विराटनगर । त्रिभुवन विश्वविद्यालयका ४२ वटा आंगिक क्याम्पस र २५० भन्दा बढी सम्बन्धनप्राप्त कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । गत चैत ५ गतेदेखि सुरु भएर हालसम्म सम्पन्न भएको स्ववियु निर्वाचनमा ४२ वटा आंगिक क्याम्पसहरूमध्ये नेविसंघ १६, अनेरास्ववियु १३, अखिल (क्रान्तिकारी) १०, स्वतन्त्र १ र समाजवादी विद्यार्थी युनियनले एउटा क्याम्पसमा बिजयी भएका छन् । यस्तै पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि अनेरास्ववियुले जित निकालेको छ ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको थियो । उक्त मितिमा ३८ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सक्यो । त्योबाहेक अमृत साइन्स क्याम्पस, लैनचौर काठमाडौं र पृथ्वीनारायण क्याम्पस, पोखरा कास्कीमा आइतबार निर्वाचन भएको हो । त्यसअघि वीरगञ्जको वीरगञ्ज नर्सिङ क्याम्पस र काठमाडौंमा रहेको पद्मकन्या क्याम्पसमा समेत निर्वाचन सम्पन्न भएको थियो ।
यसअघि स्वतन्त्रको रूपमा निर्वाचन जितेका चितवन इन्जिनियरिङ क्याम्पस, चितवनका प्रज्वल अधिकारी र केन्द्रीय प्राविधिक क्याम्पस, धरानका पेशलराज कार्की क्रान्तिकारी प्रवेश गरेका छन् ।समाजवादीनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजको स्ववियु निर्वाचन जितेको छ । नेविसंघले हालसम्म ११५ वटा सम्बन्धनप्राप्त र १६ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन जितेको छ । अनेरास्ववियुले १०३ वटा सम्बन्धन प्राप्त र १३ वटा आंगिक क्याम्पसहरू स्ववियु निर्वाचन जितेको छ । त्यस्तै अखिल क्रान्तिकारीले ८५ वटा क्याम्पसमा स्ववियु निर्वाचन जितेको छ । क्रान्तिकारीले १० वटा आंगिक क्याम्पससमेत जितेको छ । यसअघि २०७३ साल र २०७९ सालमा निर्वाचनमा क्रान्तिकारीले ३–३ वटा आंगिक क्याम्पस मात्रै जितेको थियो । यो पटक भने एक्लै लडेर ६ वटा र २ वटामा गठबन्धन बनाएर लडेको थियो ।
२० वटा आगिंक क्याम्पसमा स्ववियु निर्वाचन हुनै बाँकी छ । तीमध्ये केहीमा स्ववियु निर्वाचनको मिति तोकिएको छ भने केहीको अनिश्चित छ । स्ववियु निर्वाचन जुन प्रक्रियाबाट रोकिएको हो, सोहीअनुसार तत्काल बढाएर निर्वाचन गराउन त्रिविले निर्देशन दिएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, शंकरदेव क्याम्पस, रत्नराज्य क्याम्पस (आरआर), त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, पाटन बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, शिद्धनाथ साइन्स क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी लगायत आंगिक क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन बाँकी नै छ ।