उदयपुरमा १८ वर्षे बालक फलामे साङ्लोमा

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा एक १८ वर्षे बालक १२ वर्षदेखि साङ्लोमा बाँधिएको भेटिएको छ । उदयपुरगढी गाउँपालिका–५ आम्बोटे घर भई हाल नेपालटारमा भाडामा बस्ने ५० वर्षे शुसिल तामाङका १८ वर्षे छोरा विशाल तामाङ १२ वर्षदेखि फलामे साङ्लोमा बाँधिन बाध्य भएको भेटिएको हो ।

झट्ट हेर्दा शारिरिक र मानसिक रूपमा अपाङ्गता देखिने बाँधिएका बालक तामाङका बुवा शुसिल भन्छन्, “जन्मदा ठिकै थियो । छ वर्ष पुगेपछि एकोहोरो हुने र हिँडेपछि घर नफर्कने भयो । दिशापिसाव पनि गर्न नसक्ने भयो । जहाँ पायो त्यहीँ दिशापिसाव गरिदिन्छ । अनि बाँधेर राख्नु परेको छ । बाध्यता नभए कसले छोराछोरी बाँधेर राख्छ होला !” बुवा तामाङमा छोराप्रतिको आघात प्रेमसहित भावुकता झल्कियो ।

जग्गाजमिनविहीन बुवा तामाङले अहिले कान्छी श्रीमती ल्याएर बसेका छन् । उनी भन्छन्, “मेरो दुईवटी श्रीमती हुन् । जेठी श्रीमतीको नाम जानुकुमारी तामाङ हो । उपट्टीका पहिलो छोरी र अहिले बाँधेर राखेको छोरा हो । छोरीको विहे भयो । छोरो यस्तो विरामी छ । उपचार गर्न पैसा भएन । अहिले बाँधेर राख्नु परेको छ । उपचार गर्न पाए हुने थियो । कसरी सहयोग पाउने ? सरकारले समेत हेर्दैन होला ।”

शुसिल तामाङ धेरै लामो समयदेखि ज्याला मजदुरी गर्दै आएका छन् । ज्याला मजदुरी गर्ने क्रममै पहिलो श्रीमती जानुकुमारीले दोस्रो विहे गरेर छोराछोरीसहित लिएर गएको र अहिले आफूले कान्छी श्रीमती रितकुमारी ल्याएर बसेको बताए । उनले भने, “जेठीपट्टीका छोरा र छोरी जन्मेपछि जानुकुमारी दोस्रो विहे गरेर गई । छोराछोरी पनि सँगै लिएर गई । जानुकुमारीले विहे गरेर गएको घरमा पनि मेरो छोरो बाँधेर राखेकी थिइन् । छोराको माया लागेर म गएर हेरेर मात्र फर्कथेँ ।”

अहिले शुसिलसँग कान्छी श्रीमती रिता तामाङमगर र कान्छीपट्टीको चार वर्षे छोरा कुमार तामाङसँगै बाँधेर राखिएको विशाल छन् । जानुकुमारीको दोस्रो विहेपछि शुसिलले रितासँग बाध्यताले विहे गरेको भन्दै भने, “जेठी श्रीमती अपाङ्ग भएको र छोरीछोरो लिएर हिँडिन् । अनि दोस्रो विहे गरेको हुँ । अहिले छोरो छ ।” शुसिलले जेठी श्रीमतीले दोस्रो विहेपछि तेस्रो विहे गरेर पुनः अर्को घरमा गएपछि बाँधेर राखिएको छोरा आफूले ल्याएर बाँधेर राखेको बताए ।

परिवार पाल्ने स्रोत भनेको ज्याला मजदुरी हो । बुवा तामाङ थप्दै भन्छन्, “बाँधेर राखिएको छोराले दिशापिसाव जहाँ बस्यो त्यहीँ गर्दछ । नबाँधी राखे हिँडेपछि फर्केर घर आउँदैन । फलामबाहेक अरु डोरीले बाँधे टोकेर चुँडाई भागिहाल्छ । दिएको खाना आफैँ खाने गर्दछ,” शुसिल भन्छन्, “छोराको दिशापिसाव आफैँ सोर्नु पर्दछ ।”

छोराको उपचारको लागि आफूले थाहा पाएको र सोधीखोजी पनि गरेको दुखेसो सुनाउँछन् । भन्छन्, “सानैमा उपचार गर्न खोजेको थिएँ । कतैबाट साथ सहयोग पाइनँ । छोरो लिएर पोइल गएकी श्रीमतीसँग पनि छोरो ल्याएर उपचार गराउन खोजेँ । तर, सकिनँ । गाउँमा रहेको अस्पतालका डाक्टरहरूले ठूलो अस्पतालमा लानु पर्छ भने । पैसा थिएन । भाग्यले धोका त दिएको होला !”

जेठी श्रीमती जानुकुमारीले दोस्रोबाट तेस्रो बिहे गरेपछि छोरोलाई साथमै ल्याएर बाँधेरै राखेको बताए । फलामको साङ्लोले बाँधेर राखिएका १८ वर्षे बालकको अहिलेसम्म रोग पहिचान हुन सकेको छैन । सोही क्षेत्रका स्थानीय स्वास्थ्यकर्मी बोधकुमार घिमिरेले बाँधेर राखिएको बालकमा मानसिक रोग र नशासम्बन्धी समस्या हो कि भन्ने आशंका गरेको बताए ।

उनले भने, “अवस्था दर्दनाक छ । म पनि स्वास्थ्यकर्मी भएकाले न्युरोसम्बन्धी समस्या जस्तो लाग्यो । सुरुमै उपचार पाएको भए सम्भव थियो । अब भन्न सकिँदैन । एक पटक उपचार गराउने व्यवस्था मिलाउन पाए झनै राम्रो हुने थियो । आर्थिक अवस्था कमजोर छ । कसले सहयोग गर्ला र ?”

बिहिबार, १८ बैशाख, २०८२, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर