शिक्षक आन्दोलनको असर : विद्यार्थी घर बस्न मान्दैनन्, स्कुल खुल्दैन

विराटनगर । ‘मामु मलाई दिनभरि घरमा बस्न अल्छी लाग्छ, स्कुल जान्छु’ विराटनगर ४ प्रगति टोलकी १० वर्षे नायरा पोखरेलको आग्रह सुनेर आमा सविना अलमलमा परिन् । कक्षा ३ उतीर्ण गरेर ४ कक्षामा पुगेकी छोरीलाई निजी स्कुलमा लैजाने कि त्यहिँ राख्ने भन्ने द्विविधा उनमा देखिएको छ । ‘बाबु बोर्डिङमा पढ्छ, नानीलाई पनि पोहोर मात्र बोर्डिङबाट झिकेर सरकारीमा पठाएँ, पढाई राम्रो छ तर, आन्दोलनले गर्दा के गर्नु नगर्नु भएँ,’ सविनाले भनिन् ।

छोरा पढ्ने बोर्डिङ स्कुलका शिक्षकहरु घरमै आएर छोरीलाई बोर्डिङमै फिर्ता ल्याइदिन आग्रह गरिरहेको उनले बताइन् । ‘सरहरु आउनुभएको थियो, छोरीको पैसा तिर्नुपर्दैन पठाइदिनु भन्नुभयो । तर, सरकारी स्कुलमा पनि पढाइ राम्रो छ त्यसैले निर्णय गर्न सकेकी छैन, अरु केही दिन पर्खन्छु,’ पोखरेलले भनिन् ।

नायरा पढ्ने विराटनगर ३ को सहिद आधारभूत विद्यालयले वैशाख ९ गतेबाट पठनपाठन सुरु हुने जानकारी दिएको थियो । तर शिक्षक आन्दोलन लम्बिएका कारण चाहेर पनि विद्यालय चलाउन सक्ने वातावरण भएन । अभिभावकहरुले दिनहुँ विद्यालय चलाइदिनु प¥र्यो भनेर दबाब दिइरहेको शिक्षकहरुले बताएका छन् । ‘अभिभावकको दबाब भन्दा पनि हाम्रै मन पोलिरहेको छ, कमसेकम विद्यार्थी भर्ना गर्न पाए हुन्थ्यो, विद्यालयप्रति राम्रो आकर्षण बढ्दै थियो, यस्तो बेलामा नयाँ विद्यार्थी ल्याउन सकिदैन कि भन्ने चिन्ता भएको छ,’ विद्यालयका प्रधानाध्यापक गिता सापकोटाले भनिन् । नयाँ विद्यार्थी नपाउँने मात्र होइन भएका विद्यार्थी पनि बोर्डिङ स्कुलतिर जान्छन् कि भन्ने अर्को चिन्ताले सामुदायिक विद्यालयका शिक्षकहरुलाई सताएको छ । त्यसैले सहिद आधारभूत विद्यालयका शिक्षकहरुले हरेक अभिभावकलाई फोन गरेर घरमा बच्चा हेर्ने र राख्ने समस्या भए विद्यालयमै ल्याइदिन आग्रह गरिरहेको सापकोटाले जानकारी दिइन् । विद्यालयमा आउने विद्यार्थीहरुलाई सँगै राखेर खेलाउने र पढाउने गरिरहेको उनले बताइन् ।

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा गतवर्ष १२९ जना विद्यार्थीहरु थिए । नेपाली र अंग्रेजी दुवै माध्यममा पढाई हुने विद्यालयमा पछिल्लो समयमा स्थानीय अभिभावकहरु आकर्षित भइरहेका छन् । त्यसैले यस वर्ष थप १०० जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनाएको थियो । तर शिक्षक आन्दोलनले नयाँ विद्यार्थी ल्याउने योजना असफल हुने मात्र होइन भएका विद्यार्थीलाई पनि विद्यालयमा अड्याउने चुनौती थपिएको सापकोटाले भनिन् । उनले अगाडि भनिन् ‘केही विद्यार्थी बोर्डिङ स्कुलतिर गइसकेको सूचना पाएका छौं तर यतिछिट्टै अभिभावकहरु नआत्तिदाँ हुन्थ्यो, आन्दोलन लम्बिने नै भयो भने अब आइतबारबाट स्कुल खोल्छौं होला, नत्र विद्यार्थी जोगाउन सकिदैन ।’

विराटनगर २ स्थित जनता माध्यामिक विद्यालय पनि नयाँ विद्यार्थी भर्ना कसरी गर्ने भन्ने चिन्तामा परेको छ । विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजालले भने ‘विद्यालयका लागि यो बिउ रोप्ने समय हो, बिउ नै नरोपेपछि फलको कसरी आशा गर्नु ?’
जनता माध्यामिक विद्यालय लामो समय जीर्ण अवस्थाबाट सञ्चालन भएर दुई वर्षयता सुधारोन्मुख हुँदै गएको स्कुल हो । १५० जना विद्यार्थी भएको उक्त स्कुलले पठनपाठन र व्यवस्थापनमा सुधार गरेपछि विद्यार्थी संख्या बढेर गतवर्ष ६६५ जना पुगेको थियो । ‘यस वर्ष ३०० जना नयाँ विद्यार्थी थप्ने योजना बनाएका थियौं तर, शिक्षक महासंघको आन्दोलनले पुराना विद्यार्थी जोगाउनै नसकिएला कि भन्ने लाग्न थालेको छ,’ उनले भने । आन्दोलन अरु हप्ता दिन चलेर स्कुल खुल्ने अवस्था भएन भने विद्यार्थी निजीतिर जाने बढी खतरा हुने रिजालले बताए ।

विराटनगरको ३ को पोखरिया माध्यामिक विद्यालयले शिक्षक महासंघको आग्रह नमानेरै भएपनि विद्यार्थीहरुको प्रवेश परीक्षा लिइसकेको छ । उक्त विद्यालयमा विद्यार्थी पढाउन सोर्स नै लगाउनु पर्ने अवस्था विराटनगरमा भएका कारणले पनि विद्यार्थी र अभिभावकहरुको विश्वास जोगाउन विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेको थियो । विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले भने ‘हामीले प्रवेश परीक्षा गरायाँै तर विद्यार्थी भर्ना गर्न सकिएको छैन, प्रवेश परीक्षा गराएको हुँनाले विद्यार्थी अन्यत्र गइनहाल्लान् भन्ने आशा गरिरहेको उनको भनाइ छ । उक्त विद्यालयमा करिव ४ हजार विद्यार्थी अध्ययनरत छन् ।
मोरङको बुढीगंगा गाउँपालिकास्थित मोरङ पब्लिक स्कुलका संचालक विवेक ढकालले अहिलेसम्म सामुदायिक विद्यालयबाट निजीमा धेरै विद्यार्थी नआएको तर अब १५ दिन आन्दोलन जारी भएमा चाहिँ विद्यार्थी संख्या बढ्ने बताए । उनले केही केही विद्यालयहरुमा भने सामुदायिकबाट संस्थागत विद्यालयमा विद्यार्थीहरु आइरहेको जानकारी दिए ।

शुक्रबार, १२ बैशाख, २०८२, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर