काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक आज नेपाल आउँदैछन् । निजी भ्रमणको सिलसिलामा उनिहरु नेपाल आउन लागेका हुन ।
उनीहरू भारत भ्रमण सकेर फर्कने क्रममा काठमाडौं आउन लागेका हुन् । काठमाडौंमा उनीहरूले तीनदेखि चार घण्टा बिताउने कार्यक्रम छ ।
भुटानका राजा–रानीले मंसिर २० देखि २१ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम थियो ।
स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे भुटानका राजा–रानी नयाँदिल्लीबाट नेपालतर्फ लाग्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भुटानका राजा–रानी शुक्रबार बिहान साढे ९ बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भुटानका राजा–रानी खासगरी तीर्थाटनको लागि नेपाल आउन लागेका हुन् । स्वयम्भु र बौद्धनाथ दर्शन गर्न आवश्यक तयारी भइरहेको छ ।
निजी भ्रमण भएका कारण हालसम्म राजनीतिक भेटवार्ताको कुनै तयार गरिएको छैन । छोटो अवधिको लागि नेपाल आउन लागेका कारण राजनीतिक भेटवार्ता नमिलाइएको स्रोतले बतायो ।
काठमाडौंमा तीनदेखि चार घण्टा बिताएपछि भुटानका राजा–रानी स्वदेश फर्किने कार्यक्रम छ ।