कोशी बन्दको आंशिक प्रभाव, १४ जना पक्राउ, एउटा गाडी तोडफोड

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमकबाट ८ जना र सुनसरीको धरानबाट ६ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणमा अवरोध गर्ने क्रममा प्रहरीले गोली चलाएको घटनाको विरोध गर्दै आन्दोलनकारीले कोशी प्रदेश बन्दको आव्हान गरेका थिए । उक्त बन्दको आंशिक प्रभाव परेको छ । ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झडप हुँदा गत माघ १२ गते शनिबार १९ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएका थिए । झडपका क्रममा प्रहरीले गोली लागेर यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वा शक्त घाइते बनेका थिए । उनीहरुको अहिले पनि काठमाडौंमा उपचार भइरहेको छ । सो घटना भएको तेस्रो दिन आन्दोलनकारीका अगुवा प्रदिप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।

गोली लागे घाइते भएकाहरुको उपचार र जीवन निर्वाहभत्ताको माग गर्दै नो केबलकार समूहले प्रदेश बन्दको आव्हान गरेका हुन् । उनीहरूले केलबकार निर्माणको काम स्थगित गर्दै त्यस क्षेत्रबाट सशस्त्र प्रहरी हटाउनु पर्ने बताउँदै आएका छन् । यस्तै पक्राउ परेका आफ्ना समर्थक छोड्नुपर्ने उनीहरुको माग छ ।

बन्दको कारण आइतबार ताप्लेजुङ, पाँचथरमा पूर्ण प्रभाव देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार संखुवासभा, इलाम, धनकुटा र तेह्रथुम, झापा, सुनसरी र मोरङमा पनि कमै प्रभाव परेको छ । यस्तै उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको यातायात क्षेत्रमा भने खासै असर नपरेको कोशी प्रदेश प्रहरी कार्यालयका एसपी दिपक पोखरेलले जानकारी दिए । उनले झापाको दमकमा ८ जना र सुनसरीको धरानबाट ६ जना पक्राउ परेकाहरुलाई त्यहाँको अवस्था र परिस्थिति अनुसार आवश्यक अनुसन्धान पछि छोडिने बताए ।

बन्दको क्रममा झापाको दमकमा भने झडप भएको छ । दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरुलाइृ हटाउन बल प्रयोग गरेको थियो ।

त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोमा क्षति पुगेको एसपी पोखरेलले जानकारी दिए । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।

आइतबार, २० माघ, २०८१, साँझको ०६:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर