विराटनगर । पाँचथरको कुम्मायकमा डडेलोमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ ताम्राखु जङ्गलमा लागेको आगोमा परेर ४ जना घाइते भएका थिए । गम्भीर घाइते भएकी २२ वर्षकी प्रतिमा सम्बाहाफेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बिनालाल साहा तेली जानकारी दिए ।
गम्भीर घाइते भएकी घाइतेको उपचारका लागि धरान पठाइएकोमा धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको हो । प्रहरी निरीक्षक साहाका अनुसार घाँस काट्न जङ्गलमा गएका बेला डडेलोमा परी उनी घाइते भएकी थिइन ।
घाँस काट्न गएका उनीसँगै चार जना डडेलोमा फसेका थिए । ‘जङ्गलमा आगो लागेको रहेछ उनीहरूले थाहा पाएनन्’, प्रहरी निरीक्षक साहाले भने ‘ हावाहुरीले एक्कासि उनीहरू भएकै ठाउँमा आगो ल्याएछ ।’ उनीहरू चारै जना सोही वडाका हुन् ।
डडेलोमा परि घाइते भएकी एक बालिका भने उपचारपछि डिस्चार्ज भएकी छिन् । २८ वर्षकी सपना सम्बाहाफे र ६० वर्षकी निरमाया सम्बाहाफेलाई उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम) धरान ल्याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै फिदिम नगरपालिका ११ को सामुदायिक बनमा लागेको आगोबाट नै घाइते भएका वर्ष ४७ कि उषा नेम्बाङ गम्भीर घाइते भएकी छिन् । उनलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ।