माओवादीको हुलाकी राजमार्ग अभियान १२ फागुनदेखि


विराटनगर । फागुन ३ गतेबाट सञ्चालन गर्ने तय भएको नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित अभियान फागुन १२ गतेबाट सुरु हुने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट सुरु हुने अभियान १२ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘१२ फागुनदेखि झापाको कचनकवलबाट अभियान सुरु गर्दैछौं, यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ’ पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने । गत पुसमा बसेको पार्टीको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने र त्यसपछि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।

बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यको कार्यविभाजन पनि गरेको छ । उपाध्यक्षहरु यसअघि प्रदेश इञ्चार्ज रहेकोमा उनीहरुलाई हटाएर महासचिवभन्दा मुनिका पदाधिकारीलाई विशेष प्रदेशसहित १० प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
जस अनुसार कोशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमास्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् । यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् ।

सोमबार, २१ माघ, २०८१, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर