विराटनगर । नेपाल समाजवादी पार्टीका पूर्व प्रदेश समिति अध्यक्ष त्रिलोचन गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गौतमलाई आज पार्टी प्रवेश गराएका हुन् । पार्टीको विराटनगर महानगर समितिको दोस्रो सम्मेलनका अवसरमा आयोजना गरिएको समारोहमा गौतमलाई माओवादी केन्द्रमा स्वागत गरिएको पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद जीवन आचार्यले जानकारी दिए ।

पछिल्लो समय राष्ट्रिय समस्या समाधान गर्न र जनतासँग सम्बन्ध विकास गर्दै अगाडि बढिरहेका माओवादी अध्यक्ष प्रचण्डको सक्रियताबाट आफू प्रभावित भएको गौतमले बताए । प्रधानमन्त्री भएको बेलामा देशमा सुशासन स्थापना गर्नका लागि अभियान चलाएको र सरकारबाट हटेपछि पनि सुशासनको पक्षमा निरन्तर अभियान चलाइरहेका कारण त्यस अभियानमा सहयोग गर्नुपर्छ भनेर पुनः पार्टीमा फर्किएको गौतमले बताए ।
सगरमाथा बोर्डिङ स्कुलका प्रिन्सिपलसमेत रहेका गौतम विराटनगरका बौद्धिक व्यक्तिको रुपमा परिचित छन् । सामाजिक सञ्जालमा पनि बेथिति, भ्रष्टाचार र कुरीतिविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै उनले सामारिक रुपान्तरण र भ्रष्टाचाररहित समाज निर्माण गर्ने सक्रियता देखाउने गरेका छन् ।
गौतमलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले उचित जिम्मेवारी प्रदान गरिने बताए । उनले देशभर नेकपा माओवादीप्रति जनताको विश्वास बढेको भन्दै पार्टीलाई सुदृढ बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।