विराटनगर । चर्चित गायक दुर्गेश थापा पहिलोपटक विराटनगरमा प्रत्यक्ष साँगीतिक प्रस्तुति दिन तयारीमा छन् ।
नयाँ वर्ष २०८२ को अवसरमा आगामी वैशाख २६ गते, विराटनगर–८ स्थित हाटखोला मैदानमा ‘दुर्गेश थापा लाइभ इन विराटनगर’ नामक भव्य साँगीतिक कार्यक्रम आयोजना हुने भएको हो ।
लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने कार्यक्रममा दुर्गेश थापासँगै अन्य कलाकार, डान्स क्लब र फेसन शो समेत प्रस्तुत गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कार्यक्रमका संयोजक सन्तोष महतका अनुसार कार्यक्रम दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
दुर्गेश थापाका ‘दुस्मन हेरेको हे¥यै’, ‘बीच्च बीच्चमा’, ‘ख्यास्स पुतली’, ‘डन आयो डन’ जस्ता चर्चित गीतहरू कार्यक्रमको मुख्य आकर्षण हुनेछन् । महतले कार्यक्रमलाई मनोरञ्जनमूलक मात्र नभई सामाजिक उद्देश्यसहित आयोजना गरिएको बताए । कार्यक्रमबाट बचेको रकम विपन्न परिवार र अपांग व्यक्तिहरूलाई सहयोग गरिने आयोजकको दावी छ ।
कार्यक्रमका व्यवस्थापक कुमुद जैनले दर्शकका लागि तीन प्रकारका टिकटको व्यवस्था गरिएको जानकारी दिए । साँगीतिक कार्यक्रममा थप आकर्षणका रूपमा स्थानीय खाना परिकारका स्टलहरू पनि रहने छन् । आयोजकका अनुसार कार्यक्रम आयोजना गर्न करिब १३ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।
विराटनगरवासीका लागि नयाँ वर्षको सुरुवातमा मनोरञ्जन र सामाजिक उत्तरदायित्व जोडिएको कार्यक्रमका रूपमा ‘दुर्गेश थापा लाइभ इन विराटनगर’ एक विशेष अवसर हुने आयोजकले विश्वास व्यक्त गरेका छन् ।