विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको दोस्रो सम्मेलनबाट निर्वाचित नगर समितिको पदाधिकारी निर्वाचन शनिबार हुने भएको छ ।
निर्वाचन समितिले बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरी शनिवार दिउँसो १ः३० बजेबाट मतदान हुने जनाएको हो ।
प्रकाशित तालिका अनुसार पदाधिकारी छान्न हुने निर्वाचनका लागि वैशाख १३ गते शनिबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने, बिहान १० बजे उम्मेदवारको मनोनयन दर्ता गर्ने, ११ बजे उम्मेदवारको विरोधमा उजुरी दिने, १२ बजे विरोधमा परेको उजुरीको सूचना दिने, १२ः३० बजे उजुरी छानविन गरी निर्णय दिने, १ बजे उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १ः३० बजेबाट निर्वाचन सुरु गर्ने भनिएको छ । यसैगरी मतगणना दिउँसो ३ः३० बजेबाट सुरु गर्ने र लगतै मतपरिणाम घोषणा गर्ने भनिएको छ ।
गत आइतबार पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको दोस्रो अधिवेशनको बन्दसत्र सोमबार रातिसम्म चलेको थियो । बन्दसत्रबाट पार्टीको राजनीतिक प्रस्ताव, संगठनात्मक र आर्थिक प्रतिवेदनहरु पारित भएपछि समिति निर्वाचन प्रक्रिया अघि बढेको थियो ।
कुल ३५६ प्रतिनिधिबाट ८१ जना महानगर समिति सदस्य निर्वाचित गर्नुपर्नेमा ८७ जनाले मनोनयन गरेका थिए । तीमध्ये ६ जनाले मनोनयन फिर्ता लिएपछि समिति सर्वसम्मतरुपमा निर्वाचित भएको थियो । तर कोषाध्यक्ष पदमा बाहेक अन्य पदमा सहमति बन्न सकेको थिएन ।
कोषाध्यक्षमा ५ जनाको दाबी रहेकोमा दाबेदारहरुबीचको छलफलबपछि अन्य दावेदाररु पछि हटेपछि मनिष सोनी सर्वसम्मत निर्वाचित भएका थिए । बाँकी पदाधिकारीहरुका बिचमा भने सहमति जुट्न सकेको थिएन ।
नेकपा माओवादी केन्द्रको विधानमा सम्मेलनमा उपस्थित प्रतिनिधिहरुबाट महानगर समिति सदस्यहरु निर्वाचित हुने र निर्वाचित भएका समितिका सदस्यहरुले पुनः पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।