ओलीविरुद्धको आलोचना रोक्न एमालेले साइबर डेस्क बनाउँदै

विराटनगर । नेकपा एमाले साइबर डेस्क स्थापना गर्ने भएको छ । एमाले कोशी प्रदेशले प्रदेशका सबै वडामा डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश कमिटीको पुस २७ गते विराटनगरमा बसेको बैठकले फागुनको दोस्रो हप्ताभित्रमा डेस्क स्थापना गर्न गर्ने निर्णय गरेको थियो । फागुन १५ गतेभित्रमा १३ सय भन्दा बढी साइबर डेस्क स्थापना गर्न निर्देशन दिँदै मातहतका कमिटीलाई परिपत्र गरेको छ । फागुन १५ गते भित्रका १४ जिल्ला १३७ वटा पालिका र १ हजार १५७ वटा वडामा १३ सय ९ वटा साइवर डेस्क राखेर पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

माघ ५ जारी गरेको एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा भनिएको छ, ‘साइवर डेस्कमा ५÷५ जनालाई राख्ने निर्णय पार्टीले निर्णय गरेको छ । भरपर्दाे र विश्वासिला डिजिटल प्रविधिमैत्री कमरेडहरूको टिम बनाइ ६ हजार ५४५ जनालाई डिजिटल साइबर फोर्समा आवद्ध गरी परिचालन गरिने छ ।’

डिजिटल फोर्सलाई तहगतरूपमा आवश्यक प्रशिक्षण सहित प्रदेश डिजिटल साइवर फोर्सको कमान्डमा परिचालन गरिने अध्यक्ष खतिवडाले बताए । ६ हजार ५४५ जनाको फोर्सलाई फागुन महिनाभित्र एउटै साइवर ग्रुप तथा लिंकमा जोडेर त्यसमार्फत सामाजिक सञ्जालको पहुँचमा रहेका सबै सदस्यहरूलाई साइवर हमलाविरुद्धको प्रतिवादमा परिचालन गरिनेसमेत निर्देशनमा उल्लेख गरिएको छ ।

ग्रुप तथा लिंकमा जोडिएकाहरूले आ–आफ्नो मोबाइलबाट पार्टीको सकारात्मक प्रचारका काममा जुट्नु पर्ने छ । उनीहरूले साइवर हमलाविरुद्धको प्रतिवाद अभियानमा समेत जोडिनु पर्ने छ ।

पार्टीको नीति र नेतृत्वका विरुद्ध भइरहेको घेराबन्दी, षडयन्त्र र फैलाइएका एक–एक भ्रमहरूको डिजिटल साइबर फोर्स मार्फत प्रतिवाद गर्ने एमालेका नेताहरूले बताए । लहलहैमा लागेर कुनै पनि सदस्यले पार्टीको नीति र नेतृत्वको बारेमा नलेख्न समेत प्रदेश कमिटीले उर्दी गरेको छ । नीति र नेतृत्वविरुद्ध लेख्नेलाई कडा भन्दा कडा कारवाही गर्नेसमेत उल्लेख छ ।
एमालेले आफ्ना पार्टीका सदस्यहरूको सामाजिक सञ्जालको अकाउन्ट चेकजाँच गर्ने भएको छ । झुटा आरोप र भ्रमपूर्ण कुराहरूको खण्डन सामग्रीसमेत तयार गरेर पार्टीले तयार गरेको ग्रुपमा पठाउन मातहतका कमिटीलाई पार्टीले निर्देशन गरेको छ । डिजिटल डेस्क स्थापना गर्दा लाग्ने खर्च भने सम्बन्धित कमिटीले व्यहोर्ने उल्लेख गरिएको छ । साइवर हमलाको प्रतिवाद गर्नका लागि स्मार्टशैली अपनाएको एमालेले जनाएको छ । माघ महिनाभित्र सामाजिक सञ्जाल चलाउने नेता, कार्यकर्ता र सदस्यको विवरण संकलन गर्ने भएको छ ।

पार्टीको नेतृत्वप्रति सामाजिक सञ्जालमा साइबर हमला भएपछि प्रतिवाद गर्नका लागि यस्तो योजना बढाएको नेताहरूले बताएका छन् । ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ, ‘एक नेताले भने ‘त्यसपछि प्रदेश कमिटीलाई समेत आलोचनाको प्रतिवाद गर्ने गरी योजना बनाउने भन्ने निर्देशन नै थियो । त्यहीअनुरूप निर्णय भएको हो ।’यस्तै एमालेले विदेशमा गएका युवाहरूको तथ्यांक र नाम समावेश गरेर केन्द्रीय संगठन विभागमा पठाउन पनि परिपत्र गरेको छ ।
मिसन ८४ निर्वाचन केन्द्रित गतिविधिसमेत गर्ने गरी प्रदेश कमिटीले परिपत्र गरेको छ । निर्वाचनको बुथ सुरक्षा प्रयोजनका लागि २५ जना युवाहरूको रोष्टर बनाइ आवश्यक प्रशिक्षणसहित युवाको कमान्डमा निर्वाचन केन्द्रित युवा विशेष परिचालनको तयारी गर्न एमालेले निर्देशन गरेको छ ।

आइतबार, १३ माघ, २०८१, बिहानको ०९:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर