बिहे’ इच्छाएको कानुनी सम्बन्ध

 सीमा आभाष

अब, बिहे जबर्जस्तीले चल्ने सम्बन्ध होइन । पूर्णरूपमा मनखुसीको सम्बन्ध हो । बिहेलाई बन्धन भनिनुको कारण मन र मनको बन्धन हो । यस्तो बन्धनले मनलाई शान्ति र आत्मानिष्ठा लगायत हामीले भन्न र जान्न नसकेका तर बाँच्न उपयोगी कुरा पनि दिन्छ । यदि दिएन भने टाटा बाइबाइ गर्ने जमात आयो ।

अर्को पाटोबाट हेर्दा, बिहे भनेको विधिपूर्वक शासक र शासित निर्माण गरेर एक छानामुनि ल्याएर समाज चलाउने प्रमुख अस्त्र हो । जसलाई धर्म, संस्कार, संस्कृति, रितीरिवाज, परम्परा, चालचलन, इत्यादि नामले पुकारिन्छ । ती पुकारिने बिषयले श्रीमतीमाथि श्रीमानलाई शासन गर्ने र श्रीमतीले श्रीमानको शासनलाई स्वीकार गर्ने स्थिति निर्माण गरिदिन्छ । त्यसैले समाज चलेको छ । समाज चलाउनको लागि निर्माण गरिएको सैद्धान्तिक राजनीतिको नाम बिहे हो ।

समय, काल, परिस्थिति, चेतना अनुरूप बिहेका आयामहरू परिवर्तन हुँदै आएका छन् । परिवर्तनलाई अस्वीकार गर्नेहरूले (खास गरि महिलामाथि) आक्षेप लगाइरहेका हुन्छन् । जस्तैः– सिन्दुर, पोते नलाएर धर्म छाडा भए ।अहिले बिहेमा श्रीमान् सत्ताको शक्ति र श्रीमती विपक्षीको शक्ति जस्तो लाग्छ । सत्ताले जहिले पनि आफ्नो शक्ति विरूद्ध विरोधका रूपमा आएका आवाजलाई मत्थर पार्न त्यसको रूप अलग तर चुरो उही बनाइरहेको हुन्छ । जस्तैः– गुन्द्रुक पकाउनु पर्दैन साली फकाउनु पर्दैन भन्ने उखान बोल्न डराउँछन् । तर, सालीले बेहुलाका जुत्ता दुइटै हातले बोकेर गालामा टाँसेको फोटो भाइरल बनाउँछन् । पैसाको बार्गेनिङ गर्छन् । यहाँ स्वरूप मात्र परिवर्तन गरियो । सालीमाथिको भिनाजु शासनको मजा लिन कुनै कसुर बाँकी रहदैन ।

बेहुलीले बेहुलाको गोडामा टाउको गाडिरहेर पैसाको निम्ति थापेको हात अनि बेहुलाले अलेली थपिदिने पैसा र अरूले हेरेर लिने मजा बडो अश्लिल देखिन्छ । यदि श्रीमान र श्रीमतीबीचमा कुनै अश्लिल सम्बन्ध हुन्छ भने यहि दृश्य अश्लिल हो । त्यस्ता अश्लिल दृश्य गिनेचुनेकाले सार्वजनिक नगर्नु धेरै जाती हुन्थ्यो ।

त्यति मात्र हैन, महिलाहरू महान हुन्छन्, संस्कारी हुन्छन् भनिदिएपछि अनेकन तरहले महान बन्न हामी प्रयत्नरत हुन्छौँ । महान बन्नको निम्ति आत्मास्वाभिमान, आत्मारक्षा, अस्तित्व… जीवनका यी आधारलाई बेवास्ता गर्छौँ । आफ्नै गोडाले आफू हुनुको आत्माबोधलाई कुल्चन्छौँ र श्रीमानका गोडा ढोग्छौँ । पानी खान्छौँ अनि गर्वकासाथ मिडियामा बोल्छौँ ।

अबका श्रीमानश्रीमतीका बीचमा त एकअर्का प्रतिको समर्पण हुने हो; प्रेम र स्नेह हुने हो; श्रद्धा र सम्मान हुने हो; स्वाभाव र रूचीलाई बुझ्ने हुने हो; सहयोग र अभिमानरहित हुने हो; प्रेरक हुने हो; दुःख र सुखको साक्षी र भागिदार हुने हो; अन्योन्याश्रित पो बन्ने हो । मालिक र दास; शासक र शासित; पीडित र पिडक हुने होइन नि ! त्यसैले अबका बिहे धार्मिक नभएर इच्छाएको कानुनी सम्बन्ध हो ।

सेलिब्रेटीहरूले गरेको कामले समाज र समुदायमा प्रत्यक्ष असर पार्छ । बिहेमा अनावश्यक भावुक बनेर महिला सेलिब्रेटीले गोडा ढोगेको धार्मिक गर्व पनि नगरून् । सम्बन्ध विच्छेदपछि कानुनले दिएको सम्पत्तिमाथिको कानुनी अधिकारलाई लिन्न भनेर महान बन्न पनि नखोजुन् ! सम्बन्ध विच्छेदपछि गोडा ढोगेको; गोडाको पानी खाएको फिर्ता गर्न मिल्दैन । त्यसैले यस्ता काम नगर्नू ।
समय र आफूलाई पनि चिनुन् ! कानुनी अधिकार र महान बन्ने ढोंग गर्नु बिल्कुल अलग बिषय हो । आफूलाई न्याय नगर्नेले सार्वजनिक जीवनमा आएर समाजलाई कसरी न्याय गर्छन् !महिला समूदायहरू हो ! धेरै भावुक बन्ने काम बन्द गर ! बिहेमाथि कहिले के पहिरो खस्छ के थाहा !

बिहिबार, २४ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर