विराटनगर । विराटनगरमा श्रृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी गरेर भारतमा विक्री वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।विराटनगरमा भइरहेको मोटरसाइकलको श्रृंखलाबद्ध चोरी गरेको आरोपमा गिरोहका मुख्य व्यक्ति विराटनगर १७ का २४ वर्षीय नौसाद अन्सारीसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ परेका अर्का व्यक्ति विराटनगर १७ कै वर्ष १७ का मो. सोयल आलम रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ परेका नौसाद मोटसाइकल चोरी आरोपमा पक्राउ परेका पटके हुन् । उनी यसअघि पनि चोरी आरोपमा पक्राउ परेका थिए ।
विराटनगरको ब्यस्त बजारमा राखिएको पार्किङ स्थलबाट पुरानो खालको मोटसाइकर चोरी गर्ने र भारतमा पुर्याएर विक्री वितरण गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी जोशीले बताए । पक्राउ परेको नौसादले चैत्र महिनामा मात्रै ११ वटा मोटरसाइकल चोरेर भारतमा बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ । ११ मध्ये प्रहरीले ६ वटा मोटसाइकल नियन्त्रणमा लिएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका प्रतिवादीलाई प्रहरीले सार्वजानिक गरेको हो । प्रहरीले नौसादसहित दुई जनालाई मंगबलार विराटनगर ७ अस्पताल चोकबाट कपडा पसल अगाडि पार्किङ गरेको प्र. १–०–२०४१ प ०३४० कालो रातो रङको होन्डा सिबी साइन मोटरसाइकल चोरी गर्ने क्रममा पक्राउ गरेको डिएसपी जोशीले बताए ।
प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि थप ५ वटा मोटरसाइकल भारतमा विक्री गरेको खुलेको छ । ‘त्यसपछि विक्री गरेको पाँच वटा मोटसाइकल पनि नेपाल भारतको सीमा क्षेत्र दरैया र टिकुलिया क्षेत्रबाट बरामद गरिएको छ’ डिएसपी जोशीले भने, ‘चोरी गरेको मोटरसाइकलहरु भारतमा लगेर विक्री वितरण गरेको पाईएको छ । त्यसपछि पीडितलाई फोन गरेर नौसादले फिरौति रकम पनि माग गरेको पाइएको छ ।’
सीसी टिभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । त्यस क्रममा मोटरसाइकल चोरी भएका केही सार्वजनिक स्थानका सिसी टिभीको दृश्य प्रहरीले अध्ययन गरेको थियो,’ डिएसपी जोशीले भने, ‘चोरी गर्नेलाई पक्राउ गर्न सिसि टिभी फुटेजले ठूलो सहयोग पुर्यायो ।’
प्रहरीका अनुसार नेपालमा चोरी गरेको मोटइकलको नम्बर प्लेट फालेर भारत लैजाने गरेको पाइएको छ । ‘नयाँ भन्दा पनि पुरानो खालको मोटसाइकल चोरी गर्ने गरेको पाइएको छ । पुरानो मोटरसाइलको लक तोड्न सजिल्लो हुने भएकोले पुरानो रोज्ने गरेका छन्,’ डिएसपी जोशीले भने ।
चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाईकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाईएको प्रहरीले जनाएको छ ।