उद्देश्य प्रेरित पत्रकारिता

 राजन केडी

प्रेस सेन्टर नेपालका पाँचथर शाखा अध्यक्ष सेसेहाङ लावती र अग्रज पत्रकार विजयबोध लावतीको हस्ताक्षर भएको मिति २०८१ साउन १५ उल्लेख पत्र फेसबुक म्यासेन्जरमा प्राप्त भयो । पत्रमा उल्लेख सन्देश पढेर म इतिहासको त्यो कालखण्डमा पुगेँ, जहाँ मैले जीवन–मरणको दोसाँधमा रहेर लामो समय युद्ध पत्रकारिताको व्यावहारिक अभ्यास गरेको थिएँ । तिनै अभ्यासहरु सम्झेर पत्रमा पाँचथरको पत्रकारिता (स्मारिका) का लागि लेख पठाउन अनुरोध गरिएको थियो ।

पाँचथरको पत्रकारितासँग जोडिएको मेरो उपस्थिति सिकारु मात्र थिएन, विशेष उद्देश्य प्रेरित पनि थियो । पाँचथरको उत्तरी भेगमा पर्ने तत्कालीन मेमेङ गाउँ विकास समितिमा निर्मित सहिद पार्क मेरो पत्रकारिताको उद्गम थलो थियो । सहिद पार्कमा २०६० सालमा मेरो सक्रियतामा नियमित भित्तेपत्रिका प्रकाशन गरेर टाँस्ने गरिएको थियो । ड्रोइङ पेपरमा भित्तेपत्रिका तयार गर्ने हाम्रो समूहमा मसहित अहिले फिदिम नगरपालिका वडा नं.८ का वडाध्यक्ष रहनुभएका अञ्चल गुरुङ, रमा नेपाल (रिना), राम महत, सीमा कार्की र अमृता चन्द (रोशनी) रहेका थियौँ । सीमा कार्की पछि सहिद हुनुभयो । ‘सहिद स्मृति’नामक उक्त सूचना र समाचारमूलक भित्तेपत्रिका मासिक रुपमा तयार पारेर पार्कभित्र सबैले देख्ने ठाउँमा टाँसिन्थ्यो ।

सहिद तथा सहिद परिवारका परिचयात्मक सामग्री, जनमुक्ति सेनाले परिवारलाई लेखेका सन्देशमुलक पत्र, क्रान्तिकारी कविता, गीत, मुक्तक, पार्टी गतिविधिका तस्बिर सामग्रीले भित्तेपत्रिका सजाउने गरिन्थ्यो । माओवादीको आधारक्षेत्र भएकाले सरकारी सुरक्षा फौजको उपस्थिति शून्य बराबर थियो । भित्तेपत्रिकामार्फत जनभावना र विद्रोह सङ्गठित गर्न ठुलै सहयोग पुगेको थियो त्यसबेला ।

तत्कालीन जनमुक्ति सेनाको जगेडा फोर्स, स्थानीय माओवादी कार्यकर्ता र मेमेङवासी जनताले स्थानीय साधन, स्रोत तथा प्रविधि प्रयोग गरेर सहिद पार्क बनाएका थिए । पार्कसँगै सोही जनशक्तिले स्थानीय युवालक्षित फुटबल मैदान र भलिबल कोर्ट पनि बनाएको थियो । यसलाई जोड दिएर भन्नु पर्दा माओवादीले जनतासँग मिलेर स्थानीय विकास निर्माणका कामलाई अगाडि बढाएको थियो । त्यस्ता कामको प्रचार–प्रसार र दस्तावेजीकरण गर्ने जिम्मा हाम्रो भित्तेपत्रिका टिमको थियो ।

त्यो समयमा पाँचथरका गाउँ–गाउँमा हवाई–पत्रिकाहरू पुगेका हुन्थे । घरैपिच्छे भेटिने त्यस्ता हवाई–पत्रिका प्रायःसाहित्यिक पत्रकारितामा केन्द्रित हुन्थे । मैले यस्तो हवाई–पत्रिका २०५६सालमा मादी बहुमुखी क्याम्पस सङ्खुवासभामा अध्ययनरत हुँदा पढ्न पाएको थिएँ । कक्षासाथी सुष्मा श्रेष्ठ पोखराबाट निस्कने एउटा हवाई–पत्रिकासँग जोडिएकी थिइन् । उनकै माध्यममार्फत मेरो कविता पनि छापिएको थियो । इलामबाट निस्कने ‘आँखा’ त्रैमासिक विकास–पत्रिका पनि पाँचथरको गाउँ–गाउँमा भेटिन्थ्यो । यस्तै पत्रिकाहरूलाई गुरु थापेर हामीले भित्तेपत्रिका भर्ने गथ्र्यौँ ।

जनयुद्धको सुरुवातताका आधुनिक सञ्चार–प्रविधिजनप्रयोगमा थिएन । त्यतिबेला कि मौखिक सन्देश कि पत्र आदान–प्रदान नै युद्ध–सञ्चारको महत्वपूर्ण पाटो थियो । सूचना तथा सञ्चार–प्रविधिमा रुचि भएका हामी थुप्रै युवाहरु माओवादीको सञ्चार समूहसँग जोडिएका थियौँ । त्यतिबेला माओवादी नेताहरूले एक–अर्को नेता वा समूहसँग सञ्चार सम्पर्कका लागि पुरानो मोडलको सिनएओ नामक वाकीटकी प्रयोग गर्थे । त्यसैमध्ये एउटा वाकीटकी सञ्चार सेटको टावर राखेर हाम्रो टिम कार्यालय स्थापना गरीमेमेङ गाउँमा बसेको थियो । त्यस्तै सञ्चार सेटको टावर राखेर अर्को टिम त्यसभन्दा माथि भुसपाते जङ्गलको डाँडामा तैनाथ थियो । हाम्रो र भुसपातेको टिम देशभरका, खासगरी पूर्वीक्षेत्रमा माओवादीले गरेका फौजी, राजनीतिक, साङ्गठानिक गतिविधि एवम् विकास–निर्माणसँग सम्बन्धित रिपोर्टहरूमा केन्द्रित हुने गथ्र्यो । त्यस्ता गतिविधिसम्बन्धी जानकारीहरू टावरले हामीलाई सेटबाटै उपलब्ध गराउँथ्यो ।

पत्रकारितासम्बन्धी अनुभव जोड्दै जाने क्रममा मैले जनादेश र जनविद्रोह नामक साप्ताहिक पत्रिकाका लागि समाचार र विचार लेख्ने अवसर पाएँ । २०६० सालमा सिरहाको लहानबाट उत्तर, भित्री चुरेबस्ती विष्णुपुरकट्टीमा आधारभूत पत्रकारिता तालिम आयोजना गरिएको थियो । सो तालिमको एउटा सहभागी म पनि थिएँ । तालिम दिनत्यतिबेला भारतबाट प्रकाशित हुने जनपक्षीय पत्रिका ‘नेपाली आवाज’का सम्पादक महेश्वर दाहाल र ‘जनादेश’ साप्ताहिकका सम्पादक मण्डल सदस्य दीपेन्द्र रोकाय आएका थिए ।

‘हामी भर्खर जेलबाट छुटेर आएका हौँ । जेल पर्नुको कारण जनपक्षीय पत्रकारिता गर्नु वा माओवादीको राजनीतिक विचारनजिक रहेर कलम चलाउनु नै हो । त्यसैले पत्रकारिता चुनौतीपूर्ण हुन्छ, चुनौती सामना गर्न तपाईहरू तयार हुनुहोला ।’ तालिमकै सिलसिलामा प्रशिक्षकहरूले तालिमेलाई यस्तै अनूभूति सुनाउँथे । चुरेको गर्मीले तालिमेहरूलाई निकै तताइरहेको बेला प्रशिक्षक पत्रकारद्वयको साहसिलो अभिव्यक्तिले थप उत्साह र उर्जा दिन्थ्यो । २०५८ मङ्सिरमा पक्राउ पर्नुभएका उहाँहरूलाई तत्कालीन सत्ताले भद्रबन्दी गृह काठमाडौँमा लामो समय राखेको थियो ।

आधारभूत पत्रकारिता तालिम लिएर फर्केपछि हामी सिपयुक्त सक्रियतासाथ पत्रकारिताको गतिविधिमा लाग्यौँ । टावरबाट आएका रिपोर्टहरूलाईसमाचारको शैलीमाढालेर माओवादीले नै सञ्चालनमा ल्याएका जनगणतन्त्र रेडियो, जनादेश र जनविद्रोह पत्रिका आदि सञ्चारमाध्यममा पठाउने गर्न थाल्यौँ ।

हाम्रो अर्को सञ्चारकर्म भनेको त्यसबेला माओवादी नेताले बोक्ने सानो खिचिबो रेडियो र ठूलो पानासोनिक रेडियोको एरियलमा सानो, लामो फेक्सिवल तार जोडेर रुखको टुप्पामा पु¥याई गणतन्त्र एफएमको टावरसँग सम्पर्क गराउनु थियो । हाम्रो यस्तो काम देखेर स्थानीय हाम्रो वरपर आएर कोही रुखतिर कोही हामीतिर रहस्यमय ढङ्गले हेरिराख्थे । जब गणतन्त्र एफएमबाट समाचार, विचार, जनवादी गीत–सङ्गीत,जनमुक्ति सेनाले परिवारका नाममा पठाएका पत्रहरू प्रसारण हुनथाल्थे, गाउँलेहरु मन्त्रमुग्ध भएर सुन्थे ।

आज कुनै पनि क्रान्ति व्यापक भएको छ भने त्यो सूचना र सञ्चार–प्रविधिले बनाएकोहो । लडाइँ, सङ्घर्ष गर्ने तरिका आदि हरेक क्षेत्रमा सूचना र सञ्चार–प्रविधिले आमूल परिवर्तन ल्याइदिएको छ ।त्यसबेला माओवादीले पनिसरकारी क्षेत्रबाट भएको आफूविरुद्धको प्रचार लडाइँलाई चिर्दै जनताको विचारमा परिवर्तन ल्याउन सञ्चार–प्रविधिको प्रयोग गरेको थियो । आजको प्रेस सेन्टर पाँचथर त्यतिबेला माओवादीले प्रयोग गरेको सञ्चार–प्रविधिको प्रयोग र अभ्यासको एउटा उपलब्धिभएकोमा दुईमत छैन ।सूचना तथा सञ्चार–प्रविधि क्षेत्रमा हामीले पाँचथरमा त्यतिबेला जुन संरचनात्मक गतिविधि ग¥यौँ, त्यसले गणतन्त्र एफएम सुन्न, जनादेश र जनविद्रोह पत्रिका पढ्न जनतालाई थप प्रेरित गर्यो । त्योसँगै वैकल्पिक विचार र राजनीतिमा परिवर्तित हुने जनक्षेत्रव्यापक विस्तारितभएको थियो ।

त्यसबेला गणतन्त्र एफएम गाउँ–सहरमा माओवादी रेडियोका रुपमा परिचित थियो । १० बर्से सशस्त्र द्वन्द्व अर्थात् जनयुद्धका क्रममा झापा, मोरङ, सुनसरीलगायत जिल्लामा सञ्चार पोस्टहरू स्थापना गरिएका हुन्थे । त्यस्ता पोस्टमा एकदेखि दुई जनाको जनशक्ति हुन्थ्यो । एकजनाले अर्को पोस्टमा पार्टीको उपल्लो कमिटीबाट आएका योजनाका चिठ्ठी, सञ्चार–सेट, जनादेश, जनविद्रोह आदि पत्रिका झोलामा बोकेर पुर्याउने, अर्कोले पोस्ट रुङेर बस्ने प्रणाली हुन्थ्यो । अर्थात् पोस्ट टु पोस्ट सञ्चार हुन्थ्यो । अर्को पटक पोस्ट रुङेर बस्नेको हिँड्ने पालो आउँथ्यो ।त्यही पोस्टबाट हामीसम्म पत्रिका लिएर पुग्ने साथीले हामीले तयार गरेका गाउँघरका समाचार, नेताहरूले लेखेका लेख, विचार र जनमुक्ति सेनाले परिवारका लागि लेखेका सन्देशमूलक चिठ्ठीहरू लिएर फर्किन्थे । एकपोस्टबाट अर्को पोस्ट हुँदै जनविद्रोहरजनादेशको कार्यालयमा हस्त लिखित समाचार पुगेको हुन्थ्यो । पछि पत्रिकामा छापिएर आउँदा मैले पठाएका समाचार तथा विचारहरु ‘जनविद्रोह संवाददाता मिलनबाट’ ‘जनादेश संवाददाता मिलनबाट’ भन्दैमेरो बाइलाइनमा छापिएको हुन्थ्यो । गणतन्त्र एफएमले चाहिँ संवाददाता मिलनले पठाउनु भएको समाचारअनुसार भनेर प्रसारण गथ्र्यो ।

त्यतिबेला माओवादीसमर्थक पत्रकारहरुबाटजुन रूप र रङमा सञ्चारक्षेत्रमाहस्तक्षेप (हमला) भयो,त्यसले सरकारी सञ्चारमाध्यमले एकलौटी रूपमा प्रचार गर्दै आएको एकाधिकार र सञ्चार साम्राज्यलाई भत्काउने काम ग¥यो । त्यो जनपक्षीय सूचना तथा सञ्चार क्षेत्रमा भएको अर्को फड्को थियो ।जनता पनि दिन–प्रतिदिन माओवादी रेडियो चासो दिएर सुन्थे । दुर्गम पहाडका टुप्पाहरूबाट सम्प्रेषितसमाचार तथा विचार सीमान्त जनताको प्रत्यक्ष सरोकार, रुचि तथा चासोका विषयमा केन्द्रित हुनेगर्थे ।

त्यो बेलामा सदरमुकाम फिदिममा बसेर पत्रकारिता गर्ने अग्रज पत्रकारहरू प्रेम ओझा, गणेश साङपाङ र विपेन्द्र गौतमले राँके बजारमा गोप्य रूपमा भेटेर मलाई व्यावसायिक पत्रकारिता कसरी गर्ने भनी सिकाउनु भएको थियो । उहाँहरू हामीबाट ग्रामीण क्षेत्रमा माओवादीले गरेका गतिविधिका समाचारमूलक सूचनाहरू लिएर सदरमुकाम फर्किनुहुन्थ्यो ।

आज सञ्चारका अनेकौँ शाखा विस्तार भएका छन् । मैले सञ्चार क्षेत्रमा वामे सर्दै गर्दाको प्रसङ्ग सुनाउँदा आज एकादेशको कहानी जस्तो लाग्छ । यतिबेला हलो जोत्ने किसान, घाँस काट्ने महिला, रुखको टुप्पामा चढेर डालेघाँस काट्ने गोठालोदेखि ठूला अपार्टमेन्ट, कार्यालय, बिहेबारी, जन्मदिन मनाएको, मलामी गएको अर्थात् मानव जीवनको हरेक गतिविधिको मोबाइल तथा इन्टरनेटको सहायताले ‘लाइभ’ भइरहेकोछ । हातहातमा मोबाइल, घरघरमा इन्टरनेटले प्रत्यक्ष दृश्यको युग सतहमा आएकोछ । त्यसैमा पनि आज स्क्रिन–टच मोबाइल, इन्टरनेट, वाईफाई, अनलाइन आदि केटाकेटीदेखि बूढाबूढीसम्म सबैलाई सञ्चारसाधन नभई नहुने भएको छ । सञ्चारविना काम चल्दैन । माओवादी पार्टीआबद्ध कार्यकर्ताबीच एउटा पोस्टबाट अर्को पोस्टसम्म चिठीपत्र आदान–प्रदान गर्ने जमाना पुरानो बनिसकेको छ । माओवादी नेताहरूले देशदेखि विदेशसम्म जुम मिटिङ बस्ने र लाइभ गर्ने सञ्चार विधि अपनाएका छन् ।

सञ्चारमा आएको परिवर्तनले काखमा ल्यापटयाप्प च्यापेर छिनछिनमा हरेक सूचना अपडेट भइरहेका छन् । यसै सन्दर्भमा माओवादीका अन्तर्राष्ट्रिय पाँच गुरु मध्येका रुसी अक्टोबर क्रान्तिका नायक ‘इस्क्रा’ पत्रिकाका सम्पादनसमेत गरेका लेनिनले,‘प्रचार कहिल्यै खेर जाँदैन, बिउ छरेपछि त्यसको फल लाग्दछ’भनेझै सञ्चार क्षेत्रमा आएको परिवर्तनले मानिसको सोच र चिन्तनमा गहिरो प्रभाव पारेकोछ । हिजोको डोको रेडियोबाट सञ्चार थालेको माओवादीलाई आज जुम मिटिङ र बैठक लाइभ गर्ने अवस्थामा पुर्याएकोछ । पछिल्लो समय सूचना र युद्ध–प्रविधिमा अभूतपूर्व क्रान्ति आएको छ । सञ्चारमा भएको क्रान्तिलाई हामीले सामाजिक रूपान्तरण र परिवर्तनमा समायोजन गर्न सक्नुपर्छ ।

माओवादीले त्यतिबेला प्रयोगमा ल्याएको संचार सेट

आइतबार, ०७ बैशाख, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर