विराटनगर । नेपाल वार एशोसिएसनका पूर्व महासचिव तथा आसन्न निर्वाचनका अध्यक्ष पदका उम्मेदवार रमणकुमार श्रेष्ठले न्यायालयमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न नेपाल बारले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताएका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा कानुन व्यवसायीहरुसँग छलफल गर्दै श्रेष्ठले न्यायालयभित्र हुने भष्ट्राचार दिनप्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न सक्ने नेतृत्व आगामी निर्वाचनबाट छान्नु पर्ने बताएका हुन् ।
न्यायालयमा अहिले २९ प्रकारका विचौलीयाहरु रहेको अध्ययन प्रतिवेदनबाट स्पष्ट भएको भन्दै उनले केही वर्षअघिसम्म १९ प्रकारका विचौलीयाको पहिचान गरिएकोमा अहिले बढेर २९ प्रकारका विचौलीया सक्रिय रहेको बताए । उनले भने, ‘बिचौलीयाहरु कतिबेला बढ्छन् ? जतिबेला बिचौलीयाको धन्दा फस्टाउँछन् त्यतिबेला बढ्ने हो त्यसैले हामी भन्न सक्छौं न्यायालयमा भ्रष्ट्राचार मौलाएको छ र त्यसलाई नियन्त्रण गर्न नेपाल वार एशोसिएसनले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ, त्यो भूमिका खेल्न मेरो नेतृत्वको टिम सक्षम छ ।’
न्यायाधीशले गरेको फैसला घुस खाएर भएको छ कि नखाइ न्यायको सिद्धान्तमा आधारित छ भन्ने कुरा अध्ययन नगरी न्यायालयमा भ्रष्टाचार भए नभएको पहिचान नहुने भन्दै उनले विवादित फैसला अध्ययन समिति गठन गरेर न्यायालयमा भ्रष्टाचार रोक्न सकिने बताए । त्यसका लागि आफू प्रतिवद्ध रहेको र महासचिव हुँदा नै उक्त अभियान सुरु गरेकोमा संयोजक बस्ने व्यक्ति नै नपाएको उनले बताए । उनले मुलुक संकटपूर्ण अवस्थामा गइसकेको भन्दै अदालतको विपक्षीको रुपमा वारलाई उभ्याउने जिम्मेवारी आफूले वहन गर्ने बताए । उनले भने, ‘अदालतको विपक्षी दल हुँदैन, न्यायाधीशले गरेको फैसला कसैले अध्ययन गर्ने र प्रश्न उठाउने संरचना छैन यस्तो बेलामा भ्रष्टाचार हुनु स्वभाविक हुन्छ त्यसैले नेपाल वारले विपक्षी बन्ने आँट गर्नुपर्छ, त्यो आँट गर्ने नेतृत्व आवश्यक पर्छ ।’ उनले न्यायपालिका र न्यायपरिषद् दुवैको पुनर्संरचना गर्नु जरुरी भइसकेकोले नेपाल वारले पारित गरिसकेको उक्त मुद्दालाई आफ्नो नेतृत्वको टिमले दृढतापूर्वक अगाडि बढाउने विश्वास व्यक्त गरे ।
उनले नेपाल वारको निर्वाचनमा सरकारमा सहभागी राजनीतिक दलहरुबाट हस्तक्षेप भएको भन्दै त्यसको कडा निन्दा गरे । नेपाल वार एशोसिएसनमा उम्मेदवार छान्ने काम सम्बन्धित संगठनहरुको भए पनि बालुवाटारबाट उम्मेदवार छान्ने काम हुनु स्वतन्त्र न्यायपालिका र स्वतन्त्र वारका लागि विडम्बनापूर्ण भएको बताए । उनले अब सरकारले छानेका उम्मेदवारले जित्ने कि वकिलहरुले छानेको उम्मेदवारले जित्ने भन्ने फैसला विद्वान वकिलहरुले नै गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विराटनगरका वरिष्ठ अधिवक्ता देवीबहादुर घिमिरे, उद्धवचन्द्र घिमिरे, डिल्लीबहादुर कार्की लगायतले बोल्दै नेपाल वारमा राजनीतिक दल र गुटहरुको प्रभाव पर्न नहुने बताए । उनीहरुले नेपाल वारलाई नेतृत्व गर्नसक्ने योग्य सक्षम नेतृत्व छान्नु पर्ने भएकोले उम्मेदवारहरुको बारेमा गम्भीरतापूर्वक विचार गर्न सबैलाई आग्रह गरे ।
यस्तै गरी नेपाल वारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल वार र अदालतको बिचमा राम्रो सम्बन्ध नभइरहेको न्यायलयप्रतिको विश्वास अधोगतितर्फ लागिरहेको चुनौतीपूर्ण अवस्थालाई चिर्न श्रेष्ठ नेतृत्वको प्यानललाई विजयी गराउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा महासचिव पदका उम्मेदवार यज्ञमणि न्यौपाने, उपाध्यक्ष पदका उम्मेदवारहरु दिना श्रेष्ठ, पदमराज शर्मा, कर्णबहादुर राई, सदस्य पदका उम्मेदवारहरु संजुकुमारी साह र कला त्रितालले उम्मेदवारीको विषयमा आफ्ना धारणाहरु राखेका थिए ।
नेपाल वार एशोसिएसनको निर्वाचन यहि चैत २३ गते सम्पन्न हुँदैछ । उक्त निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्बन्धित वकिलहरुको संगठनसमेत कांग्रेस र एमालेका असन्तुष्ट कानुनव्यवसायीहरुको तर्फबाट पूर्वमहासचिव रमणकुमार श्रेष्ठको नेतृत्वमा व्यावसायिक कानुन व्यवसायी समूहले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ ।
निर्वाचन प्रचारमा रहेको यस समूहले संविधान संशोधन गरी न्यायपालिकाको पुनर्संरचना गर्न दबाब दिने, कानुन व्यवसायीको दक्षता बढाउन विशेष कार्यक्रम सञ्चालन गर्ने, कानुन व्यवसायीलाई सूचना प्रविधीमैत्री बनाउन भूमिका खेल्ने, कानुन व्यवसायीहरुको व्यावसायिक हक, हित, इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा गर्ने, स्वतन्त्र, सक्षम, जवाफदेही र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने तथा नेपाल वार एशोसिएसनको संस्थागत सुधार गर्ने आदि विषयहरुलाई प्राथमिकता दिएको छ । यो समूहला वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता शुसिलकुमार पन्तलगायत धेरै वरिष्ठ र नाम चलेका अधिवक्ताहरुको साथ र समर्थन रहेको देखिन्छ ।