
लीलावल्लभ घिमिरे
विराटनगरको एक होटलमा कांग्रेस नेता प्रदीप गिरी र म टिभी हेरेर बसिरहेका थियौँ । टिभीमा समाचार बजिरहेको थियो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको । त्यतिकैमा प्रदीप दाइले भन्नुभयो हेर लीला, अब यी प्रचण्ड पनि हामी जस्तै हुन्छन् । मैले जिज्ञासा राखें कसरी ? उहाँले उत्तर सुरु गर्नुभयो । ‘जतिबेला बिपी कोइराला हुनुहुन्थ्यो नि ! हो त्यति बेला उहाँलाई भेट्न गएका जो कोहीलाई बिपीको पहिलो प्रश्न हुन्थ्यो तपार्इं पार्टीको कुनै कमिटीमा हुनुहुन्छ ? यदि उसले छैन भन्यो भने तपाईँको जिल्ला कुन र गाउँको नाम के हो ? भनी सोध्नु हुन्थ्यो । जब उसले उत्तर दिन्छ अनि सोध्नु हुन्थ्यो तपाईँको वडाको कांग्रेसको बुथ सभापति र गाउँ सभापतिको नाम के हो ? त्यसपछि उहाँले पार्टी संगठनका कुरा गर्नुहुन्थ्यो र अन्त्यमा मात्र तपाईँका केही समस्या छन् ? भनेर सोध्नु हुन्थ्यो । यसले गर्दा पार्टी सधैँ जीवन्त रहेको थियो ।
यो क्रमलाई गणेशमानजी र किसुन जीले केही हदसम्म फलो गर्नुभयो । गिरिजा बाबु शक्तिमा आएसँगै हामी सबै नेताहरू कार्यकर्ताहरूबाट टाढा भयौँ । कसैले पनि कमिटी सोध्न छाड्यौँ । हामीलाई भेट्न कार्यकर्ता भन्दा बढी बाहिरका चलखेल गर्ने मानिसहरू आउन थाले । सबै नेताको ध्यान गाउँ कमिटीतिर हैन नियुक्ति, सरुवा बढुवातिर गयो । त्यही बेलादेखि पार्टीका संरचना कमजोर भए ।’ उहाँले थप्नु भयो, ‘हेर न अब यी प्रचण्डलाई पनि हिजोसम्म पार्टीका लडाकु आउँथे । मुठी कसेर म फलानो प्लाटुनको भन्थे । अधिकांश समय उनी कार्यकर्ता माझ रहन्थे । अब यिनलाई पनि कार्यकर्ताले हैन कर्मचारी र बिचौलियाहरूले घेर्न थाल्नेछन् । अनि यिनी र हामीमा केही फरक हँुदैन् । जब नेताहरूको वरिपरि कार्यकर्ताहरूको भीड हुन्छ त्यस बेलासम्म पार्टी बलियो हुन्छ । अनि जब नेताहरू कर्मचारी र बिचौलियाहरूको घेराबन्दीमा पर्छन् उनीहरूले तल्लो पार्टी संगठन सोध्न छाड्छन् । आउने कार्यकर्ताहरुले पनि तलको संगठनको अवस्था रिपोर्टिङ गर्न छोड्छन् त्यसपछि पार्टी कमजोर बन्छन् । मैले त्यही भएर तिमीलाई सुनाएको हो कि प्रचण्ड हामी जस्तै बन्न अब धेरै समय लाग्दैन ।
यो कुरा सकिन नपाउँदै मैले प्रदीप दाइलाई बिपीले प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्नुभयो, मदन भण्डारीले जबज प्रतिपादन गर्नुभयो, अहिले आएर पुष्पकमल दाहालले प्रचण्डपथ तयार गर्नुभयो । के यो प्रचण्डपथ नै अन्तिम हो कि अरू कसैले नयाँ कुनै विचार प्रतिवादन गर्न सक्छ ?’ भनेर सोधें । मेरो प्रश्नमा प्रदीप दाइको उत्तर थियो, मेरो विचारमा लाग्छ यो प्रचण्डपथ नै कुनै पनि एक व्यक्तिले प्रतिपादन गरेको अन्तिम विचार हुनसक्छ । अबको २१औँ शताब्दीमा एक जना व्यक्तिले सिङ्गो समाजलाई आफ्नो पछाडि लगाउन सक्छ जस्तो मलाई लाग्दैन । अब कुनै पनि नयाँ सिद्धान्त र विचार नै आउँदैन भन्न खोजेको चाहिँ हैन । मेरो विचारमा अब आउने नयाँ विचार र सिद्धान्त कुनै एक समूहले तयार पार्छ अनि त्यसले समाजलाई डोहोर्याउने छ । आज हामी माझ प्रदीप गिरी हुनुहुन्न । नेपाली राजनीतिक दर्शनमा उहाँले जसरी यो समाजलाई बुझ्नु भएको थियो धेरै कम नेताहरूले बुझेका छन् होला ।
यहाँ मैले माओवादी अध्यक्षको हातमा आजको पत्रिका पर्छ र पढेर उहाँले राति सुत्ने बेलामा यी कुरालाई मन्थन गर्नुहुनेछ भन्ने विश्वासका साथ लेखेको हुँ । म सुप्रिमो कामरेडको विचार सिद्धान्तको पक्षपाती अवश्य हैन तर मैले गर्वका साथ भन्न सक्छु माओवादी जनयुद्धका हरेक पाटालाई नजिकबाट नियालेको छु । दश वर्षसम्म चलेको जनयुद्धका बारेमा आ–आफ्ना तर्क होलान् तर मैले गरेको आशा र विश्वास फरक थियो । मैले बुझेको माओवादी फरक थियो । तर, दुर्भाग्य मुलुकमा गणतन्त्र आएको केही समय पछि प्रदीप दाइले भनेकै अवस्थामा पुग्यो माओवादी । माओवादीले जनयुद्धका बेला केही राम्रा र केही नराम्रा काम गर्यो नै त्यसैलाई आधार बनाएर अहिले पनि विरोध भइरहेको छ । तर, मेरो बुझाइमा माओवादीले दशबर्से जनयुद्धका क्रममा जति नराम्रा काम गर्यो त्यो भन्दा धेरै नराम्रो सत्तामा पुगेपछि गर्यो ।
हुन त अहिलेको समय विगतलाई सम्झेर पछुताउने पक्कै पनि हैन । यति बेला सडकमा गणतन्त्रविरुद्ध नारा लाग्न थालेको छ । यसले अध्यक्ष प्रचण्डलाई जति पोलेको छ लामो समयदेखि मिसन पत्रकारिता गरिरहेका पात्रहरूलाई पनि त्यति नै पोलेको हुनुपर्छ । के अब फेरि हामी राजतन्त्रको परिकल्पना गर्न सक्छौँ त ? २१औँ शताब्दीको माग त्यही हो ? यस्ता धेरै प्रश्नहरू आइरहेका छन् । तर, मैले आज अध्यक्ष प्रचण्डलाई आग्रह गर्न खोजेको के हो भने १९३० मा प्रतिपादन भएको माओ विचारधारा २१औँ शताब्दीमा लागू गर्न सकिन्छ त ? मेरो विचारमा हामी अहिले धेरै अगाडि आइसकेका छौँ । अब पुरानो राजतन्त्र जसरी चल्न सक्दैन । माओवादी सिद्धान्त मात्र हैन समाजवाद समेत फेलियर भइसकेको छ । अहिले माओवादी सिद्धान्त लागू गर्छु भन्नु गोरु गाडामा मोटरको इन्जिन हालेर कुदाउँनु जस्तै हो ।
तपाईँले यो व्यवस्थाका सबै पाटापक्ष केलाउनु भएको छ । मेरो आग्रह, प्रचण्ड कमरेड ! एक पटक हिम्मत गर्नुहोस् कि अब यो माओवाद हैन आफ्नै माटोको प्रचण्डपथ लिएर आउनुहोस् । तर, त्यो माओवादको फोटोकपी नहोस् । मलाई लाग्छ अहिलेका नेतामध्ये तपाईँले एक पटक साँच्चै गम्भीर भएर सोच्नुभयो भने अहिले पनि ढिलो भएको छैन । र, मैले तपाईँलाई आग्रह गर्नुको कारण पनि यो काम गर्नका लागि अहिलेका नेतामा तपाईं बाहेक अरूले सक्दैनन् । यदि तपाईँले गर्नु भएन भने कसैले गर्ने र अहिलेका परिवर्तनको ज्वारभाटालाई साम्य बनाउने छ ।
मेरो विचारमा राजतन्त्र, माओवाद, समाजवाद यी सबै मिति सकिएका औषधि हुन् । यसैबाट उपचार सम्भव छैन । अनि रबी, बालेन र हर्कजस्ता परीक्षण नै विनाका औषधि प्रयोग पनि अझ घातक हुन्छन् । त्यसैले मेरो आग्रह अध्यक्ष कमरेड २१औँ शताब्दीका जनताका लागि सुहाउँदो विचार अहिलेको आवश्यकता हो । हिजो तपार्इं ल्यान्ड लाइन फोन चलाउनु हुन्थ्यो । आज तपाईँको हातमा स्मार्ट फोन छ । अनि सिद्धान्त चाहिँ ल्याण्डलाइनको बोक्ने स्मार्ट बनाउन नखोज्ने कसरी हुन सक्छ ।
एक पटक सम्झनु होस् त ! आज बिपी कोइराला जिउँदो हुनुभएको हुन्थ्यो भने उहाँले कस्तो प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्नु हुन्थ्यो होला । हामीले सबैथोक परिवर्तन गरेका छौं तर, समय अनुसार चल्न नसक्दा कतै पुराना दलहरु डाइनोसर झैं लोप हुनुपर्ने त होइन भन्ने प्रश्न पनि त छ ।