भोजपुर । भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको पक्की पुल १४ वर्षदेखि अलपत्र छ ।करिव चार करोड खर्च भएपछि पुल २०६७ सालबाट निर्माण थालिएकोमा अझै सम्पन्न नभएको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।
‘पुल निर्माणको काम १४ वर्षबाट अलपत्र छ,’ वडाध्यक्ष विसुन्केले भने, ‘राज्यको करिव चार करोड खर्चपछि काम अलपत्र पारिएको अवस्था छ ।’ यो पुल बनिदिए स्थानीयबासीलाई राहत हुने उनको भनाइ छ ।
अरुणमा १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माण कम्पनीले २०६७ सालदेखि पुल निर्माण सुरु गरेको थियो । सम्झौता अनुसार पुल २०७० सालमा सक्नुपर्नेमा निर्माण कम्पनीले काममा ढिलाई गरेपछि राज्यको तर्फबाट ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटार प्रमुख शुभाञ्जन दाहालले जानकारी दिए ।
२०७८ सालमा ठेक्का रद्द प्रक्रियामा गएपछि निर्माण कम्पनीले हालेको मुद्दामा कार्यालयको पक्षमा फैसला भएको छ । फैसलापछि पनि निर्माण कम्पनीले क्षतिपूर्तीको माग गर्दै पुनः अदालतमा रिट दायर गरेकोमा अदालतले उक्त रिट सदर गरेकाले तीन सदस्यीय मध्यस्तकर्तामार्फत समस्या समाधन प्रक्रियामा रहेको उनको जानकारी दिए ।
अहिले कम्पनीको धरौटी बापतको ७७ लाख रकम रोक्का रहेको छ । क्षतिपूर्तीको लागि अदालतले निर्माण कम्पनीको पक्षमा फैसला गरेकोले त्यसको समाधान गर्ने प्रयास भइहरेको सडक कार्यालयको भनाइ छ ।