माउन्ट एभरेष्ट नक्कली नाम हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले माउन्ट एभरेष्ट नक्कली नाम रहेको बताएका छन् ।

विराटनगरमा आजदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा हिमालहरुको चर्चा गर्दै उनले सगरमाथा नै नाम भएको र माउन्ट एभरेष्टसँग सगरमाथाको कुनै साइनो नभएको बताएका हुन् ।

‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एउटा ब्रिटिस एभरेष्ट व्यक्ति । ती व्यक्तिले सगरमाथा होइन लोत्से चाहिँ अग्लो छ भनेर हिसाव निकालेका थिए’ उनले भने, ‘तर, उनका नाममा सगरमाथा माउन्ट एभरेष्ट किन राखियो ? त्यो बुझिनसक्नु छ । न उनी चढेका हुन् । न उनले त्यो सबैभन्दा अग्लो हिमाल भनेर पत्ता लगाएका हुन् ? त्यो पनि होइन।’

प्रधानमन्त्रीओलीले भने, ‘उनले त अर्को हिमाल अग्लो हो भनेका थिए । हामीले फेरि माउन्ट एभरेष्ट भनिरहने पनि होइन । एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन । त्यसकारण यो नक्कली नाम हो । बिल्कुल नक्कली नाम हो । हामीले सगरमाथा नै भन्नु पर्छ । प्रोपर नाम भनेको अर्को हुँदैन ।’

नाम दुईवटा नहुने बताउँदै प्रधानमन्त्री ओलीले सगरमाथाको नाम अर्को हुन नसक्ने उल्लेख गरे । मुख्यमन्त्री हिक्मत कुमार कार्कितर्फ हेर्दै उनले भने, ‘हिक्मत कुमार कार्कीको नाम हिक्मत कुमार कार्की नै हो, अर्को हुँदैन । ‘

बिहिबार, १८ बैशाख, २०८२, दिउँसोको ०१:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर