विराटनगर । जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्नेआदेश दिएको छ ।मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीलाई २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
गत २५ पुसमा पोखरेल पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको थियो ।
स्वकीय सचिव ठगी मुद्दामा जोडिएपछि सभापति पोखरेलले जिम्मेवारीबाट हटाएका थिए ।