नेकपा एस मोरङको नवौं अधिवेशन आजदेखि अध्यक्षमा तीन आकांक्षी

विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला कमिटीको नवौं अधिवेशन मंगलबार(आज) देखि विराटनगरमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनले ९१ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

अध्यक्ष पदका लागि तीन जना नेता आकांक्षी देखिएका छन् । चन्द्रवीर राई, उद्धव पोखरेल र दीपक ढकाल अध्यक्षका दाबेदार देखिएका छन् ।

राई वर्तमान अध्यक्ष हुन् । पोखरेल जिल्ला कार्यसमितिमा उपाध्यक्ष छन् । ढकाल भने प्रदेश कमिटी सदस्य हुन् । अहिलेसम्म माधव नेपालको आशिर्वाद तीनैजना नेतालाई नदेखिएको बताइएको छ । ‘राईलाई माथिल्लो कमिटीमा लैजाने चर्चा चलेको छ, तर कुन कमिटीमा राख्ने भन्ने टुंगो लागेको छैन । पोखरेल र ढकालमध्ये जसलाई अध्यक्ष नेपालको आशीर्वाद मिल्छ, उसैले बाजीमार्ने हो,’ समाजवादीका एक नेताले भने ।

उपाक्षमा पनि तीजना आकांक्षी देखिएका छन् । भुपाल बस्नेत, वीरेन्द्र यादव र बिन्दुकला राई आकांक्षी देखिएका छन् । बस्नेत पार्टीको बेलबारी नगर कमिटीका अध्यक्ष हुन् । यसैगरी यादव विराटनगर महानगर कमिटी अध्यक्ष ।
सचिवमा भने धेरै नेता आकांक्षी देखिएका छन् । कार्यालय सचिव प्रेमराज भारती, ध्रुव डाँगी,प्रदेश कमिटी सदस्य राजेन्द्र सुवेदी, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरे र पथरी नगर कमिटी अध्यक्ष तुलसी ढकालले इच्छा व्यक्त गरेका छन् ।
उप–सचिवमा भवानी धमलाको नाम चर्चा रहेको छ ।

एमाले पार्टी फुटेपछिको पहिलो जिल्ला अधिवेशन हुन लागेको हो। नेकपा एमालेसँगै जोडेर एसले पनि नवौं जिल्ला अधिवेशन भनेको हो । पहिले २०३ सदस्यीय आयोजक कमिटी रहेको थियो । अधिवेशनमा ५८८ जनाप्रतिनिधि छनोट भएका छन् । अधिवेशन उद्घटनमा भने नेकपा एस मोरङले शक्ति प्रदर्शन नगरिने जनाएको छ । अधिवेशन उद्घाटन अगाडि पार्टी कार्यालय तीनपैनीबाट जुलुस निकालेर गणतन्त्रका पक्षमा नारा लगाउँदै कार्यक्रम स्थल होटल मनास्लु इनमा पुग्ने नेताहरुले जनाएका छन् । त्यस अवसरमा कम्युनिष्ट आन्दोलनमा योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरिने र विभिन्न व्यक्तिहरूको पार्टी प्रवेश कार्यक्रम पनि रहेको समाजवादीले जनाएको छ ।

अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले गर्नेछन् । महासचिव घनश्याम भुसाललगायतका नेताले अधिवेशनलाई सम्बोधन गर्नेछन् ।

मङ्गलबार, १८ चैत, २०८१, बिहानको ०९:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर