विराटनगर । पहिलो सन्तानको रूपमा छोरी जन्मिइन् । विवाह भएको चार वर्षपछि छोरी जन्मिएपछि अर्को सन्तान जन्माउने सोच त्यागी, छोरीलाई उच्च शिक्षा दिने र उज्ज्वलभविष्य बनाउने संकल्प गरे ।
तर, उनले सोचेभन्दा फरक परिस्थिति आयो— ‘छोरी प्रियंका बौद्धिक अपाङ्गता
की पीडित बनिन् । चिकित्सकहरूले उपचार सम्भव रहेको बताएपछि विगत १८ वर्षदेखि नेपाल र भारतका विभिन्न अस्पताल धाइरहेको छु,’ ५१ वर्षीय कुमोद रामले भने । सुनसरीको धरान–१६ समीचोकमा जुता मर्मत गर्दै आएका कुमोद रामले नेपाली नागरिकता नभएकाले झन् ठूलो सास्ती खेप्नु परिरहेको छ । प्रियंकाको उपचारको लागि आमा निमल देवी र बुवा कमोदलाई महंगो उपचारको जोहो गर्न बिहानैदेखि काममा जानुपर्ने बाध्यता छ ।
तीन पुस्तादेखि धरानमा बसोबास
कुमोद तीन पुस्तादेखि धरानमै बस्दै आएका भए पनि उनीसँग नेपाली नागरिकता छैन । नागरिकता बनाउने बेला बिरामी परेकाले परिवारका सबै सदस्यको नागरिकता बने पनि उनको बन्न सकेन । अस्पतालबाट फर्केपछि नागरिकता बनाउने सोच थियो, तर विस्तारै बनाउँला भन्ने क्रममा आजसम्म बनाइएन । छोरीको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएपछि दाजुले ‘छोरी’ भन्दै प्रियंकाको जन्मदर्ता बनाइदिएका थिए । जन्मदर्ताका आधारमा उनले अपाङ्ग भत्ता पाउन थालिन् । तर, नागरिकता नहुँदा अहिले सबै सुविधा बन्द भएपछि झन् सास्ती भोग्नु परिरहेको छ ।
नागरिकता भए सहज हुने आशा
‘उच्च शिक्षा दिने सोचेर अर्को सन्तान जन्माएनौँ, अहिले पछुतो लाग्छ’ कुमोद भन्छन् । प्रियंका मस्तिष्कको दायाँ नसासम्बन्धी समस्याले ग्रस्त छिन् । जसका कारण एक जना दिनभर उनलाई स्याहार्नुपर्ने हुन्छ । महिनाको ८ हजार रुपैयाँ औषधि खर्च मात्र छ ।प्रियंकाकी आमाले सुत्केरी सेवा र घरायसी काम गरेर जीविकोपार्जन गर्दै आएकी छिन् । ‘मेरो नागरिकता नभएकाले प्रियंकाको दाजुले जन्मदर्ता बनाइदिएका थिए । तर, दाजुको निधनपछि भाउजु श्यामदेवी मोचीको कारण छोरीले पाउने सबै सुविधा रोकियो’ रामले गुनासो गरे ।१८ वर्षकी प्रियंका अहिले पूर्ण रूपमा बाबुआमाको भरमा छिन् । ‘नागरिकता हुन्थ्यो भने कम्तीमा उपचार खर्चमा राहत पाइन्थ्यो,’ कुमोद भन्छन्, ‘मपछि छोरीको के हुन्छ भन्ने चिन्ताले सताइरहेको छ । तीन पुस्तादेखि यहीँ बसे पनि हामी अनागरिक बन्यौँ ।’
उचारमा २० लाख भारु खर्च,
प्रियंकाको उपचारका लागि भारतको दिल्लीदेखि सिलिगुडीका विभिन्न अस्पतालमा करिब २० लाख भारु खर्च गरिसके पनि खासै सुधार नआएको कुमोदले बताए । अहिले धरानस्थित घोपा क्याम्पमा उपचार गराइरहेका छन् । ‘श्रीमती बिहानै घरेलु काममा जान्छिन्, म छोरी स्याहार्दै जुता मर्मत गरेर गुजारा चलाइरहेको छु’ उनले सुनाए । साँझ–बिहान हातमुख जोड्न गाह्रो रहेको उनको परिवारले पैसा नभएकै कारा छोरीको उपचार गर्न सकेको छैन ।