विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का स्थानीय बासिन्दाहरू स्वच्छ खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। महिनौंदेखि धारामा लेदोसहितको धमिलो पानी आउन थालेपछि आक्रोशित स्थानीयवासीले मंगलबार वडा कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
आन्दोलनकारीहरूले वडा कार्यालयमा तालाबन्दी गरी आफ्नो विरोध प्रकट गरेका छन्। स्थानीय त्रिलोचन गौतमका अनुसार जनस्वास्थ्यमा गम्भीर असर पार्ने गरी दूषित पानी वितरण भएकोले उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।
‘बारम्बार खानेपानी संस्थान र विराटनगर महानगरपालिकालाई भन्दा पनि स्वच्छ पिउने पानी नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो,’ गौतमले भने‘अब हामी यस्तो फोहर पानीको महसुल पनि तिर्ने छैनौं र निरन्तर रूपमा खानेपानी संस्थान र महानगरविरुद्ध आन्दोलनमा उत्रिनेछौं।’
स्थानीय अर्जुन चुडालका अनुसार उनीहरूले खानेपानी संस्थानका कार्यालय प्रमुखलाई पटक(पटक जानकारी गराउनुका साथै कयौँ पटक प्रतिनिधिमण्डल पठाएका छन्, तर कुनै सुधार नभएपछि विरोधमा उत्रिएका हुन्।
समस्याको मूल कारण कन्चबारीमा फिल्टर प्लान्ट नहुनु रहेको छ। फिल्टर प्लान्ट स्थापनाका लागि खानेपानी संस्थानले महानगरपालिकासँग जग्गा माग गरेको भए पनि महानगरपालिकाले जग्गा उपलब्ध नगराएको खानेपानी संस्थानको भनाइ छ।
यस समस्याबाट वडा नं. ४ का करिब एक हजारभन्दा बढी घरधुरी प्रभावित भएका छन्। स्थानीयवासीहरू हाल विकल्पको रूपमा चापाकलको पानी फिल्टर गरेर प्रयोग गर्न बाध्य भएका छन्।






