विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका सात मध्ये तीन माध्यामिक विद्यालयहरुमा आवश्यक शिक्षकको दरबन्दी नहुँदा पठनपाठनसँगै विद्यार्थीको सिकाइ गुणस्तर सुधारमा समस्या देखिएको छ ।
कक्षा १० सम्म सञ्चालन भइरहेका मिक्लाजुङका ७ विद्यालयमध्ये तीन वटामा मावि शिक्षकहरुको दरबन्दी अभाव रहेको पाइएको छ । अरु चार वटा विद्यालयमा दरबन्दी भएपनि आवश्यक संख्यामा विषयगत शिक्षकहरु छैनन् । जसले गर्दा गाउँपालिकाले चाहँदाचाहँदै पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउने तर्फ कमी भइरहेको देखिएको छ ।
मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित सरस्वती मावि सफेवामा माध्यामिक शिक्षकको एउटै पनि दरबन्दी छैन । त्यहाँको अर्को माध्यामिक विद्यालयमा एक जना र अर्कोमा दुई जना शिक्षकको मात्र दरबन्दी रहेको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख तथा अधिकृत काशिनाथ खनालले जानकारी दिए ।
माथिल्लो कक्षामा विषयगत शिक्षक अभावको समस्या झेलिरहेको मधुमल्लाका विद्यालयहरुमा विषयगत शिक्षकहरु समस्या पनि जटिल बन्दै गएको पाइएको छ । स्थानीय मनोहर माध्यामिक विद्यालयमा विज्ञान विषयको शिक्षक पटक पटक माग गर्दा कसैले पनि आवेदन नगरेको गाउँपालिकाले जनाएको छ । कम्प्युटर विषयका शिक्षकलाई विज्ञान विषय पढाउन लगाएर तत्कालका लागि समाधान निकाले पनि दीर्घकालीन रुपमा भने शिक्षक अभावको समस्या घट्नुको साटो बढ्दै जाने चुनौती रहेको अधिकृत खनालले बताए ।
मिक्लाजुङमा ५३ विद्यालय छन् । त्यसमध्ये ३८ वटा सामुदायिक विद्यालय छन् । मिक्लाजुङ ७० प्रतिशत पहाडी र ३० प्रतिशत तराई भूभाग रहेका कारण पहाडी क्षेत्रमा धेरै विद्यालय र कम विद्यार्थीको समस्या छ भने सबै विद्यालयमा आवश्यक संख्यामा शिक्षक पनि छैनन् । तराई क्षेत्रमा विद्यार्थी संख्या बढी भएका कारण बढी शिक्षक आवश्यक पर्नेमा कतिपयमा दरबन्दी नै नहुने र भएका दरबन्दीमा पनि विषयगत शिक्षक नपाइने समस्याले विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्ने चुनौती रहेको गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले बताए ।
चुनौतीका बाबजुद पनि मिक्लाजुङ गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्न पर्याप्त लगानी गरेको छ । कक्षा १ देखि ५ सम्म गाउँपालिकाले शिक्षण सहयोग अनुदान दिएर शिक्षकको अभाव परिपूर्ति गरिरहेको जनाएको छ । ‘कक्षा कोठामा उभिने मात्र शिक्षक पठाउँदा पनि सिकाइ उपलब्धी राम्रो देखिएका कारण जसोतसो हामीले उभिने शिक्षकसम्म पु¥र्याउने कोसिस गरेका छौं, त्यतिमात्र व्यवस्थापन गर्दा पनि सिकाइ गुणस्तरमा सोचेभन्दा राम्रो नतिजा प्राप्त भएको छ,’ खनालले भने । तर कक्षा ६ देखि १० को सिकाइ उपलब्धी सुधार गर्न भने शिक्षक अभावकै कारण नसकिएको उनले बताए ।
मिक्लाजुङ गाउँपालिकाले बजेटको झण्डै २३ प्रतिशत रकम शिक्षामा लगानी गरेको जनाएको छ । गाउँपालिकाले विशेष जोड दिएकै कारण छोटो अवधिमा मिक्लाजुङको शिक्षा क्षेत्रहरुमा निकै परिवर्तन आएको स्थानीय अभिभावकहरुले बताएका छन् । विद्यालयका पूर्वाधारदेखि हरेक क्षेत्रमा पछिल्लो ७ वर्षमा निकै परिवर्तन आएको उनीहरुले बताए ।
पालिकाले २०८२ लाई डिजिटल स्कुल बनाउन नेपाल सरकार समक्ष प्रस्ताव गरेको छ । त्यसका लागि झण्डै ४ करोड रुपैयाँ खर्च हुने भएकोले स्रोत व्यवस्थापन गर्न प्रस्ताव गरेको शाखा प्रमुख खनालले जानकारी दिए । ‘हामीले विद्यार्थीको चाहना अनुसार सिकाइ र प्रविधि अवलम्बन गर्न अहिले अध्ययन गरिरहेका छौं,’ खनालले भने ।