सुपारीमा गभारोको प्रकोप,बोट राख्ने कि मास्ने किसानलाई दोधार

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका ८ का किसान प्रेमप्रसाद बराल दुई वर्ष अघिसम्म एक सय क्वीन्टल सुपारी फलाउँथे । परारको साल सय क्वीन्टल सुपारी बेचेर बरालले ८ लाख रुपियाँ आम्दानी गरे । त्यस वर्ष सुपारीले ठिकै भाउ पाएको थियो । उनले प्रतिकेजी ८० रुपियाँका दरले काँचो सुपारी बेच्नेका थिए तर, पोहोर साल एकाएक सुपारीको उत्पादन घट्यो ।
प्रेमप्रसादको आम्दानीको मुख्य स्रोत नै सुपारी खेती हो ।

उनले आफ्नो भएको एक बिघा जग्गामा सुपारी खेती गरेका छन् । नगदे बालीको रुपमा रहेको सुपारी खेतीबाटै आफ्नो दैनिकी चलाउँदै आएका बराललाई गतवर्ष राम्रो फसल नभएपछि परिवार धान्न गाह्रो प¥र्यो । अर्को वर्ष उत्पादन बढ्ला भन्ने आशामा रहेका उनी यस वर्ष पनि उत्पादन नभएपछि निराश छन् ।

एकाएक सुपारी उत्पादन आधाले घटेर झण्डै ५० क्वीन्टलजति मात्र फलेपछि घर धान्न उनलाई गाह्रो परेको थियो । सुपारी बगानमा ३० वर्ष पुरानादेखि नहर बोटहरु पनि छन् । पोहोरको साल पुराना बोटबाट मात्र नभएर नयाँ नहर बोटको फसल पनि राम्रो भएन । यसपटक उत्पादनमा सुधार हुने अपेक्षा गरेपनि अवस्था उस्तै रह्यो । यसपाली पनि भनेजस्तो फसल छैन ।
सुपारीको राम्रो फसल नलागे पनि मूल्य पाउने आशा थियो तर बजारले उनलाई थप निराशा बढाइदिएको छ । पोहोरको सुपारी मुस्किलले बेचेका प्रेमप्रसादको बगानमा यसपाली सुपारी किन्न ग्राहक आएका छैनन् । यसपाली पनि पुगनपुग ५० क्वीन्टलजति सुपारी फलेको उनले बताए । एकातिर सुपारी उत्पादन घटेको छ भने मूल्य पनि त्यसैगरी घटेको छ । अहिले प्रतिकिलो ४० रुपियाँका दरले छिमेकीहरुले मुस्किलले सुपारी बेचिरहेको उनी बताउँछन् । ‘सुपारी खेतीबाट जीविकोपार्जन गर्न गाह्रो देखियो, बगानबाट उत्पादन पनि घट्यो, बजार भाउ पनि त्यसरी नै घटेको छ, यस्तो भएपछि कसरी यो खेती धान्न सकिन्छ होला खै !’, निराश बन्दै उनले भने ।

पहिले सुपारीका बोटमा सधैं लटरम्मै दाना हुन्थे । यसपालि बोटमा गतिलो झुप्पा लागेको देख्नै मुस्किल छ । बगानका बिचबिचमा टुप्पाबाट सुपारीका बोट मरेर सुक्दै आइरहेको छ । ‘सुपारीमा गभारो किराले नोक्सान गरिरहेको छ, गभारो नियन्त्रण गर्न सकिएको छैन, ठूलो खर्च गरेर गभारो नियन्त्रण गर्न सक्ने सामथ्र्य पनि छैन,’ उनले भने ।

मिक्लाजुङ गाउँपालिकामा ५०० भन्दा बढी किसानले व्यवसायिक सुपारी खेती गरिरहेका छन् । कसैले घुसुवा खेतीको रुपमा सुपारी लगाएका छन् भने धेरैले बगान नै बनाएका छन् । तर अधिकांश किसान गभारोबाट पीडित बनेका छन् । उनीहरुलाई गभारोबाट सुपारी खेती जोगाउने चुनौती थपिएको छ ।

गभारोबाट सुपारी उत्पादन घट्न थालेपछि पुराना किसानहरु खेती गरिरहने कि बोटै मासेर खेतीको विकल्प खोज्ने भन्ने दोधारमा परेका छन् । ‘एक त गभारो लागेर सुपारी फल्दै फलेन । फलेको सुपारीले बजार पनि पाइरहेको छैन अर्कोतिर भाउ पनि आधाभन्दा कमले घट्यो,’ बरालले भने, ‘त्यसकारणे सुपारीको बोट राखिराख्ने कि काटेर फाल्ने दुविधामा छु ।’
मिक्लाजुङमा सबैभन्दा पहिले सुपारी खेती उनकै परिवारले आजभन्दा ४० वर्षपहिले सुरु गरेका थिए । बुवाले भारतको आसामबाट ल्याएको सुपारीको दानाबाट बेर्ना उत्पादन गरेर सुरु गरेको खेती अहिले गाउँभर विस्तार भएकोमा उनी खुसी देखिन्छन् तर, आम्दानी दिन छोडेपछि खेती परिवर्तन गर्ने कि नगर्ने भन्ने दोधारमा पनि परेका छन् ।

कोशी प्रदेशमा सबैभन्दा धेरै सुपारी झापामा उत्पादन हुन्छ । त्यहाँ ठूलो भूभागमा सुपारीको व्यवसायिक खेती गर्ने गरिएको छ । झापाको तुलनामा मोरङमा सुपारी उत्पादक किसानहरु न्यून छन् । तर निरन्तर खेती भने विस्तार भइरहेको छ । बिरुवा हुर्काएपछि साधारण हेरचाह गर्दा पुग्ने भएकोले सहजरुपमा गर्न सकिने नगदे बालीको रुपमा यसलाई लिइन्छ । वन्यजन्तुबाट क्षति नहुने र सुरक्षित आम्दानी हुने भएकोले किसानहरुले अन्नबाली घटाएर सुपारी खेती गरिरहेको बेला गभारो किराको प्रकोपबाट किसानहरुमा चिन्ता छाएको हो ।

कोशीका सुपारी उत्पादक किसानले यस वर्षको उत्पादन प्रशोधन गर्न थालेका छन् । बोटमा सुपारी तयार हुँदै गएका कारण किसानहरूले प्रशोधनको काम थालेका हुन् । तर, उत्पादित सुपारी कसरी बेच्ने भन्ने चिन्ता उनीहरुमा छ ।
इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा व्यवसायिक सुपारी खेती छ । विगतमा किसानलाई सुपारी बिक्री गर्न कुनै समस्या थिएन । व्यापारीहरु किसानको खेतमै पुगेर सुपारी खरिद गर्दथे । तर यतिबेला किसानको खेतमा न्यून संख्यामा मात्र व्यापारीहरु पुग्ने गरेको किसानहरु बताउँछन् ।

मिक्लाजुङका किसानहरुले गभारो नियन्त्रणका लागि आफ्नै पहलमा औषधोपचारको प्रयत्न गरेका छन् तर,, नियन्त्रणमा आएको छैन । किसानहरुले गाउँपालिकासम्म आफ्नो समस्या त पु¥याएका छन् तर प्राविधिकहरुले रोग नियन्त्रणमा खासै ध्यान नदिएको उनीहरुको अनुभव छ । यद्यपि किसानहरुले गभारो नियन्त्रण गरिदिनका लागि गाउँपालिकालाई औपचारिक दबाब वा आग्रह गरेको देखिदैन । किसान प्रेमप्रसाद बरालले भने, ‘हामीले भेटमा त समस्या सुनाएका छौं तर पालिकाले नै उपचारमा सहयोग गरिदिनुप¥यो भनेर चाहिँ भनेका छैनौं, अब त्यसका लागि संगठित पहल गर्छौं ।’
फोटो क्याप्सन ः सुपाडी बगानमा गभारोको प्रकोपले गर्दा न्युन उत्पादन भएको रित्ता बोट ।

सोमबार, ०१ बैशाख, २०८२, दिउँसोको ०१:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर