विराटनगर । विराटनगर–१८ बुधनगरमा बसोबास गर्ने ४५ वर्षीया एकल महिला निर्मला साहमाथि निर्घात कुटपिट भएको छ । सहिदपत्नीसमेत रहेकी साहमाथि भएको मरणासन्न कुटपिटको घटना मिलापत्र गराउन पीडक पक्षले दबाव दिइरहेको पाइएकाने छ ।
साहलाई सोमबार दिउँसो सोही ठाउँका ३० वर्षीय दुर्गा यादवले कुटपिट गर्दा नाकको हड्डी नै भाँचिएको छ । घटनाको तीन दिन बितिसक्दा पनि पीडक पक्राउ परेका छैनन् । पीडितको न्युरो अस्पतालमा उपचार भइहरेको छ भने परिवारमाथि घटना मिलापत्र गर्न दबाब दिएको पाइएको छ ।
निर्मलाका श्रीमान २० वर्षअघि माओवादी जनयुद्धको समयमा मारिएका थिए । श्रीमानको निधनपछि एक छोरी र एक छोराको साथमा जीवनयापन गर्दै आएकी उनीमाथि सोमबार आक्रमण भएको हो ।
बाख्रा चराउन घरबाट निस्किएका निर्मलामाथि दुर्गाले आफ्नो बारीमा बाख्रा पसाएको भन्दै निर्घात कुटपिट गरेका हुन् । छोरी रविना साहका अनुसार दुर्गाले मुक्का प्रहार गर्दा निर्मलाको नाकको हड्डी भाँचिएको छ । घाइते अवस्थामा बेहोस भएर उनी ढलेपछि छिमेकीहरूले न्युरो अस्पताल ल्याएका थिए । उनको नाकको हड्डीको मंगलबार शल्यक्रिया भएको छ ।
‘खेतमा आमालाई दुर्गाले कुटपिट गरेपछि रगताम्य हुनुभएछ । आमालाई रगताम्मे भएको देखेपछि मेरो सानीमा (मौसी) ले लिएर आउनुभयो’ छोरी रविनाले भनिन्, ‘आमालाई लिएर न्यूरो हस्पिटलमा आउँदा नाकको हड्डी भाँच्चिएको देखिएपछि शल्यक्रिया भएको छ ।’ घटनापछि पीडकले मुद्दामामिलमा नजान भन्दै मिलापत्रको दबाब दिइरहेको छोरी रविनाले गहभरी आँसु बताएकी छन् ।
‘तर, म मिल्ने पक्षमा छैन । मेरो आमालाई मरणसन्न हुने गरि कुटपिट गर्नेलाई कारवाही हुनुपर्छ’ उनले भनिन्, ‘त्यसको लागि म अन्तिसम्म लड्ने छु । म त्यो दबाबमा झुक्दिन ।’ उनले पीडकविरुद्ध इलाका प्रहरी कार्यालय, रानीमा जाहेरी दिइसकेकी छन् । तर, आरोपी दुर्गा यादव पक्राउ परेका छैनन् ।
नाकको हड्डी भाचिने गरि कुटपिट भएको घटना मिलाउन पीडकका दाजु गिरिजाप्रसाद यादव लागिपरेका छन् । ‘एउटै गाउँ त्यो पनि छिमेकमा घटेको घटना हो । भाइले कुरा नबुझी आबेगमा आएर हातपात गर्दा चोट लाग्न पुगेछ’ उनले भने, ‘अहिले हामीले सम्पूर्ण उपचार खर्च बेहोरेका छौं । गाउँको घटना हो । मिलाउन खोजेको हो ।’
दुर्गा यादव पेशाले स्वास्थ्यकर्मी हुन् । विराट आँखा अस्पतालमा कार्यरत उनले सीएमए गरेको स्थानीयले बताएका छन् । उनको हिंसात्मक प्रवृत्ति भने गाउँलेको लागि नयाँ नभएको पाइएको छ । यसअघि पनि उनले दुई जनामाथि कुटपिट गरेका थिए । ती घटनाहरू समेत उपचार खर्च बेहोरेर मिलाइएको थियो ।
एक स्थानीयले भने, ‘दुर्गाको गाउँमा अत्याचारको सीमा नाघेको छ । कुटपिट गर्ने, उपचार खर्च व्यहोर्ने उनको बानी परेको छ । पहुँचको भरमा कानुनी कारबाहीबाट जहिले पनि उम्किने गरेका छन् ।’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले इलाका प्रहरी कार्यालय रानी मातहतको कार्य क्षेत्र पर्ने भएकोले घटनाबारे बुझेर अनुसन्धानको लागि निर्देशन दिने बताएका छन् । दोषीमाथि कार्वाही हुने उनको भनाइ छ ।