विराटनगर । कोशी प्रदेशको प्रदेशका प्रदेश प्रमुख र उनको सचिवालयका कर्मचारीले तलब, भत्ता बाहेकका सेवा सुविधामा सात वर्षको अवधिमा ९० लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छन् । स्थापनाकालदेखि हालसम्म नियुक्त भएका तीन जना प्रदेश प्रमुखको कार्यकालमा उक्त रकम खर्च भएको हो । नियमित तलब, भत्ता बाहेकको सेवा सुविधामा सचिवालयबाट ९० लाख १८ हजार ९४७ रुपैयाँ खर्च गरिएको पाइएको हो ।
प्रदेशको पहिलो प्रदेश प्रमुखमा गोविन्दबहादुर तुम्बाहाङ भएका थिए । उनले आर्थिक वर्ष ०७४-०७५मा दैनिक भ्रमण भत्ता (टिएडिए) ७५ हजार ५०० रुपैयाँ बुझेका थिए भने त्यही आवमा पोसाक भत्ताबापत १८ हजार बुझेका थिए । चाडपर्व र पोसाक मार्फत उनले ९३ हजार ५०० रुपैयाँ बुझेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
यस्तै उनले आर्थिक वर्ष ०७५-०७६ र ०७६-०७७ मा भने टिएडिए चाडपर्व अतिथि खर्चमा १० लाख ३१ हजार ४९० रुपैयाँ खर्च गरेका छन् । उनी २०७४ माघ ५ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए भने २०७६ कात्तिक १७ गते पदमुक्त भएका थिए । २० महिनाजति प्रदेश प्रमुख भएका तुम्बाहाङले तलब बाहेक ११ लाख २४ हजार ९९० रुपैयाँ टिएडिएमा खर्च गरेका छन् । उनी नेपाली कांग्रेसका तर्फबाट नियुक्त भएका थिए ।
सोही अवधिमा उनको सचिवालयले भने प्रदेश प्रमुखको भन्दा बढी सेवा सुविधा बुझेको छ । टिएडिएमा ६ लाख ६० हजार २९५ र चाडपर्व खर्चमा ५ लाख ४८ हजार ३२० रुपैयाँ लिएको देखिन्छ । सचिवालयका नाममा १२ लाख ८ हजार ६१५ रुपैयाँ तलब बाहेक सरकारले अतिरिक्त खर्च गरेको छ ।
तुम्बाहाङ पदमुक्त भएपछि २०७६ कात्तिक १७ गते सोमनाथ अधिकारी प्यासी दोस्रो प्रदेश प्रमुखको रुपमा नियुक्त भए । उनी नेकपा एमालेका तर्फबाट प्रदेश प्रमुख नियुक्त भएका थिए । उनी २०७८ कात्तिक २२ गतेसम्म प्रदेश प्रमुख भएका थिए । २ वर्ष प्रदेश प्रमुख भएका अधिकारीले ३ लाख ३१ हजार टिएडिए बुझेका छन् भने पोशाक खर्चवापत ३६ हजार र चाडपर्व खर्चवापत १ लाख ४८ हजार ४०० रुपैयाँ बुझेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाले जानकारी दिइन् । उनले २ वर्षको अवधिमा अतिरिक्त सेवा सुविधा मार्फत १४ लाख ८४ हजार बुझेका छन्
उनको सचिवालयले भने सोही अवधिमा ११ लाख ६३ हजार २५५ रुपैयाँ खर्च गरेको छ । सचिवालयका कर्मचारीले टिएडिएमा ७ लाख ७६ हजार ९४५ रुपैयाँ खर्च गरेका थिए भने चाडपर्व शीर्षकमा ३ लाख ८६ हजार ३१० रुपैयाँ खर्च गरेका थिए ।
यस्तै २०७८ कात्तिक १९ गते तेस्रो प्रदेश प्रमुख भएका पर्शुराम खापुङले भने अतिरिक्त सेवामा सबै भन्दा बढी खर्च गरेका छन् । तीन वर्षको अवधिमा उनले ५ लाख ६९ हजार १७९ रुपैयाँ टिएडिएबापत बुझेका छन् भने पोसाकमा ५४ हजार र चाडपर्ववापत १ लाख ४८ हजार ४८० रुपैयाँ भुक्तानी लिएका छन् । अतिथि सत्कारमा भने उनले १२ लाख ८८ हजार खर्च गरेको पाइएको छ ।
उनको सचिवालयका सदस्यले भने १९ लाख ७८ हजार ४०३ रुपैयाँ अतिरिक्त सेवा सुविधा बुझेका छन् । टिएडिएमा ११ लाख ३६ हजार ३२२ र चाडपर्व खर्चमा ८ लाख ८२ हजार भन्दा बढी बुझेका छन् । खापुङ जनता समाजवादी पार्टी नेपालका तर्फबाट नियुक्त भएका थिए ।