केन्द्रसम्म आउनेलाई यो सुविधा दिइएको छ । फ्रोजन मःम थोकमात्रामै डेलिभरी गरिन्छ ।फरक–फरक स्वाद, सस्तो मूल्यका कारण पनि मःम हाउसहरू अहिले सबै खालको ग्राहकको रोजाइमा पर्न थालेका छन् ।