सामाजिक समस्या बन्दै आत्महत्या, कोशीमा सरदर दैनिक छ घटना

विराटनगर । कोशी प्रदेशमा आत्महत्याको अवस्था काहालिलाग्दो देखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार चालु आवको ९ महिनामा १ हजार ४३ जनाले आत्महत्या गरेका छन् । झुन्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढिरहेको छ । ९०१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यसमध्ये पनि पुरुषको संख्या दोब्बर रहेको छ । ५४९ जना पुरुष र २६६ जना महिलाले झुन्डिएर आत्महत्या गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालका अनुसार ४२ बालक र ४५ जना बालिकाले पनि झुन्डीएर आत्महत्या गरेका छन् ।

विष सेवन गरेर १२७ जनाले ज्यान गुमाएका छन् । ७१ जना पुरुष र ४५ जना महिला, ६ जना बालक र ५ जना बालिकाले पनि ज्यान गुमाएका छन् । गत साउनदेखि चैत्र मसान्तसम्मको अवधिमा आफ्नै शरीरमा आगो लगाएर ३ जनाले ज्यान गुमाएका छन् । ४ जनाले हाम फालेर र ८ जनाले हातहतियार तथा औजार प्रयोग गरेर आत्महत्या गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दैनिक ६ जनाले आत्महत्या गर्ने गरेको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा अन्य प्रदेशको तुलनामा आत्महत्याको अवस्था काहालिलाग्दो देखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राम प्रसाद आचार्यले बताए । २४ घण्टामा ६ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको सचिव आचार्यले बताए ।‘सरदरमा यो प्रदेशमा २४ घन्टाको अन्तरालमा ६ जनाले आत्महत्या गरेको देखिन्छु,’ उनले भने ‘आत्महत्या बढ्नुका कारण हामी खोजिरहेका छौँ ।’आत्महत्या गर्नेमध्ये ९५ प्रतिशत मानसिक समस्या भएकाहरु रहेको विज्ञहरु बताउँछन् । नेपालमा चार जनामध्ये एक जनालाई मानसिक समस्या देखिएको विज्ञको भनाइ छ । ‘चार जना मध्ये एक जनामा मानसिक समस्या रहेको तथ्यांकले देखाउँछ’, त्रिभुवन विश्वविद्यालय एमएससी साइकाटिक शारदा कुँवरले भनिन् ‘हामी बरु घरमा पालेको कुकुरलाई माया गर्छाैं तर मानसिक रोगीहरुको हेरविचार गर्दैनौं ।’

स्थानीयहरुबाट नै यसको पहल थाल्नु पर्ने कुँवरले बताइन् । उनले तीन तहको सरकार भएपनि आत्महत्याका बारेमा कसैले गम्भीर रुपमा लिएर चासो नदिएको बताइन् । केहि दिन अगाडि आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना र धनकुटा बहुमुखी क्याम्पसको व्यवस्थापनमा भएको आत्महत्या, लागुऔषध दुव्र्यसन तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले आत्महत्याको काहालिलाग्दो अवस्था देखिएको भन्दै सचेतना फैलाउनु पर्नेमा जोड दिएका थिए । तीनै तहका सरकारले आत्महत्या रोकथाममा भने खासै चासो नदिएको उनीहरुको गुनासो छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले भने प्रदेश सरकारले आत्महत्या रोक्नका लागि अभियान थाल्ने बताएका छन् । ‘विद्यालय तहबाट नै यो अभियान थाल्नु पर्ने आवश्यक देखियो,’ उनले भने ‘अहिले हामी मातहतका स्वास्थ्य कार्यालयहरुबाट पनि चेतनामूलक कार्यक्रम अगाडि सार्ने योजना बनाएका छौ । स्वास्थ्यर्मीहरुलाई तालिम तथा अमिुखीकरण गरीरहेको उनले बताए ।

बुधबार, १७ बैशाख, २०८२, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर