उद्योग क्षेत्रमा विद्युत कटौती बढ्ने चिन्ता

विराटनगर । भारतबाट आयात हुने विद्युत कटौती हुने भनी आएका सूचनाहरुका कारण औद्योगिक क्षेत्रमा नयाँ चुनौती देखापरेको छ ।

उद्योग संगठन मोरङले भारतबाट आयात हुने विद्युत बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा कटौती गरिने र औद्योगिक प्रतिष्ठानहरूमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ हुनसक्ने भन्ने समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“गत पुस महिनादेखि नै अघोषित रूपमा दैनिक ४–६ घण्टा विद्युत आपूर्ति कटौतीको समस्या झेलिरहेका औद्योगिक प्रतिष्ठानहरूलाई थप नोक्सानी पुग्नसक्ने भन्दै तत्काल समस्याको समाधान खोज्न उद्योग संगठन मोरङले नेपाल सरकार सम्बद्ध पक्षसँग जोडदार माग गर्दछ,” संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विगत पाँच–सात वर्षदेखि सुख्खायामका बेला विद्युत आपूर्ति अवरुद्ध हुँदा संगठनले यस्तै विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । तर यस वर्ष भारतले दिउँसोको समयमा मात्र विद्युत बेच्ने निर्णय लिएपछि उद्योग क्षेत्रमा लोडसेडिङ हुने र समय पनि बढ्ने चिन्तामा उद्योगीहरु परेका हुन् ।

विगतमा नेपाल विद्युत प्राधिकरणलगायत सम्बद्ध पक्षबाट ट्रान्समिशन लाइन निर्माण भइसकेको र आउँदा दिनमा उद्योगमा हुने विद्युत आपूर्तिमा अवरोध नहुने आश्वासन आइरहेको बेलामा पछिल्लो घटनाक्रमले उद्योगीहरुमा चिन्ता बढाएको हो । भारतले साँझको समयमा विद्युत उपलब्ध नगराउने भनि गरेको निर्णयका कारण उत्पन्न समस्या समाधान गर्न सरकारको तर्फबाट कुनै पनि ठोस पहल नभएकोमा उद्योगीहरुले आश्चर्य प्रकट गर्दै विद्युत समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ ।
औद्योगिक क्षेत्रमा अन्यौल बढ्यो

निजी क्षेत्रले सधैं अनुमानयोग्य औद्योगिक वातावरणको माग गर्दै आएको छ । “बजारमा कहिले तरलता अभाव, कहिले ब्याज वृद्धि, आर्थिक संकुचन एवं कहिले कसिलो त कहिले खुकुलो गर्ने नीतिगत अस्थिरताको चपेटामा परेको नेपालको औद्योगिक क्षेत्र हाल आएर पर्याप्त भनिएको विद्युत जस्तो आधारभूत तथा संवेदनशील स्रोतको उपलब्धतामा समेत आयातमा आश्रित हुनु पर्ने अवस्थाले अन्योलता बढेको छ,“ संगठनले भनेको छ ।

उद्योग संगठनले देशमै विद्युतको प्रचुर स्रोत हुँदाहुँदै पनि दीर्घकालीन सोच र आत्मनिर्भर कार्ययोजनाको अभावले औद्योगिक क्षत्रे प्रताडित बनिरहनु परेको भन्दै आक्रोशसमेत व्यक्त गरेको छ ।

ऊर्जा आपूर्तिमा अनिश्चितताको प्रभाव

“ऊर्जा उद्योगको आधारभूत कच्चापदार्थ हो । माग अनुसारको विद्युत नियमित आपूर्ति हुने सुनिश्चिततासँगै एउटा लगानीकर्ताले उद्योग कलकारखानामा लगानी गर्दछ,” संगठनले जनाएको छ । विद्युत आपूर्तिमा देखिएको अनिश्चितताका कारण उद्योगमा गरेको लगानी जोखिममा पर्ने मात्र नभई नयाँ लगानी समेत प्रभावित हुने चिन्ता उनीहरुले गरेका छन् ।

प्रत्येक वर्ष सुख्खा याममा दोहोरिने निरन्तर विद्युत आपूर्तिको समस्याका साथै भारतबाट आयात भइरहेको विद्युत आपूर्ति अवरुद्ध हुँदा उद्योग व्यवसायलाई निरन्तर विद्युत उपलब्ध गराउन प्राधिकरणको बनाइएका योजनाहरु सार्वजनिक गर्न संगठनले नेपाल सरकार, ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण समक्ष संगठनले माग पनि गरेको छ ।
“विद्युत आपूर्तिमा सुख्खा याममा हरेक वर्ष नै यो तहको विकराल समस्या थाहा हुँदाहुँदै पनि ठोस योजना ल्याउने भन्दा पनि सरकारका सम्बद्ध निकायहरू बिचमा नै आपसी द्वन्द्वको अवस्था हुनु दुःखद रहेको” भन्दै उद्योगहरूमा निरन्तर र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउन आवश्यक कदम चाल्न संगठनले नेपाल सरकारलाई अनुरोध समेत गरेको छ ।

बुधबार, ०५ चैत, २०८१, बिहानको ०९:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर