बन्दले दोस्रो दिन पनि जनजीवन प्रभावित,दुबै पक्ष वार्तामा बस्न तयार

विराटनगर । संघीय सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण भइरहेको केबलकारको विरोधमा आन्दोलन गरिरहेकाहरूलाई वार्तामा आउन आव्हान गरेसँगै आन्दोलनरत पक्षले पनि वार्ता समन्वय टोली गठन गरेको छ ।
आन्दोलनरत पक्षले अमर तुम्याहाङ्गको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा राम मादेन, सरु सिंघक र शंकर सुब्बा सदस्य रहेका छन् ।

सहसचिव स्तरको समितिले निकास दिन नसक्ने बताउँदै आन्दोलनरत समूहका प्रेम एक्तेनले यद्यपी सहजीकरण समिति बनाएको बताए । किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्षसमेत रहेका उनले संघीय सरकारसँग मात्र वार्ता गर्ने आफूहरुको धारणा रहेकोले सरकारले थोरै भएपनि पहल लिएको बताए । तर, सहसचिवको तहबाट समस्या समाधान नहुने भएकोले राजनीतिक तहको वार्ता समिति बन्नुपर्ने उनको भनाइ छ ।

‘राजनीतिक रूपमै वार्ता समिति बन्नुपर्छ, त्यो तहले मात्रै निष्कर्ष लिनसक्छ’ उनले भने, ‘किनभने यो खारेजीको कुरा भयो नि त ।’ उनले वार्तामा बस्नको लागि आफूहरुका सर्तहरू पुरा हुनुपर्ने पनि बताए । गृह मन्त्रालयले गठन गरेको समितिसँग कुरा गर्नका अहिले टिम बनाएको जानकारी दिँदै उनले मुक्कुमलुङ क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई फिर्ता गर्ने, केबलकार निर्माण रोक्ने र गोली चलाउनेलाई छानबिन गरेर कारबाही गर्नुपर्ने पूर्वसर्त रहेको बताए ।

सरकारले आइतबार गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका उपसचिव छन् । वार्ता टोली गठन भएसँगै सरकारले सोमबार आन्दोलनरत पक्षलाई वार्ताका लागि औपचारिक आव्हान गरेको थियो ।

पाथीभरा क्षेत्रमा केवल कार निर्माण सुरु भएसँगै साँस्कृतिक भूमि अतिक्रमण हुने भन्दै विरोध सुरु भएको थियो । माघ १२ गतेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा गोली लागेर तीन जना घाइते भएका थिए । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।

आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर कोरिडोर बन्द गरेका आन्दोलनकारीले आइतबार र सोमबार अरुण पूर्वका ९ जिल्ला बन्द गराएका छन् ।

बन्दका कारण त्यस क्षेत्रको सवारीका साधन चल्न सकेका छैनन् । तमोर कोरिडोर र मेची राजमार्ग बन्द आव्हान गर्दा न सरकारले केवल कार बनाउने कम्पनीलाई काम रोक्न नलाएको भन्दै हिजोबाट अरुण पूर्वका नौ जिल्ला बन्द गरिएको छ । बन्दका कारण पहाडी जिल्लाको यातायात ठप्प भएको छ । यातायात बन्दको प्रभाव इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा समेत परेको छ । झापामा भने बन्दको प्रभाव कम रहेको प्रहरीले जनाएको छ ।

बन्दको क्रममा प्रहरीले सुनसरीको धरानमा ६ जना आन्दोलनकारीलाई पक्राउ गरेकोमा अझै छाडेको छैन । भानुचोकबाट आइतबार जसपाका नेता सुमन चेम्जोङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा धरान–१२ का सरिन घले, धरान–१० का विशन राई, धरान–१५ का योगेश तामाङ, धरान–१५ का संदिप लिम्बू, धरान–१५ का दिवश राई रहेका छन् ।
आन्दोलनरत पक्ष वार्तामा बस्न अघि केबलकारको लाइसेन्स खारेजी, सशस्त्र प्रहरी र जनपथ प्रहरी फिर्ता, पक्राउ परेकाहरू निशर्त रिहाइ र घाइतेहरूलाई निःशुल्क उपचारको माग पुरा हुनुपर्ने अडानमा छ । पहिचानवादी मोर्चाका युवा नेता सुनसरीका संयोजक जेन्टल लावतीले आइतबार दिउँसो प्रहरीले पक्राउ परेका आन्दोलनकारीहरूलाई साँझ छोड्ने समझदारी भएपनि माथिल्लो तहको निर्देशन भन्दै छाडिएको छैन ।

पाथीभरा मन्दिरलाई लक्ष्य गरी फुङलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७ किलोमिटर लामो केबलकार बन्दै गरेको छ । आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् अवस्थामा राख्नुपर्ने माग गर्दै आएका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर केबलकार निर्माणको काम थालेको थियो ।

सोमबार, २१ माघ, २०८१, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर