विराटनगर । मोरङको बेलबारी – १० स्थित सृजना सामुदायिक वनको रुख कटानमा रोक लगाइएको छ । सामुदायिक वन समितिको मिलेमतोमा मिललाई काठ विक्री गरेको पाइएपछि मंगलबारदेखि पूर्ण रुपमा रुख कटान रोकिएको हो ।
अनुसन्धान प्रक्रिया पुरा नभएसम्मको लागि सृजना समुदायिक वन भित्रको रुख कटानको काम पूर्ण रुपमा रोक लगाएको डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले बताए । ‘अनुसन्धान प्रक्रिया पुरा नभएसम्मको लागि अहिले पूर्ण रुपमा सृजना सामुदायिक वन भित्रको रुख कटानको काम रोकिएको छ,’ उनले भने, ‘छानविन समिति गठन हुने र समितिले दिएको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडि बढ्नेछ ।’
सोमबार सृजना सामुदायिक वनको १६९ क्युफिट सिसौं र कर्मा प्रजातिका काठ गैरउपभोक्ता देखाएर काठ मिललाई बिक्री गर्न लैजाने क्रममा ट्याक्टरसहित स्थानीयले नियन्त्रणमा लिएका थिए । बरामद गरेको काठ अहिले सवडिभिजन कार्यालय बेलबारीमा राखिएको छ ।
एक महिना अगाडि सामुदायिक वनले चार जना उपभोक्तालाई विक्री वितरण गरेको देखाएर १६९ क्यूफिट काठ बेलबारी ७ बाहुनिस्थत गणेश काष्ठ उद्योगमा विक्री गर्न लैजाने खोजिएको थियो । वनले विक्री गरेको काठ मिल उद्योगका सञ्चालकले लगेको पाइएपछि सामुदायिक वनको अध्यक्षसहित पदाधिकारीहरुको मिलेमतो देखिएको स्थानीयको आरोप छ ।
स्थानीयले घटनाको छानविनको माग गरेपछि डिभिजन वन कार्यालय मोरङले अनुसन्धान समिति गठनको तयारी गरेको छ । बुधबार अधिकृतको नेतृत्वमा रहनेगरी छानविन समिति गठन गर्ने तयारी डिभिजन वन कार्यालयले गरेको छ । अनुसन्धान अधिकृत मोरङका प्रमुख जिल्ला अधिकारीले तोक्ने प्राबधान छ ।
बुधबार अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने डिभिजन वन कार्यालयका प्रमुख थापाले बताए । ‘अधिकृतको नेतृत्वमा अनुसन्धान समिति गठन हुनेछ । प्रमुख जिल्ला अधिकारीले तोकेका व्यक्ति अनुसन्धान अधिकृत हुनेछन्’ वन अधिकृत थापाले भने, ‘अनुसन्धान गरेपछि मात्रै थप विषय भन्न मिल्छ । अहिले नै भएको के हो भन्न सक्ने अवस्था छैन ।’
करिब २०३ हेक्टर क्षेत्रफलमा बेलबारी १० मा रहेको सृजना सामुदायिक वन क्षेत्र फैलिएको छ । बेलबारी १० र ८ नम्बर वडाको १ हजार ८ सय घरधुरी यस वनको उपभोक्ता रहेका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ मा सृजना सामुदायिक वनले कार्ययोजना अनुसार ४ हजार ४३७ क्युफिट काठ निकाल्ने डिभिजन वन कार्यालयसँग अनुमति माग गरेको थियो । तर, डिभिजन वन कार्यालयले १४ वटा सालको काठ र अन्य १८ गरि जम्मा ३२ वटा रुख कटानको लागि अनुमति दिएको छ । ३२ वटा रुख कटान गर्दा ३२ सय १९ क्यूफिट हुन आउँछ ।
दाउरा ८.५ चट्टा कटानको अनुमति छ । २८ मंसिर २०८१ बाट समूहले रुख कटानको लागि अनुमति पाएको हो । सृजना सामुदायिक वनका अध्यक्ष देउमान लिम्बुले अहिलेसम्म १२ वटा मात्रै रुख कटान गरेको दाबी गरेका छन् । उपभोक्ताहरुले भने वनका अध्यक्षसहित पदाधिकारीहरु मिलेर छपन लगाएकोभन्दा बाहिरको दुई वटा सालको रुख कटान गरेको आरोप लगाएका छन् ।
अनुमति पाएकोभन्दा बाहिर गएर छपन नलगाएको रुख कटान गरेको भन्दै उनीहरुले अनुसन्धान माग गरेका छन् । ‘डिभिजन वनबाट अनुमति पाएकोभन्दा बाहिर गएर छपन नलगाएको दुई वटा रुख कटान भएको छ’ बेलबारी १० का उपभोक्ता ध्रुब महतले भने, ‘राजमार्गदेखि उत्तरतर्फ दुई वटा सालको रुख कटान भएको छ । करिब ३ सय क्यूफिटको रुख कटानबारे छानविन हुनुपर्छ ।’
यसअघि पनि गैरउपभोक्तालाई काठ विक्री गर्दा उपभोक्ताले बरामद गरेर सवडिभिजन कार्यालयमा ट्याक्टरसहित बुझाएको महतले बताए । उपभोक्ताको नाममा काठ खरिद गरेको देखाएर वन समितिले काठ मिललाई बिक्री गरेको भन्दै उनले गम्भीर अनुसन्धान हुनुपर्ने बताए ।
सामुदायिक वनका अध्यक्ष लिम्बु भने अनुमति पाएर छपन नलागएको एउटा रुख पनि कटान नगरेको दाबी गर्छन् । ‘छपन नलाएको एउटा पनि रुख कटान गरिएको छैन, हामीमाथि निरधार आरोपहरु लगाएका छन्’ उनले भने, ‘अहिलेसम्म १२ वटा मात्रै अनुमति पाएको रुखहरु काटिएको छ ।’ उनले कटान भएको रुख सामुदायिक वनको अफिसमा घाटगद्दी बनाएर राखिएको जानकारी दिए ।