‘एक पालिका एक पर्यटन पहिचान’ बनाउँ

पर्यटन वर्ष मनाउने भनेर प्रदेश सरकारले महत्वका साथ कार्यक्रम बनाइरहँदा स्थानीय तहहरुसँग गम्भीर छलफल गर्नुपर्छ ।

प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको छ । पर्यटन प्रबद्र्धन र विकासका लागि पहिले संघ, प्रदेश र स्थानीय तहबीचमा राम्रो समन्वय आवश्यकता पर्दछ । पर्यटन वर्ष घोषणा गरिरहँदा प्रदेश सरकारले पर्यटकीय स्थलहरु कहाँ कहाँ छन् ? कस्तो अवस्थामा छन् ? त्यसको म्यापिङ गर्दा सबैभन्दा राम्रो हुन्छ ।

सीमा नाकाहरु काँकडभिट्टा, विराटनगर, पशुपतिनगरको नाकाबाट भारतीयहरु आउने गरेका छन् । भारततिरको सिमा क्षेत्र दार्जिलिङ, मिरिङ, तिम्बुला, सुके, सौरेनीलगायतका क्षेत्रमा होमस्टेहरु अहिले प्रशस्त चलिरहेको छ । त्यो होमस्टेहरु पर्यटन व्यवसायीहरुले र ट्राभल एजेन्सीहरुले वार्षिक रुपमा ठेक्कामा लिएको छ । पर्यटक आएपनि नआएपनि उनीहरुले निश्चित रकम तिर्छन् । त्यसकारण उनीहरुले नै त्यहाँ पर्यटकहरु पठाउँछन् । त्यो पर्यटकहरुलाई हामीले पनि नेपाल भित्र्याउन सक्छौं । त्यसको लागि भारतको ट्राभल एजेन्सीहरुसँग सहकार्य गर्नुपर्छ । त्यो सजिलो छ । गर्न पनि सकिन्छ । अर्को भनेको सूचनाहरु प्रशस्त्र मात्रामा प्रसारण गर्नुपर्छ । हामीले पशुपतिनगरमा सूचनाकेन्द्र बनाएका छौं । उदाहरणको लागि त्यो सूचना केन्द्रलाई प्रदेशभरीका कुन कुन स्थानमा घुम्न जाँदा उपर्युक्त हुन्छ भन्ने कुराको डिजिटलाइज गर्न सकिन्छ । त्यसको लागि क्यू आर कोडहरु प्रयोग गर्न सकिन्छ । सूचना दिने वा कुनै मोवाइलका चिप्सहरु आदि इत्यादि निःशुल्क उपलब्ध गराउने गर्दा नेपाल आउने पर्यटकहरूलाई सहज हुन्छ ।

अन्तर्राष्ट्रियस्तरमा काम गरिरहेका कैयौं एजेन्सीहरू छन् । उनीहरूलाई कसरी प्रयोग गर्न सकिन्छ ? भारतको विभिन्न ठाउँहरूमा पर्यटन मेला, यूरोप र अमेरिकामा पनि पर्यटन मेला लगाउन सकिन्छ । अमेरिकामा रहेको भूटानी शरणार्थीहरूले नेपालले लगाएको गुनलाई धेरै ठूलो सम्झेको छ । अहिले उनीहरू अमेरिकन भैसकेका छन् । उनीहरू नेपालमा पर्यटकको रूपमा आएर भए पनि सहयोग गर्न चाहन्छन् । खर्च गर्ने राम्रो सामथ्र्य पनि राख्दछन् । उनीहरूको समाजभित्र पस्नु प¥यो । म आफैं उनीहरूसँग भेट्दा नेपाललाई साह्रै धेरै माया गरेको पाएँ । उनीहरूमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।
यस्तै प्रचारप्रसार व्यापक बनाउनु पर्छ । हामीले पर्यटकीय नगरी भएको कारण धेरै कुराहरु प्रदेश सरकारसँग छलफल पनि चलाएका छौं । तर, यहाँका व्यवसायीहरु होमस्टे, होटल चलाउनेहरुसँग बसेर छलफल गरियो भने पनि कहाँ कहाँ ट्राभल एजेन्सीहरुले कस्तो रणनीति अपनाएको छ भन्ने सजिलै बुझ्न सकिन्छ । अहिले दार्जिलिङ होइन, इलामको कन्याम वा अन्तु जाने भन्ने खालको प्रचार चाहिँ भारतमा पनि भइरहेको पाएका छौं । आसामको एकजना नेपालीभाषी भारतीय कर्णेलले दार्जिलिङ भन्दा इलाम धेरै सुन्दर ठाउँ भनेर युटुब च्यानलमा भनेको सुनियो । त्यही कारण पनि मानिसहरु इलाम आइरहेका छन् । त्यस्ता प्रकारका सेन्टिमेन्टहरुलाई पक्रिएर हामीले हाम्रो प्राकृतिक सम्पदालाई बेच्नु पर्छ । प्राकृतिक सम्पदा र सरसफाइमा हामीले ध्यान दिनुपर्छ । हामीले हाम्रो पर्यावरण, हाम्रो बाटोहरु, हाम्रा होमस्टे, हाम्रो होटललाई सफा राख्नुपर्छ । सुन्दर बनाउनु पर्छ । ‘नेपाल जाँदा छक्क परें । बाटोमा एउटा पत्कर पनि भेटिएन, कति राम्रो सफा रहेछ । धेरै सुन्दर लाग्यो’ भन्ने खालको बनाउनु पर्छ । पर्यटकले पनि सरसफाइ खोजेका छन् । यहाँ ठूला घर, ठूलो भवन र ठूला बाटो भन्दा पनि सुन्दर प्राकृतिक वातावरण, सुन्दर ठाउँ र सरसफाइ नै पर्यटक आकर्षित गर्ने आधार हुन् । हाम्रा झरनाहरु, चियाका बगान, हिमाल, पहाडहरु हेर्न आउनेहरुले पनि सरसफाइलाई नै बढी ख्याल गर्छन् । त्यसलाई मध्यनजर गरियो भने हामी सफल हुन्छौं ।

यस्तै पर्यटकलाई ह्यारेसमेन्ट (अपमानित) गर्नुहुँदैन । भारतीयहरुलाई हामीले हाम्रो देशमा अपमानित गरिरहेका छौं । पटके कर, भन्सार काटिन्छ । भन्सार र पटके कर त सबै डकुमेन्ट भएकै कारण काटियो । तर, काँकडभिट्टाबाट आएका मानिसलाई विर्तामोडमा, दमकमा, उर्लाबारीमा, इटहरीमा, धरानमा पटकपटक चेकजाँच गर्ने र उनीहरुलाई अपमानित गरिरहेका छौं । त्यसलाई पर्यटकले मन पराउँदैनन् । सरकारले त्यसलाई व्यवस्थापन गर्नुपर्छ । एक पटक कर कटाएपछि पर्यटकको सवारी साधनमा प्रदेश सरकारले छुट्टै स्टिकर टाँसिदिने गर्नुपर्छ । कुनैपनि प्रकारको स्टिकर टाँसेर नाकाबाट छोडेपछि निर्वाध हिंड्न दिनुपर्छ । त्यसले हामीलाई फाइदा गर्छ ।

हाम्रो पालिकामा घोडा चढ्नै धेरै मानिसहरु आउँछन् । जस्तो जिल्ला जिल्ला र स्थान विशेष विशेषताहरु के हुन् ? त्यसैलाई प्राथमिकता दिनुपर्छ । श्रीअन्तु जाँदा सूर्योदय हेर्ने, कन्याम जाँदा चियाको बगान हेर्ने, ताप्लेजुङ जाँदा पाथीभराको दर्शन गर्ने, तेह्रथुम जाँदा गुराँस हेर्ने, सोलु जाँदा हिमाल हेर्ने, खोटाङ जाँदा हलेंसी दर्शन गर्ने भन्ने खालको स्पष्ट कुरा पर्यटकहरुलाई जानकारी दिनुपर्छ । ट्राभल रुटहरु पनि बनाउनु पर्छ ।

पर्यटन वर्ष मनाउने भनेर प्रदेश सरकारले महत्वका साथ कार्यक्रम बनाइरहँदा स्थानीय तहहरुसँग अहिलेसम्म गम्भीर छलफल गरेको छैन । केही छलफलहरु भए तर, त्यसको निष्कर्ष निस्किएको छैन । समय भएको हुनाले छिटो छलफल गरेर तयारी गर्नुपर्छ । त्यो छलफलमा मैले माथि उल्लेख गरेको कुरालाई नै विशेष ध्यान दिनुपर्छ । पर्यटकको चाहना बुझ्न सकिएन भने, पर्यटक के को लागि आएको छ भन्ने बुझेर उसको चाहना अनुसार गर्न सकिएन भने हामी फेल हुन्छौं । अर्को कुरा हस्पिटालिटीको कुरामा हामीले एकैपटक ठूलो केही गर्न सकिँदैन । पर्यटन वर्ष घोषणा गरेर मात्रै हुने पनि होइन । हाम्रा साना कमजोरीले पनि आइरहेका पर्यटकहरु नै बाधक बन्न सक्छन् । हामीले हाम्रा बोली, व्यवहार, उनीहरुलाई दिने सत्कार र उनीहरुको व्यवस्थापन महत्वपूर्ण कुरा हो । त्यसका लागि एउटा मापदण्ड बनाइयो भने पर्यटन वर्ष सफल हुन्छ । नभए हामी सफल हुन सक्दैनौं ।

हामीले बुझ्नै पर्ने अन्य कुरा पनि छन् । सबैभन्दा पहिले पूर्वाधार निर्माण गर्दा पानीलाई प्राथमिकता दिनुपर्छ । सन्दकपुरमा पानीको समस्या होला । पानी नहुँदा नुहाउन पाउँदैन । तातो र चिसो पानीको सुविधा हुँदैन भने त्यसबारे पहिल्यै जानकारी दिनुपर्छ । बाटोको अवस्था, बत्ती, पार्किङलगायतका व्यवस्थापनबारे पर्यटकलाई पहिल्यै जानकारी दिनुपर्छ । नयाँ ठाउँको मार्केटिङ गर्ने हो भने प्रदेश सरकारले स्थानीय सरकारसँग छलफल गर्नुपर्छ । भएकै ठाउँलाई फोकस गर्ने हो भने त्यस्ता ठाउँलाई के के आवश्यक छ ? त्यसलाई ध्यान दिनुपर्छ । यस्तै व्यक्तिगत हिसावले भन्ने हो भने काम गर्ने मान्छेहरु कस्ता छन् ? हेर्दै अल्छि लाग्ने छन्, मैला धैला, सामान्य मापदण्डहरु नअपनाएको, तालिमहरु नगरेका भए भने पनि पर्यटनमा असर गर्छ । त्यसकारण हामीले पर्यटन वर्ष मनाइरहँदा यस्ता कुरामा ध्यान दिनुपर्छ । कडा स्वभावका मानिसहरु फ्रन्ट डेस्कमा बसेका छन् भने पनि प्रभावित हुन्छन् । त्यहाँ राम्रो बोल्ने बानीको विकास गर्ने कुराहरु पनि हामीले ध्यान दिनुपर्छ ।
राई इलामको सूर्योदय नगरपालिकाका प्रमुख हुन् ।

आइतबार, ३० चैत, २०८१, दिउँसोको ०२:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर