
कुमार लुइँटेल
नेपालकै जेठो शहरमध्येको एक । एउटा प्रमुख व्यापारिक शहर । राजनीतिको केन्द्र । निकै चाँडै विकास भएको सहर । राजनीतिक, आर्थिक, शैक्षिक, व्यापारिक, बौद्धिक, सांगठानिक धेरै हिसाबले विराटनगर नेपालकै अभिभावक नगर थियो ।
गोग्राहाको परिचय । महाभारतकालीन विराट राजाको दरबार रहेको जनविश्वास । धेरै राष्ट्रिय ऐतिहासिक उपलब्धी र घटना नेतृत्वको इतिहास रचेको सहर । विराटनगरको विगतको पचिरय यही हो । वरपरका धेरै ठाउँहरुमा भर्खर बसोबास सुरु हुँदा विराटनगर भने नेपालकै आवादीयुक्त शहर बनिसकेको थियो । बसोबासले चेतना बढायो । चेतनाले नेतृत्व ।
तात्कालीन प्रधानमन्त्री चन्द्रशमसेका छोरा केशरसमशेरले गोग्राहाको नाम विराटनगर राखे । यो ठाउँलाई भेडियारीसमेत भनिन्थ्यो । पाँच कठ्ठा जमिनमा ठूलो घर र त्यसको छेउमा केही पोखरीहरु रहेको अनुसन्धानले देखाएको थियो । विराटनगरकै सेरोफेरोमा धनपालगढी रहेको छ । जुन सेन वंशअघि शासन गर्ने पाल वंशको किल्ला थियो भन्ने अनुमान छ । भेडियारीको पतनपछि यस क्षेत्रका विभिन्न ठाउँहरुमा जंगल फाँडेर मानिसहरु बस्न थाले । जातीय घुलन र बहुसांस्कृतिक पक्ष र आन्दोलनका आरोह अवरोहबीच अहिले भने शताब्दी सहर आफ्नो आभा जोगाउने चुनौतीमा छ ।
मोरङ भने निकै लामो समयदेखि राज्यको रुपमा अस्तित्वमा थियो । करिब ६ सय वर्षअघि किराँती राजा मुरेहाङले साँगुरीगढीलाई आफ्नो किल्ला बनाए । यस क्षेत्रमा राज्य विस्तार गरेकोले उनको नामबाट मोरङ भनियो । फैलिँदै र खुम्चिँदै पछि कोशी पूर्व मोरङ छुट्टियो । विजयपुरमा राजा बुद्धिकर्णले यस क्षेत्रमा शासन गर्थे । १७ औं शताब्दीको अन्त्यतिर बुद्धिकर्णलाई पराजित हराएर पृथ्वीनारायण शाहले नेपालमा एकीकरण गरे । २०१९ सालअघिसम्म नेपालमा जिल्लाको संरचना थिएन । यस क्षेत्रलाई मोरङ भनिन्थ्यो । पछि १० प्रगन्नाहरु छुट्याइ मोरङ र सुनसरी जिल्लामा विभाजन गरियो । त्यही मोरङको सदरमुकाम हरैंचा, रंगेली हुँदै वि.सं. १९७१ सालपछि विराटनगर सारियो ।
विराटनगरको इतिहासमा विराट राजाको दरबार मात्र गाँसिएको छैन, धार्मिक रुपले वर्षौं पुराना मठमन्दिरले समेत ऐतिहासिकता र धार्मिक महत्व बढाएका छन् । यहाँ पाँच सय वर्षअघिदेखि पुँजिदै आएका मठमन्दिरहरु पनि छन् । ऐतिहासिक बनस्खण्डी महादेव मन्दिर १५ औं शताब्दीमा सेन राज्यकै पालामा वनस्खण्डी बाबाले स्थापना गरेका थिए भनिन्छ । राधाकृष्ण मन्दिर र ऐतिहासिक रथजात्राको विशेष महिमा छ । १९८५ सालमा स्थापना भएको यो मन्दिरमा सोही वर्षदेखि ऐतिहासिक रथयात्रा सुरु गरिएको हो ।
भाद्र कृष्ण अष्टमीका भोलिपल्ट रथयात्रा निकालिन्छ । यो विश्वकै ठूलो जात्रामध्ये एक मानिन्छ । २४ सालसम्म खटमा बाँधी काँधमा बोकेर नगर परिक्रमा गराइन्थ्यो । वि.स. २०२५ सालदेखि रथ बनाएर घुमाउन थालियो । जात्राले यहाँका सबै जाति र धर्मलाई एकबद्ध गराएको छ ।
नेपालमै उद्योग स्थापनाको सुरुवात पनि विराटनगरबाट भएको हो । १९९० सालको सेरोफेरोमा नेपालकै जेठो उद्योगको रुपमा विराटनगर जुटमिल देशमै पहिलो नम्बरमा दर्ता भएको उद्योग हो । यहाँ औद्योगिकरण हुनुअघि १९८० सालतिर राइस मिलहरु थिए । तिनले नेपालमा उत्पादन हुने धान–चामल भारत लगेर बिक्री गर्थे । तोरी र सनपाट पनि निर्यात हुन्थ्यो । जुटमिलको स्थापनापछि धमाधम उद्योगहरु खुल्न थाले । त्यसयता खुलेका धेरै उद्योगहरुबाट उठेको राजस्वले राष्ट्रिय अर्थतन्त्रमै दह्रो टेवा दिएको छ ।
पहिलो चामल उद्योग गुहेश्वरी राइस मिल, पहिलो कपडा कारखाना मोरङ कटन मिल, यस्तै पहिलो चिनी कारखाना मोरङ सुगर मिल स्थापना भयो । यस्तै प्रथम जुट पे्रस उद्योग हिमालय जुट प्रेस, पहिलो स्टेनलेस स्टील हुलास मेटल क्राफ्ट, पहिलो सलाई उद्योग दिजुद्ध म्याच फ्याक्ट्री खुले ।
यस्तै नेपालमै उद्योगी व्यवसायीको पहिलो संघको रुपमा २००८ सालमा मोरङ व्यापार संघ स्थापना भयो । जसका प्रथम अध्यक्ष शोभाचन्द पटवारी थिए । त्यसअघि नै १९७० को दशकमा कृष्णप्रसाद कोइरालाको सक्रियतामा देशकै पहिलो साझा उद्योगी गोला सञ्चालनमा थियो । यसले किसानलाई आवश्यक मल बीउ दिने, वस्तु विदेश निर्यात गर्ने, ऋण प्रवाह गर्नेज काम गथ्र्यो । जुटमिल सुरु हुँदैगर्दा पूर्वी नेपालमा बैंकहरु थिएनन् । बैंकिङ कारोबार गर्न भारतको कटिहार पुग्नुपथ्र्यो । जुटमिलकै कारण १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भयो । यस्तै आवश्यक विद्युत्को लागि नेपालकै तेस्रो हाइड्रोपावर कम्पनी ‘मोरङ हाइड्रो’ खुल्यो, यसले चिसाङ खोलाबाट विद्युत् निकाल्थ्यो ।
उद्योग विकासमा यहाँका व्यापारी रामलाल गोल्छाको योगदान ठूलो छ । भारतमा जन्मेपनि नेपाल आएर गोल्छाले १९९३ को कम्पनी ऐन बनाउनेदेखि जुटमिल जस्ता उद्योग खोल्न महत्वपूर्ण भूमिका खेले । पछि गोल्छा अर्गनाइजेसन खोले । करिब २० वटा उद्योग सञ्चालन गर्ने यो नेपालकै अग्रणी व्यवावसायिक संस्था हो । निर्यात व्यापारको प्रतितपत्र खोल्ने नेपालकै पहिलो उद्योगी हुन्, गोल्छा । यहाँको आर्थिक अनि औद्योगिक विकाससँगको पुरक सम्बन्ध देशकै व्यस्त भन्सारमध्येको एक रानी भन्सारले बनाएको छ । अहिले प्रदेश राजधानीका संरचना यहीँ छन् । अघि अञ्चलस्तरका कार्यालयहरु थिए ।
विराटनगरको राजनीतिक इतिहासलाई बिर्सिदिने हो भने नेपालकै राजनीति अपुरो हुन्छ । यो त्यही ठाउँ हो, जहाँबाट देशले आठ जना प्रधानमन्त्री जन्मायो ।
२००८ सालमा मातृकाप्रसाद कोइरालाले पहिलो पटक प्रधानमन्त्री बने । उनी जनताका छोराको प्रतिनिधिको रुपमा त्यो पदमा आसिन थिए । प्रथम जन निर्वाचित प्रधानमन्त्रीको रुपमा २०१६ सालमा बीपी कोइराला प्रधानमन्त्री भए । गिरिजाप्रसाद कोइराला चार पटक प्रधानमन्त्री बने । तीनैजना कृष्णप्रसाद कोइरालाका छोराहरु हुन् । पछि विराटनगरकै कम्युनिष्ट नेता मनमोहन अधिकारी प्रधानमन्त्री बने । उनले पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा नौ महिना शासन गरे । नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, सुशील कोइराला, कीर्तिनीधि विष्ट पनि प्रधानमन्त्री बने । उनीहरु सबैको नाता सम्बन्ध विराटनगरसँग गाँसिएको छ ।
२००७ सालको परिवर्तनकारी राजनीतिक क्रान्तिको सुरुवात विराटनगरबाट भयो । तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी आदिले मजदुरहरुको हकहितको लागि आन्दोलन चलाएका थिए । आन्दोलन बढ्दै गएर २००७ साल फागुन ७ गते प्रजातन्त्र प्राप्ति गर्ने आधार बन्यो । २००३ सालमा टंकप्रसाद आचार्यको सभापतित्व र वीपी कोइरालाको कार्यवाहक अध्यक्षतामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । विभिन्न उद्योगका २५ हजार मजदुरले गिरिजाप्रसादको नेतृत्वमा २००३ सालदेखि मजदुर हड्ताल सुरु गरेका थिए ।
पछि २०३० सालमा विराटनगरको एअरपोर्टबाट उडेको तात्कालीन शाही नेपाल बायु सेवा निगमको विमान गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अपहरण गरियो । फारवेसगञ्जमा उतारेर ३० लाख भा.रु. पैसा लुटियो । यो रकम क्रान्तिमा खर्च गरियो । त्यसअघि र पछिका हरेक राजनीतिक परिवर्तनका आन्दोलनहरुमा विराटनगरले नेतृत्वदायी भूमिका खेल्यो । खासगरी कोइराला परिवारबाट नेता बनेकाहरु अहिले पनि राष्ट्रिय राजनीतिको शीर्ष स्थानमा छन् । त्यही परिवारको जोडबलमा राजनीतिक आन्दोलन शुरु भएको थियो ।
राजनीतिक चेत पक्कै पनि शिक्षाबाटै आउँछ । त्यसैले राजनीतिजस्तै शिक्षामा पनि विराटनगर देशकै अग्रणी शहर हो । राणा शासनको पालामा देशैभर जनताका छोराछोरी विद्यालय जान पाउँदैन थिए । राणाका छोराछोरी मात्र पढाउन काठमाडौंैमा दरबार हाइस्कुल खोलेका थिए । जनताले पढ्ने देशकै पहिलो विद्यालय भने कृष्णप्रसाद कोइरालाले विराटनगरमा खोले । बडाहाकिम शिवप्रताप शमशेरमार्फत् तात्कालीन प्रधानमन्त्री जुद्धशमशेरलाई मनाएर १९८६ सालमा ‘आदर्श विद्यालय’को स्वीकृति लिइयो । जुद्धशमशेरले सुरुमा स्कुलको नाम ‘दि जुद्ध इङ्लिस हाइस्कुल’ बनाए । राणा शासन फालिएसँगै जुद्धशमशेरको नाम पनि फालियो ।
२०१२ सालमा आदर्श माविको भवनमा सुरु भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अहिले कोशी प्रदेशकै ठूलो सरकारी क्याम्पस हो । स्नातकोत्तर क्याम्पस पनि यतै छ । विराटनगरमा २०३३ सालदेखि स्नातकोत्तर अध्यापन सुरु भएको हो ।
सरस्वती मावि, मिल्स मावि, सत्यनारायण मावि, जनता नमुना मावि, गोग्राहा मावि, आदर्श बालिका मावि आदि विद्यालयहरु विराटनगरमा सुरुमै खोलिएका विद्यालय हुन् । राणाकालीन चुनौतिलाई चिर्दै २००३ सालमा “आदर्श विद्या मन्दिर” नामको पुस्तकालय स्थापना भएको थियो । जसमा वीपीले पढेका विश्वसाहित्य पुस्तकहरु संकलित थिए । राणाविरुद्धको क्रान्तिलाई चर्काउन नेपालमै पहिलो पटक विराटनगरको जुटमिलबाट तारिणीप्रसाद कोइरालाको नेतृत्वमा रेडियो सुरु गरिएको थियो । पछि त्यही रेडियो काठमाडौ सारियो । नाम राखियो रेडियो नेपाल । तारिणीको योगदानको कदर गर्दै खार्जीमा तारिणीप्रसाद संचारग्राम स्थापना गरिएको छ । त्यतिबेला गोरखापत्र ७–७ दिनमा एकैपटक आउँथ्यो । पछि अन्य पत्रिकाहरु सुरु भए ।
विराटनगरको योगदान नेपाली साहित्य आकाशलाई उर्वर बनाउनमा समेत अहम् थियो । कृष्णप्रसाद कोइरालाको कृष्ण विनोदलाई पहिलो प्रकाशित कृति मानिएको छ । मातृकाप्रसाद कोइराला, वीपी कोइरालाका कथाहरु, महानन्द सापकोटा र बालकृष्ण पोखरेलका भाषिक चिन्तनहरु अनि तारिणीप्रसाद कोइराला, देवकुमारी थापा, गणेश भण्डारी, नरेन्द्र चापागाईं र भानुभक्त पोखरेलका साहित्यिक चिन्तनहरुले विराटनगरको साहित्य समृद्धिका लागि योगदान दिएका छन् । यस्तै संस्थागत विकासलाई हेर्दा प्रतिभा पुरस्कार प्रतिष्ठान, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, वाणी प्रकाशन र साहित्य संगम अभियानले योगदान दिएका छन् । भानु मोरङ सांस्कृतिक समितिको पनि योगदान छ । त्यसयता आजका दिनसम्म पनि धेरै साहित्यकार र कलाकारहरुले विराटनगरको साहित्य तथा आकाशलाई फराकिलो र समृद्ध बनाईरहेका छन् ।
त्यसो त विराटनगरमा पहिला स्वास्थ्य संस्थाहरु थिएनन् । श्री ५ पृथ्वी वीरविक्रम शाहको पालामा श्री ३ वीरसमशेरले रंगेलीमा पीवीर अस्पतालको स्थापना गरे । बोर्ड टांगियो, ‘१ लम्बर पीवीर’ अस्पताल । देशभरका विभिन्न ठाउँमा अस्पताल खोल्ने योजनाअनुसार पहिलो पटक रंगेलीमा यो अस्पताल खुलेको थियो । पछि सदरमुकामसँगै विराटनगर सारियो र त्यसको केहिपछि कोशी अस्पताल नामाकरण भयो । यो अस्पताललाई वीर अस्पतालभन्दा जेठो दावी गरिएको छ । अहिले विराटनगर स्वास्थ्य सेवाको लागि पूर्वकै हब बनेको छ ।
विराटनगरमा पहिलो पटक महिला साफ प्रतियोगिता सम्पन्न भयो । महेन्द्र गोल्डकपको नाम परिवर्तन गरी अहिले विराट गोल्डकपको रुपमा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । त्यसो त वि.सं. २००७ सालअघि नै यहाँ फुटबल टिम स्थापना भएको थियो । त्यसबेला केशवप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, नरेन्द्रनाथ अधिकारी, बेनीबहादुर खत्री, शिवप्रसाद रिजाल, नरसिंह गोल्छा र रामजी प्रसादजयसबाल खेलकुदमा सक्रिय युवा थिए । राणाकालमा क्लब खोल्न प्रतिबन्ध थियो । प्रजातन्त्रको उदयपछि भने आदर्श क्लब, मोरङ स्पोर्टिङ क्लब स्थापना भए । क्रिकेटमा पनि विराटनगर च्याम्पियन थियो । राष्ट्रिय टिमका आधाभन्दा धेरै खेलाडी कुनै समय विराटनगरका हुन्थे ।
अहिलेको विराटनगर
१९८० सालअघिसम्म विराटनगरलाई वरपरका गाउँहरुसँग जोड्न पहिले सानो हुलाकी मार्ग मात्र थियो । हुलाकी मार्गमै परेको रंगेली बजारको चमक थियो । पछि कोशी राजमार्ग बनेपछि धरान–विराटनगर जोडियो । दक्षिणमा जोगबनी नाका पनि सँगै गाँसिएपछि तीव्र आर्थिक विकास भयो ।
विराटनगर नेपालको ऐतिहासिक शहर हो । तर, यो आधुनिकतासँग भने टाडिएको छ । मुलुक संघीयतामा गएको छ । प्रदेशको स्थायी राजधानी तोकिएको छ । रैपनि विराटनगरले आधुनिक सहर निर्माणमा छलाङ मार्न सकेको छैन । शताब्दी सहर पुरानै स्वरुपमा छ । स्थानीय तहको दोस्रो कार्यकालको आधा समय घर्किन लाग्दासमेत विराटनगरको खास प्राथमिकता के हो भन्ने प्रष्ट छैन । शुरु गरिएका विकास परियोजना सुस्त छन् । जोगबनीदेखि चीनको किमाथांका जोड्ने सडक कहिले सकिने हो, टुंगो छैन । बथनाहा–विराटनगर रेल्वेको पर्खाइ लम्बिदो छ । भारत, भुटान, बंगलादेश र चीनबीच हुने व्यापारको केन्द्रबिन्दु बन्ने अपेक्षा टाढिदो छ ।
विकासका कामले महानगरको कायाकल्पमा परिवर्तन देखिनुपर्ने थियो । तर, अन्य औद्योगिक सहरसँग तुलना गर्दा विराटनगर पछि परेको महसुस हुन्छ । विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउने सपना तुहिसकेको छ । गणतन्त्रपछिका पहिलो मेयर भीम पराजुलीको पालामा एसियाली विकास बैंकको सहयोगमा सम्पन्न भएको सहरी विकास परियोजनाले सहरको उत्तरी र दक्षिणी भेगका भित्री वस्तीहरुको मुहार केही भएपनि फेरिदिएको छ । फराकिला र चिल्ला सडकले थोरै भएपनि विराटनगरको नाक जोगाईदिएका छन् । अहिलेका मेयर नागेश कोइरालाले विगतको इतिहास र आगतको आधुनिक योजनाको तादम्यता मिलाउन सकेको महशुुस नगरवासीले गरेको देखिदैन ।
गौरवपूर्ण इतिहास गाथा बोकेको विराटनगरले वर्तमान नेतृत्वलाई दिएको जिम्मेवारी कति पूरा गरियो ? मतदाता र सर्वसाधारणले यही प्रश्न गरिरहेका छन् । चुनावी घोषणा पत्रमा उल्लेखित आफ्नै कार्यक्रमसमेत कार्यान्वयन गर्न नसक्नु, खनीखोस्री गरी दाताका परियोजनाले तोकेका कामलाई परिणाम मान्दै नाक घोक्र्याउनुु, विराट विराटनगरको अभियानलाई सार्थक बनाउने एउटै योजनामा काम नगर्नु, अघिकै नेतृत्वले शुरु गरेका योजनासमेत अलपत्र छाड्नु, आसोपासेका लागि सिफारिस गरिएका टुक्रे र अल्पकालीन विकासलाई उपलब्धि मान्दै मनोगत भावमा रमाउनु अहिलेको नेतृत्व स्वभाव जस्तै देखिएको छ । यो नेतृत्वबाट बाँकी अवधिमा पनि केही होला भन्ने महानगरबासीमा पटक्कै भरोसा छैन । नेतृत्व विकास र राजनीतिक परिदृष्य हेर्दा त विराटनगर बनाउने योजना भएको नेता विराटनगरले कहिले पाउने हो ? टुंगो छैन । इतिहासकै उपलब्धि मात्र फलाक्दै नूर गिरेको बुढो सहरका रुपमा कहिलेसम्म खुम्चिन पर्ने हो ? अनुमान गर्नै कठिन छ । के हामी त्यही पुरानो कथामा मात्र रमाउने हो त ? अहिले आम रुपमा महानगरबासीले गर्ने प्रश्न यही हो ।