विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् ।
माघ १६ गते स्मृति बोर्डिङ स्कुलमा हुने वादविवाद प्रतियोगितामा प्रमुख अतिथिको रूपमा पूर्व राष्ट्रपतिलाई निम्ता गरिएको आयोजकले जनाएको छ ।
चुडाकवि स्मृति प्रतिष्ठानले विराटनगरमा पत्रकार सम्मेलन गरी मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागत तर्फका ४८ विद्यालयले सहभागी जनाउन दर्ता भइसकेको जनाइएको छ । बाँकी विद्यालयहरू गरी ५० बढी विद्यालय प्रतिस्पर्धामा आउने जानकारी दिइएको छ ।
प्रतिष्ठानका महासचिव रिता न्यौपानेले यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि चुडाकवि फाउन्डेसनले आयोजना गर्न लागेको जानकारी दिइन् । ‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकको वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै समूहलाई नगद सहित, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ,
प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ११ हजार रुपैयाँ पक्ष र विपक्ष गरी ६ जनालाई प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने सम्पूर्ण विद्यालयहरूलाई विशेष प्रमाणपत्र प्रदान गरिने न्यौपानेले जानकारी दिएकी छन् ।
प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागत तर्फका ४८ वटा माध्यमिक विद्यालयहरूबाट प्रत्येक विद्यालयका एक–एक जना छात्र र छात्रा सहभागिता जनाउनेछन् । प्रतियोगिताको निर्णायकमा सिस्नुपानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई, शिक्षा क्षेत्रका भेषजा काफ्लेलगायत रहने जनाइएको छ । प्रतिष्ठानले वादविवाद प्रतियोगितासँगै, बुढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकाहरूलाई समेत सम्मान गरिने संस्थाका उपाध्यक्ष मणिराम न्यौपानेले जानकारी दिए ।