विराटनगर । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप मोरङमा दुई चरणमा सुरू गर्ने तयारी गरिएको छ । माघ २३ गतेबाट पहिलो र माघ २७ गतेबाट दोस्रो चरणको एचपिभी खोप अभियान सुरु हुने भएको हो ।
स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी दुई चरणमा गरेर मोरङमा ६ देखि कक्षा १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका ६१ हजार १०७ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी खोप लगाउने लक्ष्य रहेको खोप अधिकृत उत्सव पोखरेलले जानकारी दिए । पहिलो चरणमा २३ माघदेखि विराटनगर महानगरपालिका, लेटाङ, बेलबारी, सुन्दरहरैंचा नगरपालिका, मिक्लाजुङ, बुढीगंगा, ग्रामथान, केराबारी गाउँपालिकामा खोप लगाउने उनले बताए । त्यसैगरी माघ २७ गतेबाट पथरीशनिश्चरे, उर्लाबारी, सुनवर्षी, रंगली, रतुवामाई नगरपालिका, कानेपोखरी, धनपालथान, जहदा र कटहरी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने बताइएको छ ।
मोरङमा लगाइने सबैभन्दा बढी खोप केन्द्र विद्यालयमा हुनेछन् । ६१ हजार १०७ मध्ये विद्यालयको खोप केन्द्रहरुबाट ५० हजार ५९७ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिइएको छ । विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १० हजार ५१० जना छन् । उनीहरुलाई समुदायस्तरमा स्थापना गरिएको खोप केन्द्रबाट खोप लगाउने तयारी गरिएको छ ।खोप अधिकृत पोखरेलका अनुसार ६१३ विद्यालयमा खोप केन्द्र रहने छन् । त्यस्तै १६४ स्वास्थ्य संस्था केन्द्र, ७७ सामुदयस्तरमा गरी जम्मा ८५४ खोप केन्द्रहरुबाट किशोरीहरुलाई खोप लगाउने तयारी गरिएको उनले बताए ।
२१ माघदेखि मोरङको पालिकाहरुमा खोप पठाउन सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सरकारले किशोरीलाई सानै उमेरबाट नै पाठेघरको क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गर्न लागेको हो ।हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको बताइएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनाले हुने गर्दछ । नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।