आमाडाब्लाङ मिनि हाइड्रो परियोजना सोकेसिङमा रहेको परियोजना हो । सोलुखुम्बुमा पर्ने यो परियोजनाको लागत ६२ करोड रहेको छ । सम्झौता गरेपछि १८ महिनामा यो परियोजना सम्पन्न हुने उल्लेख छ । परियोजनाको लागि वातावरणीय प्रभाव विश्लेषण पहिले नै सम्पन्न भइसकेको छ । जग्गा खरिद प्रक्रिया अगाडि बढिरहेको परियोजनालाई प्राधिकरणले राखेको छ ।
यस्तै १६० करोड लगानीमा सुनसरीको बर्जुमा निर्माणको प्रस्ताव गरिएको अर्को परियोजना सम्पन्न गर्न तीन वर्ष लाग्ने अनुमान गरिएको छ । यस्तै सोलुखुम्बुको खुम्बु पालिकामा मेन्जो खोला हाइड्रो पावर निर्माण परियोजना पनि सोकेसिङमा राखिएको छ । ५५ करोड लगानीमा बन्ने यो परियोजनाको पनि वातावरणीय प्रभाव विश्लेषण सम्पन्न भइसकेको छ । यो परियोजनाले पर्यटकीय शहरको खुम्बु वार्ड–३ लाई विद्युतीकरण गर्ने अपेक्षा गरिएको छ ।
पर्यटन सम्बन्धी १५ वटा परियोजनाहरु प्राधीकरणले सोकेसिङमा राखेको छ । जसमा मोरङको बुढीगंगामा बुढीगंगा पार्क परियोजना छ । जसको लगानी १७.१४ करोड रहेको छ । यस्तै मोरङको बेतना सिमसार परियोजनामा २४ करोड लगानी प्रस्ताव गरिएको छ । परियोजनामा संखुवासभाको खाँदबारीदेखि नुमसम्मको पैदल मार्ग निर्माणलाई पनि राखिएको छ । जसको लागत २३ करोड रहेको छ ।
यस्तै इलाम चुलाचुलीमा शिव ओरेक मिलन पोखरी चुलाचुली प्रोजेक्ट पनि सोकेसिङमा राखिएको छ । जसको लगानी ११.३८ करोड रहेको छ । यस्तै सोहेनाग्लाङ, फाल्गुनन्द पाँचथर १० करोड, स्टार लेभल रिसोर्ट र पार्क, लिम्चुङबुङ उदयपुर एक सय करोड, २५ अर्ब लगानीको कन्काई–इलाम–सन्दकपुर पोडवे ताप्लेजुङका लागि पनि परियोजना प्रस्ताव गरिएको छ ।
यस्तै मोरङको सुन्दरहरैंचामा यसअघि नै संचालनमा रहेर बन्द रहेको गोकुलम रिसोर्ट पनि सोकेसिङमा राखिएको छ । जसको लगानी २५ करोड रहेको छ । यस्तै विराटनगरमा रहेको विराट राजाको दरबारका लागि २५ करोड, राजा ताल पर्यटन परियोजना धनकुटाको लािग ३५ करोड लागत अनुमान गरिएको छ ।
यसअघि कोशी प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अगाडि सारेको कोशी रिफ्रेसमेन्ट सेन्टर पनि लगानी सम्मेलनमा सोकेसिङ परियोजनाको रुपमा राखिएको छ । जसको लागत २ अर्ब रहेको छ । हालसम्म प्रदेश सरकारले उक्त परियोजनामा ३० करोडबढी लगानी गरिसकेको छ । यस्तै सुनसरीमा २५ करोडको वाटर पार्क, ९४ करोड लगानीको अनुमान गरिएको मोरङको बेतानी सिमसार पर्यटन परियोजना पनि सोकेसिङमा राखिएको छ ।
८० करोड लगानीमा रासा ताल पर्यटन परियोजना सुनसरी तथा ४२८ करोड लगानी अनुमान गरिएको बर्जु ताल पर्यटन पूर्वाधार, सुनसरी पनि सोकेसिङमा राखिएको छ । यस्तै पूर्वाधार परियोजनामा ५ अर्बको लगानीमा सोलुखुम्बुको चौंरीखर्क छेदिङ्मा केबलकार, ४० करोड लगानीमा सोलुखुम्बुकै चौंरीखर्क नाम्चे रज्जुमार्ग परियोजना पनि सोकेसिङमा छ ।
इलाममा ८० करोड लगानीमा कन्याम मोनोरेल परियोजना, १ अर्ब लगानीमा बुद्धपार्क चित्रे गुम्बा केबलकार परियोजना, डेढ अर्ब लगानीमा कन्याम अन्तु केबलकार परियोजना, खोटाङमा मुर्कुची–लिम्चुङबुङ–हलेसी पोडवे परियोजनामा १२ अर्ब लागत अनुमान गरिएको छ । ५ सय करोड लगानीमा मोरङमा कोशी पोडवे परियोजना, २८ करोडको लगानीमा विराटनगर सार्वजनिक यातायात परियोजना, १ अर्ब ७५ अर्ब लगानीमा एक्सिस ५ स्टार होटल विराटनगर, ४ अर्ब ८० करोडमा विराटनगर बहुउद्देश्यीय व्यापारिक भवन, २० करोड लगानीमा धनकुटाको भेडेटारमा बहुउद्देश्यीय भवन, मोरङमा ९८ करोड लगानीमा विज्ञान केन्द्र बनाउने तथा एक अर्ब ७५ करोड लगानीमा होटल एसियाटिक, विराटनगरलगायतको परियोजना सोकेसिङमा राखिएको छ ।
