विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माणधीन केबलकारको विरुद्ध उत्रिएको समूह र सरकारीबीच उच्चस्तरीय वार्ता हुने भएको छ ।सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा रहेको समिति र आन्दोलनकारीबीच सोमबार भएको वार्तामा उच्चस्तरीय वार्ता गर्ने सहमति भएको हो ।
आफूहरुले पनि उच्चस्तरको लागि पहल गर्ने र आन्दोलनरत समूहले पनि उच्चस्तरको समिति बनाउने सहमति भएको सहसचिव भट्टराईले जानकारी दिएका छन् । आन्दोलनकारीले उठाएको विषय आफूहरुले सम्बोधन गर्न नसक्ने भएकोले उच्चस्तरीय समिति बनाएर वार्ता गर्ने सहमति भएको उनको भनाइ छ ।
नो केबलकार समूहबाट वार्तामा सहभागी आलोक माबोहाङले आफूहरुले एक मात्र प्रस्ताव केबलकार खारेजी राखेको र सरकारी समितिले हामीबाट सम्भव छैन भनेपछि सम्भव हुने समिति बनाउने निर्णय भएको बताए । उनका अनुसार अर्को वार्ता चैत ७ गते हुनेछ । नो केवलकार समूहबाट सरु सिंघक नेतृत्वको टोली वार्तामा बसेको थियो ।
सरकारी वार्ता टोलीका संयोजक भट्टराईले अनुसार सरकार, केबलकार निर्माण कम्पनी र आन्दोलनरत समूहसँग पुनः वार्ता हुनेछ । वार्ता टोली र आन्दोलरत समूहबीच यसअघि दुईपटक वार्ता भएको थियो । दोस्रो वार्तापछि सहसचिव स्तरीय समितिले आफूहरुको माग सम्बोधन गर्न नसक्ने भन्दै आन्दोलनरत समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
आन्दोलनका क्रममा १८ जना पक्राउ परेका छन् भने ९ जनालाई पक्राउ गर्न प्रहरीले अदालतको अनुमति लिएको छ ।