रेड टेबलदेखि सर्ट कमेन्टसम्म

  गणेश लम्साल

तात्कालीन शाही सत्ताले देशमा संकटका लगाएको थियो । जनताका सबै अधिकार खोसिएको थियो । देश कालो अँध्यारोमा थियो । त्यो समय म मोरङको पथरीमा बसेर व्यवसायिक पत्रकारिता गर्दथे । म धरान–विराटनगरबाट प्रकाशित हुने दैनिक र काठमाडौँबाट प्रकाशित हुने “जनआस्था” साप्ताहिक जस्ता पत्रिकाहरूमा समाचार लेख्थे । दलित खबर र खोजी पत्रकारिताका विषय छापिने नेपाल र हिमाल खबरमा पनि मेरा समाचार आउँथे ।

त्यो बेला पथरीमा हाम्रो फोन गर्ने र समाचार लेख्ने स्थान थियो–मनु साम्पाङ र विनोद थापाको पिसिओ । जुन धरानबाट प्रकाशित हुने ब्लाष्ट दैनिकको शाखा कार्यालय पनि थियो । हामी त्यही पिसिओबाट सूचना स्रोतलाई फोन गरेर समाचार टिप्थ्यौं । अनि लेखेर फ्याक्स गथ्र्यौ । त्यो पिसिओमा धेरै माओवादी कार्यकर्ताहरू पनि आउने गर्दथे । ईश्वर ढुङ्गाना, पुष्कर श्रेष्ठदेखि अरु पनि । उनीहरूसँग त्यही पिसिओमार्फत चिनजान भएको थियो ।

त्यही पिसिओमा २०६२ तिर माओवादी कोशी–मेची ब्युरोले प्रकाशन गर्न थालेको जनविद्रोह साप्ताहिकको मुठो पनि आउने गर्दथ्यो । जनविद्रोह साप्ताहिक निकै अभिरुचिका साथ पढ्ने र त्यसलाई सूचना स्रोत मानेर समाचार पनि बनाउने गर्दथ्यौं । त्यसमा हामी व्यवसायिक पत्रकारहरूले लेखेको जस्तो समाचारीय तत्वमा आधारित लेख हुँदैनथ्यो, तर माओवादीले गरेका धेरै भूमिगत गतिविधि, अभियान र कार्यवाहीबारे सूचनाहरू हुने गर्दथ्यो । जुन हाम्रालागि राम्रो समाचारको स्रोत हुने गर्दथ्यो । पिसिओ सञ्चालक विनोद थापाले एक प्रति जनविद्रोह लुकाएर पढ्न दिन्थे । पत्रिका पढ्ने मात्र होइन, संकलन गरेर राख्ने पनि गर्दथ्यौं ।

त्यो बेला हामीलाई माओवादी–निकट पत्रकारहरू पनि भनिन्थ्यो, तर हामी माओवादी भएर व्यवसायिक पत्रकारिता गर्दै थियौं । त्यो बेला पुष्कर श्रेष्ठले हामीलाई “पत्रकारको मोर्चा” बनाउनुपर्छ भनेर धेरै पटक आग्रह गरेका थिए । हामीले पटक–पटक भूमिगत मोर्चा बनाउनेबारे छलफल गरेका थियौं, तर ज्ञानेन्द्रको ‘कु’ पछि देशको अवस्था जनआन्दोलनतर्फ उन्मुख भैसकेकोले छलफल अगाडि बढ्न सकेन र हामीले भूमिगत मोर्चा बनाउन पनि पाएनौं । पत्रकार महासंघ खुलेर गणतन्त्रको पक्षमा आन्दोलित भैसकेको थियो ।

ज्ञानेन्द्रले ‘कु’ गरेको दिन (२०६१ माघ १९) का दिन हामीले मोरङको पथरीमा साँझ माओवादी साथीहरूसँग मिलेर नाराबाजी गर्दै दौड जुलुस निकालेका थियौं । जुन समाचार हामीले विराटनगरमा रहेका बिबिसीका सम्वाददाता टंक खनाललाई टिपाएका थियौं । टंक खनालले उक्त समाचार जोगबनीबाट पठाएर बिबिसी रेडियोमा बजाएका थिए । किनकी त्यो दिन देशभरका सबै टेलिफोन बन्द गराइएको थियो ।

मोरङको उर्लाबारी, पथरी, लेटाङ, टाँडी, रमिते, हसन्दह, अमरदह, ईटहरा, आमवाडी, बयरबन क्षेत्रमा प्रायः माओवादीका धेरै गतिविधिहरू हुने गर्दथे । अपहरण गरेर लगेको भनिएका मानिसहरू छोड्नुपर्दा हामी धेरै पटक रोहवर (च्यजधबच) मा बसेका थियौं । माओवादीले गर्ने धेरै भूमिगत कार्यक्रमहरूमा हामी निर्धक्क सहभागी हुने गर्दथ्यौं । किनभने हामी सिमित पत्रकारहरूलाई माओवादी साथीहरूले पूर्ण विश्वास गर्ने गर्दथे । तर त्यो बेला पनि हामी माओवादीको आडमा विचौलिएर गरेका नराम्रा कामहरू लेख्न पनि डराउँदैनथ्यौं ।

यसैले पटक–पटक त्यो बेला माओवादी ब्युरोले हामीलाई एकान्त स्थानमा बोलाएर अन्तरक्रिया गर्ने गर्दथ्यो । “समाचारहरू हामीबाट पुष्टि गराएर लेखिदिनुहोस्”भन्ने आग्रह गर्दथ्यो, किनकी आएका समाचारहरूले पार्टी र इमान्दार कार्यकर्ताहरूको बदनामी भैरहेको गुनासो हुने गर्दथ्यो ।

२०६२–०६३ मा दोस्रो जनआन्दोलन भयो । उक्त आन्दोलनमा हामी पत्रकारहरूको पनि सक्रिय सहभागिता रह्यो । त्यो बेला आफूले समाचार लेख्ने मात्र नभएर, विराटनगरदेखि काठमाडौँसम्मका पत्रकार र मिडियाका लागि हामी सीधा सम्पर्क स्रोत थियौं । आन्दोलन अन्त्य भएको पहिलो दिन दलहरूले पथरीदेखि शनिश्चरेसम्म विजयी जुलुस आयोजना गरेका थिए । तर माओवादीले त्यसको विरोध गरेको थियो । शनिश्चरे चौकमा एकतिर छवटा दलहरूको विजयी सभा भैरहेको बेला माओवादी नेता गणेश उप्रेतीले हामीलाई अलग्गै घरमा बोलाएर, “यो घोषणा हामीलाई मान्य छैन, विजयी जुलुसमा हामी सहभागी हुँदैनौं”भनेर पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए ।

जनआन्दोलनपछि म पनि पूर्ण व्यवसायिक पत्रकारिता गर्न विराटनगर बसाइ आएँ । विराटनगर आएपछि मैले जनआस्था साप्ताहिकसँगै आफ्नो खोजमूलक पत्रकारितालाई अझ व्यापक बनाउँदै लगें । त्यही बेला धरानबाट साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको औजार दैनिक प्रकाशन हुन थाल्यो । म त्यसको सह–सम्पादक बनेर विराटनगरबाट रिपोर्टिङ गर्न थाले । मेरो रिपोर्टिङले तहल्का मच्चाउन थाल्यो । प्रहरी, भन्सार, र कार्यालयहरूमा हुने भ्रष्टाचार र बेथितिबारे निडर भएर समाचार लेखिन्थ्यो ।

त्यही बेला विराटनगरबाट २०६३ असार ६ गतेदेखि “जनविद्रोह”दैनिकको प्रकाशन सुरु भयो । पहिले तीन टोली, शान्ति चौक, त्यसपछि न्यूरो अस्पताल पछाडि, अनि भानुटोलमा यसको कार्यालय रह्यो । हाम्रो पनि उक्त पत्रिकाको कार्यालयमा बाक्लो आवतजावत हुन थाल्यो । जनविद्रोह टिमसँग हाम्रो सम्बन्ध बढ्दै गयो ।

त्यो बेला शिवकुमार डाँगी, गणेश उप्रेती, विवेक गौतम, नवराज कट्टेल, राजन केडी, प्रेम पुरी, अर्जुन आचार्य, विनोद घिमिरे, अर्जुन गहतराज, राजेन्द्र पौडेल, पृथ्वी कार्की लगायत अग्रज प्रगतिशील पत्रकारहरूसँगको चिनजान विस्तारै आत्मीयतामा बढ्दै गयो ।

जनआन्दोलन पछि माओवादीले शहर केन्द्रित गतिविधि बढाएको थियो । हामी पनि सक्रिय रूपले गतिविधिहरूमा सहभागी हुन थाल्यौं । त्यसपछि साथीहरूले क्रान्तिकारी पत्रकार संघमा हामीलाई आवद्ध गराउने प्रस्ताव राख्नुभयो । हामी पनि क्रान्तिकारी पत्रकार संघमा आवद्ध भयौं ।

त्यो बेला जनविद्रोह दैनिकलाई माओवादीहरूले निकालेको पत्रिका भन्थे, र आवद्ध पत्रकारहरूलाई “व्यवसायिक नभएर माओवादी कार्यकर्ता”भन्ने गर्दथे । तर जब हामी व्यवसायिक पत्रकारहरू क्रान्तिकारी पत्रकार संघमा आवद्ध भयौं, त्यसपछि कथित व्यवसायिक भनिएका पत्रकारहरू चुप लाग्न बाध्य भए ।

जनविद्रोह दैनिकमा मैले सुरुदेखि नै नियमित ‘रेड टेबल’ नामको स्तम्भ लेख्न थालेँ । म स्तम्भकार मात्र नभएर व्यवसायिक गतिविधिका समाचारहरू पनि सहयोग गर्थे । जनविद्रोह दैनिकले मलाई कम्प्युटर प्रयोग गरेर समाचार लेख्न सिकायो ।
समयको परिवर्तनसँगै जनविद्रोह दैनिक पनि प्रसवि प्रकाशनबाट पूर्वाञ्चल जनसञ्चार सहकारीमार्फत हाम्रोमत दैनिकको रूपमा प्रकाशन हुन थाल्यो । यसले रंगीन कलेवरमा प्रकाशित हुन थालेपछि यो अझ व्यवसायिक देखिन थाल्यो ।

हाम्रोमतले जनविद्रोहको ‘रेड टेबल’ स्तम्भलाई ‘सर्टकमेन्ट’ स्तम्भको रूपमा प्रकाशन गर्न थाल्यो । म अहिले सर्टकमेन्टमा हरेक सोमबार समसामयिक विषयमा निरन्तर लेख्न थालेँ, र अहिलेसम्म लेखिरहेको छु ।

अहिले म नयाँ पत्रिका दैनिकको प्रदेश ब्युरो भएर सिनियर रिपोर्टरका रूपमा पूर्णकालिन पत्रकारितामा सक्रिय छु । क्रान्तिकारी पत्रकार संघको जिल्ला अध्यक्ष, प्रदेश र केन्द्रको सदस्य हुँदै प्रेस सेन्टर नेपालको केन्द्रिय नीति परामर्श समितिको सदस्य रहिसकेको छु ।

हाम्रोमतले ६ बैशाखमा आफ्नो प्रकाशनको २१ औँ वर्ष पूरा गरेर २२ औँ वर्षमा प्रवेश गरेको छ । बैशाख ७ गते (आइतबार), गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री परिवर्तनका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो दैनिकलाई आफैं उपस्थित भएर अभिनन्दन गर्दै हुनुहुन्छ । यसैले यो दैनिकको इतिहास अझै गर्विलो र स्मरणीय बन्नेछ ।

म निष्ठावान, जुझारु र पूर्ण व्यवसायिक पत्रकार बन्ने प्रयास गरिरहेको छु । मेरो उद्देश्य दलित र सीमान्तकृत समुदायको हकअधिकारका लागि वकालत गर्नु, संघीय गणतन्त्रको रक्षा गर्नु, र सुशासन र सामाजिक परिवर्तनको पक्षमा खुट्टा लिनु हो ।
हाम्रो मत दैनिकले कहिल्यै पनि अन्याय, अत्याचार, अपराध, विकृति, अन्धविश्वास विरुद्ध समाचार लेखेको छैन । यो दैनिक र यसमा आवद्ध पत्रकारहरू सधैं संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेका छन् ।

आज यसले २२औँ वर्षमा कदम राख्दै छ । यो दैनिक सधैं निष्ठावान, न्यायप्रिय र प्रगतिशील बन्दै जाओस् । म पनि यसको सहयोगी सहकर्मी बनेर योगदान दिने अवसर पाउँदा गर्व अनुभव गर्छु । वर्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना ।

आइतबार, ०७ बैशाख, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर