न्यूरो सर्जन डाक्टर रोकालाई एनएमएको सम्मान

विराटनगर । चर्चित वरिष्ठ न्यूरो सर्जन डाक्टर यामबहादुर रोकालाई सम्मान गरिएको छ । नेपाल चिकित्सक संघ (एनएमए) कोशी प्रदेशले रोकालाई बिहीबार सम्मान गरेको हो ।

विराटनगरमा बसेर पूर्व क्षेत्रमै न्युरो सर्जरी सेवा विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेका डाक्टर रोका विराटनगर छोडेर पोखरा जाने भएपछि एनएमएले सम्मान गरेको महासचिव डाक्टर बालकृष्ण साहले बताए । डाक्टर रोकालाई एनएमए कोशी प्रदेशका अध्यक्ष डाक्टर राजेन्द्र चौधरीसहित कार्यसमितिले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै डाक्टर यामबहादुर रोका स्वास्थ्य क्षेत्रमा बिर्सिन नसकिने नाम रहेको बताए । बागलुङमा जन्मिएका चर्चित न्युरो सर्जन ५२ वर्षीय रोका चिकित्सकीय सेवाका क्रममा २४ वर्षअघि पूर्व आए । केही वर्ष सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरे । विगत १५ वर्षदेखि विराटनगरको न्युरो अस्पतालमा कार्यरत थिए । डाक्टर उपेन्द्र देवकोटाको टिममा रहेर काठमाडौंको वीर अस्पतालमा पनि काम गरेको अनुभव उनीसँग छ ।
विराटनगर बसेर चिकित्सकीय क्षेत्रमा लामो समयसम्म प्रभावकारी हिसाबले योगदान दिएका डा. रोकाले अब भने आफ्नै गृहप्रदेश गण्डकी गएर सेवा दिने छन् । उनले अब पोखराको गण्डकी मेडिकल कलेजमा न्युरो सर्जरीको प्रोफेसरका रूपमा रहने छन् । उनी हाल नेपाल न्युरो सर्जरी समाजको अध्यक्ष हुन् । काठमाडौं बाहिर पहिलोपटक न्युरो सर्जरी सेवा विस्तार गर्न विशेष योगदान दिने चिकित्सकमा डा. रोकाको नाम आउँछ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डा.नवीनकुमार कर्णले डाक्टर रोकासँग वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहँदादेखिको सम्बन्ध रहेको र कैंयौं स्वास्थ्य शिविरमा त्यतिबेला सँगै काम गरेको समेत सम्झना रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले पूर्व क्षेत्रमा न्युरो सर्जरी सेवा विस्तारमा डा. रोकाको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।

शुक्रबार, १८ माघ, २०८१, दिउँसोको १२:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर