विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरिएको निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार योगराज दाहाल, आयुष दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वास रहेका छन् ।
उनीहरूले बुधबार दिउँसो क्याम्पसभित्रको निर्वाचन कार्यालयभित्र आगजनी गरेर निर्वाचन अधिकृत डा। सुशील कुमार अधिकारीलाई थुनिदिएका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई विराटनगरस्थित मुनालपथ नजिकबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
‘क्याम्पसभित्रको निर्वाचन कार्यालयमा आगजनी गर्ने समूहलाई हामीले नियन्त्रणमा लिएका छौं । अहिले उनीहरूसँग घटनाको अनुसन्धान भइरहेको छ’, डीएसपी जोशीले भने।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई खेमाले छुट्टाछुट्टै मनोनयन दर्ता गरेपछि विवाद चुलिएको छ । महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेस नेता डा.शेखर कोइराला समूहका नै दुई नेता विभाजित भएपछि विवादले उग्ररूप लिँदै गएको हो ।
महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूको भनाइ अनुसार कोइराला पक्षका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की र कांग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइराला दुई समूहमा बाँडिएकाले विद्यार्थीबीच विवाद बढेको हो।
कार्की अर्थात् शेखर समूहबाट योगराज दाहाल र नागेशको समर्थन रहेको प्रज्वलजङ्ग विष्टको प्यानलले छुट्टाछुट्टै मनोनयन दर्ता गराएको छ। नागेश पक्षलाई नेविसंघ केन्द्रीय कार्यालयले आधिकारिकता दिएको थियो । त्यसपछि शेखर पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्र उम्मेदवारका रूपमा नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विद्यार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा आगजनी गर्दै तालाबन्दी गरेका हुन्।
नेविसंघका मोरङ सभापति सरोज पोखरेलले निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयको फर्जी लेटरप्याड प्रयोग गरी बनाइएको आधिकारिताका आधारमा मध्यरातमा स्वतन्त्र उल्लेख गरी नामावली प्रकाशन गरिदिएकोले विवाद बढेको बताए । ‘हाम्रो आधिकारिकतालाई चुनौती दिएकाले तालाबन्दी गरेका हौं’, उनले भने।
मोरङ क्याम्पसमा यसअघि इकाई गठनको विषयमा विवाद भएपछि नेविसंघका दुई खेमाबीच कुटाकुट भएको थियो।