विराटनगर । सर्वोच्च अदालतको मुद्दा शाखाबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेको हो ।
सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय उल्ट्याएर रेशमलाई कारागारमा राख्न पत्र लेखेका थिए । उनकै पत्रको भेरिफाइन नगरी प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेर डिल्लिबजार कारागार चलान गरेको थियो ।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अदालतको आदेश अनुसार उनलाई पक्राउ गरेको बताएको थियो ।
अदालतबाट त्रुटिपूर्ण पत्र गएर चौधरी चौधरी कारागार चलान भएको खुलेपछि सर्वोच्च अदालतले अर्को पत्र पठाएर रेशमलाई रिहा गर्ने भएको छ । अदालतको अर्को पत्रका आधारमा रेशम चौधरी थुनामुक्त हुने प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट जारी भएको पत्रका आधारमा सादा पोशाकका प्रहरीले रेशमलाई जबरजस्ती पक्राउ गरेका थिए । अदालतबाट आजकै मितिमा लेखिएको पत्रको कपी पनि अदालत प्रशासनमा नभेटिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रहरीले रेशमलाई पक्राउ गर्नू भन्ने पत्र सर्वोच्चको मुद्दा तथा रिट शाखाले पठाएको बताएको छ । जबकि अदालतको फैसला कार्यान्वन्यन गर्न फैसला कार्यान्वयन इकाइले पत्र लेख्ने गर्दछ । त्यसको पुष्ट्याइ नगरी प्रहरीले हतारहतार रेशमलाई पक्राउ गरेर कारागार चलान गरेको थियो ।
सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले रेशम चौधरीलाई थुनामा पठाउने फैसला नगरेकोमा अदालतका अधिकृतले थुनामा राख्न पत्र लेखेपछि सर्वोच्चमा हंगामा भएको थियो । पत्रमा राष्ट्रपतिले राजनीतिक आधारमा चौधरीलाई उन्मुक्ति दिएको गम्भीर आरोप लगाइएको छ ।