यस्तै सूचना तथा सञ्चार प्रविधिमा मोरङमा २२ करोड लगानीमा कोशी प्रदेशको डिजिटलाइजेशन परियोजना र सुनसरीमा २५ करोड लगानीमा डाटा सेन्टर बनाउने योजना राखिएका छन् । कृषितर्फ अलैंची उत्पादन तथा प्रशोधन उद्योग पाँचथर फिदिमका लागि २० करोड, इलाममा १८ करोड लगानीमा छुर्पि कारखाना, धनकुटामा ६४ करोड लगानीमा एभोकाडो खेती, प्रशोधन उद्योग, अनुसन्धान केन्द्र र कृषि पर्यटन, धनकुटामै २७ करोड लगानीमा किवी खेती, प्रशोधन उद्योग र कृषि पर्यटन, सुनसरीमा १९ करोडको लगानीमा बेसार उत्पादन र प्रशोधन केन्द्र परियोजनाको रुपमा राखिएको छ ।
यस्तै इलाममा ३३ करोड लगानीमा डेरी उत्पादन तथा प्रशोधन उद्योग, धनकुटामा २७ करोडको लगानीमा सुन्तलाजात फल खेती, प्रशोधन उद्योग र कृषि पर्यटन, इलाममा २२ करोडको लगानीमा देउमाई कफी फार्मलाई पनि परियोजनामा राखिएको छ ।
उद्योग क्षेत्रमा सुनसरीमा १० करोडको लगानीमा बहुकक्षीय शीत भण्डारण, ३ अर्ब लगानीमा मोरङमा विद्युतीय सवारी कारखाना, सोलुखुम्बुमा १ अर्बमा कोदोको रक्सी परियोजना, १ अर्ब २७ करोडमा इथानोल प्रशोधन प्लान्ट उदयपुर, ३२ अर्बको लगानीमा सुनसरीमा हरित हाइड्रोजन तथा रासायनिक मल परियोजना स्थापना गर्न सकिने भन्दै परियोजना सोकेसिङमा राखिएको छ । उदयपुर क्लिंकर परियोजनाका लागि ३२ अर्ब, सुनसरीमा कृषि प्रशोधन केन्द्रका लागि १४ करोड ७५ लाख, मोरङमा जडीबुटी प्रशोधन परियोजनाका लागि एक अर्ब १६ करोड र काँकडभिट्टा बसपार्क परियोजनाका लागि ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजना पनि समावेश छ ।
फोहोर व्यवस्थापनका लागि प्रस्तुत २ वटा परियोजनामा एकीकृत ठोस फोहोर व्यवस्थापन परियोजना, मेचीनगरका लागि ५० करोड र एकीकृत ठोस फोहोर व्यवस्थापन परियोजना, दुहबी सुनसरीका लागि १० करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजना पनि सोकेसिङमा राखिएको छ ।
लगानी सम्मेलनका लागि प्रदेश सरकारले केही नीतिगत प्रतिवद्धतासमेत गरेको छ । जसमा प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाहरूको सूची तयार गरी तिनको प्राविधिक एवम् आर्थिक अवस्थाको विश्लेषण गरी लगानीकर्ता समक्ष प्रस्तुत गर्ने रहेको छ । साथै, संघीय सरकार, स्थानीय तह र लगानीकर्ताहरूबाट प्राप्त आयोजना वा परियोजनाहरूको समेत सम्भाव्यता अध्ययन गरी लगानी आकर्षक गर्न आवश्यक कदम चाल्ने उल्लेख छ ।
प्रदेश सरकारले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा बैक तथा वित्तीय संस्थालाई समेत सहजीकरण गर्ने उल्लेख छ । प्रतिबद्धता पत्रमा भनिभएको छ, ‘आयोजना वा परियोजनाको विकास र सञ्चालनका लागि आवश्यक पर्ने वित्तीय साधन उपलब्ध गराउन प्रदेश सरकारले बैङ्क तथा वित्तीय संस्थाहरूसँग आवश्यक सहजीकरण र समन्वय गर्नेछ ।’
प्रदेश सरकारले घरेलु तथा साना उद्योगको विकासलाई प्रोत्साहन गर्न औद्योगिक ग्राम स्थापना गर्न आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।