विराटनगर । एक हप्ताको कार्यक्रम लिएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर ओर्लिइन् । उनी विराटनगरस्थित विग होटलमा बसिरहेकी छन् । सोही होटलमा बिहान बेलुका एमालेका कार्यकर्ता र शुभचिन्तक भेट्ने गरेकी उनी दिउँसो भने विभिन्न कार्यक्रममा सहभागी हुन्छिन् ।
उनले विद्यार्थी, महिला र शिक्षा क्षेत्रका अगुवाहरूसँगको भेटघाटलाई बलियो बनाइरहेकी छिन् । होटलमा उनलाई भेट्न आउनेलाई समय व्यवस्थापन गर्न नै समस्या पर्ने गरेको एमालेका नेता सोम थापाले बताए । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने चर्चाबीच विराटनगरको उनको बसाइँलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भण्डारी स्वयंले पनि आफू एमालेको राजनीतिमा फर्किने प्रस्ट संकेत दिइसकेकी छन् ।
बुधबारदेखि उनी खुलेरै एमाले नेतृत्वको विपक्षमा देखिएकी भेटघाटमा सहभागी नेताहरूले बताएका छन् । बुधबार बिहान बुद्धिजीवीहरूसँगको भेटघाट उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘विराटनगरमा म आएको देखेर काठमाडौंमा भूकम्प गएको’ भन्ने टिप्पणी गरेकी थिइन् ।
‘उहाँले एमाले अध्यक्षको नाम त लिनु भएन तर, म यहाँ आएर सक्रियता देखाउँदा काठमाडौंमा भूइँचालो गएको छ भनेर भन्नु भयो’, भेटघाटमा सहभागी भएका एक नेताले भने, ‘उहाँको कुरा बुझ्दा सक्रिय राजनीतिमा आउने देखियो ।’ त्यसको असर भने देखिइसकेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताइसकेका छन् ।
बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मुलुककै अभिभावक भइसकेको व्यक्ति पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने प्रतिक्रिया दिएका थिए । बुद्धिजीवी परिषद्सँगका प्रतिनिधिसँगको भेटघाटमा भण्डारीले ‘पार्टीको नेतृत्वमा आउनका लागि साथीहरूले जोड गरिरहेको’ प्रतिक्रिया समेत दिएकी छिन् । ‘म राजनीतिबाटै आएको हो । मलाई राजनीतिले नै यहाँ र्पुयाएको हो । म सक्रिय राजनीतिमा चाहिँ लाग्छु कि लाग्दिनँ भन्ने बारेमा सोचेको छैन । तर, साथीभाइहरूले तपाईं सक्रिय राजनीतिमा आउनुपर्छ भनेर भन्दै हुनुहुन्छ’, भण्डारीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी ती नेताले भने ।
भण्डारीले शैक्षिक सुधार लगायतका कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताएकी छन् । उनी पूर्वशिक्षक समेत हुन् । उनले २०४२–०४३ सालमा मोरङको बेलबारी–१ मा रहेको जनता माध्यमिक विद्यालयमा अध्यापन गराएकी थिइन् । एमाले मोरङका जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीका अनुसार उनी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति समेत भएकी थिइन् । उनले वाम दलहरूलाई एक ठाउँमा ल्याउने अभियानमा समेत पहल गर्ने नेताहरूलाई भन्ने गरेकी छिन् भण्डारीलाई अध्यक्ष ओलीसँग नजिक भएका नेतारकार्यकर्ताले भने डराइ डराइ भेट्ने गरेको एक नेताले बताए । उनीहरूले भेटघाटपछि खिचाएको फोटो समेत सामाजिक सञ्जालमा हालेका छैनन् ।
उनले दैनिक ४÷५ वटा भन्दा बढी ग्रुपसँग भेटघाट गर्ने गरेकी छिन् । मदन भण्डारी फाउन्डेसनसँग जोडिएका नेताहरूसँग उनले राजनीतिक रूपमा भेटघाट गर्ने गरेकी छन् । राजनीतिक विश्लेषक कृष्ण पोख्रेल भने भण्डारीको सक्रियताले एमालेको नारी छामेको सन्देश दिएको बताउँछन् । एमालेभित्र आफ्नो कत्रो स्कोप हुनसक्छ भन्ने कुरा बुझ्न खोजेको जस्तो देखिएको पोख्रेलले बताए ।
‘मुलुकको अवस्था राम्रो भएको भए दुईरदुईपटक राष्ट्रपति भएको मान्छे राजनीतिमा नआउँदा राम्रो हुन्छ,’ पोखरेलले भने, ‘तर, मुलुकको अवस्था नै सामान्य छैन । सामान्य नभएको अवस्थामा जसले जहाँबाट जसरी त्यो अवस्थालाई सुधार्नका लागि हस्तक्षेप गर्न सक्छ । उसले त्यहीँबाट हस्तक्षेप गर्छ ।’