कोशीमा माओवादीको सफलता : सिट र पपुलर मतमा पनि पहिलो

माओवादीले प्रदेशभरबाट ९८२२ मत प्राप्त गर्दा काँग्रेसले ८०७४ तथा एमालेले ७५३० मत पाएको छ । उपनिर्बाचन भएको ८ सिटमा पालिका अध्यक्ष र २ वडासहित ३ सिट माओवादीले जित्दा एमाले र काङ्ग्रेस २/२ वडाध्यक्षमा सिमित भएका छन् ।

विराटनगर । कोशी प्रदेशका ८ स्थानमा आइतबार भएको उपनिर्वाचनमा माओवादी केन्द्रले ठूलो सफलता हात पारेको छ ।

कोशी प्रदेशमा उपनिर्वाचन भएका ८ स्थानमध्ये कुनै पनि स्थानमा माओवादीले २०७९ को निर्वाचन जितेको थिएन । तर, उपनिर्वाचनमा उसले एक पालिका अध्यक्ष र दुई वडाध्यक्ष जितेर प्रदेशमा पहिलो दल बनेको छ ।

अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको ६ र एमालेले जितेको २ स्थानमा उपनिर्वाचन भएको थियो । जसमा माओवादीले ३ स्थान जित्दा काँग्रेसले २, एमालेले २ र स्वतन्त्रले १ स्थान जितेका छन् ।

काँग्रेसले लालिगुराँस ८ बाहेक यसअघि जितेका सबै स्थान गुमाएको छ । उसले यसअघि एमालेले जितेको सुनसरीको गढी ६ मा भने जित निकालेको छ ।

यस्तै यसअघि जितेको कन्काई ६ र गढी ६ मा पराजित भएको एमालेले यसअघि काँग्रेसले जितेको ताप्लेजुङको सिरिजङ्गा–३ र ओखलढुङ्गाको मोलुङ–५ मा भने जित दर्ता गरेको छ । एमालेले अघिल्लो पटक जितेको कन्काई ६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

उपनिर्वाचन भएका कुनै पनि स्थान यसअघि माओवादीले जितेको थिएन । तर, उसले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदपुरको त्रियुगा १२ र बेलका ९ जितेको छ । माओवादीले जितेका तीनै स्थान अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको थियो ।

कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । सो मतमा पनि माओवादी केन्द्र पहिलो भएको छ ।

निर्बाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा काँग्रेसले ८ हजार ७४ र एमालेले ७ हजार ५३० मत पाएको छ । माओवादीले काङ्रेसभन्दा ३ हजार ८२९ र एमालेभन्दा ४ हजार ३७३ मत बढी पाएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार राप्रपाले ७१९ र रास्वपाले ९२९ मत ल्याएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा प्राप्त भएको मतको आधारमा हेर्दा कोशीमा माओवादीले निर्वाचन भएका अधिकांश स्थानमा सुधार गरेको देखिएको छ । जसको कारण माओवादीले गत निर्वाचनभन्दा ३ हजार ६८८ मत बढाउँदा काँग्रेसको २ हजार ५७७ र एमालेको १ हजार ९२१ मत घटेको देखिएको छ । उपनिर्वाचन भएका ग्रामथान, गढी, त्रियुगा, बेलका, सिरिजंगा र लालिगुराँसमा माओवादीको मत बढ्दा कन्काई र मोलुङमा मात्र थोरै घटेको छ ।

ग्रमथान, त्रियुगा, बेलका, मोलुङ, सिरिजंगा र लालिगुराँमा काँग्रेको मत घट्दा कन्काई र गढीमा बढेको पाइएको छ । यस्तै एमालेको ग्रामथान, कन्काई, सिरिजंगा र लालिगुराँमा मत घट्दा गढी, बेलका, त्रियुगा र मोलुङमा बढेको छ ।

कुन स्थानको नतिजा कस्तो ?

ग्रामथान गाउँपालिका अध्यक्ष
२०७९ को निर्वाचनमा मोरङको ग्रामथानमा तेस्रो स्थानमा रहेको माओवादीले अहिले फराकिलो अन्तरसहित जित निकालेको छ । गत निर्वाचनमा माओवादी केन्द्रका विजयकुमार सरदारले जम्मा २ हजार ७२७ मत पाएकोमा अहिले ४२२४ मत थप गरेर ६ हजार ९६९ मत प्राप्त गर्दै नमोनारायण माझीले जित निकालेका हुन् ।

ग्रामथानमा काँग्रेसले २ हजार २७२ मत गुमाउँदा बलराम सरदाले ५ हजार ३३३ मत पाएका छन् भने एमालेले १ हजार ९२४ मत गुमाएपछि तुलसीराम विश्वास ४ हजार १५९ मतमा सीमित भए । गत निर्वाचनमा काँग्रेसका जयप्रसाद गच्छदार ७६०६ मतसहित विजयी बन्दा एमालेका शिवनारायण माझीले ६०९३ मत पाएका थिए ।

कन्काई– ६, झापा
गत निर्वाचनमा ५०८ मत ल्याएर कन्काई ६ को वडाध्यक्षमा जितेको एमालका दिर्घबहादुर थापाले जितेकामा अहिले १५२ मत गुमाए तुलाराम बस्नेतले ३५६ मत मात्र प्राप्त गरे । गत निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मतसहित विजयी भएका छन् ।

सो वडामा गत निर्वाचनमा काँग्रेसका केशब बिमलीले २०९ मत मात्र पाएकोमा १०८ मत बढाएर रामगोपाल ओली ३१७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रले भने सो वडामा १७ मत गुमाएको छ । अघिल्लो निर्वाचनमा माओवादीका रेवतबहादुर रेग्मीले २९४ मत पाएको वडामा अहिले गणेशबहादुर थापाले २७७ मत मात्र पाए ।

गढी– ६, सुनसरी
अघिल्लो निर्वाचनमा सुनसरीको गढी गाउँपालिकामा ७१२ मतसहित एमालेका सदानन्द उराउ विजयी भएकोमा अहिले एमाले तेस्रो भएको छ । सो वडामा सबै दलले मत बढाउँदा यसअघि तेस्रो भएको काँग्रेसका तेत्तर साहुले सबैभन्दा धेरै ४०० मत बढाएर जित निकालेका छन् । गत निर्वाचनमा काँग्रेसका तिलेश्वर चौधरीले ४१६ मत पाएकोमा काँग्रेसले यस पटक ८१६ मत पाएको छ ।

गत निर्वाचनमा पाएको मतभन्दा एमालेका शन्तु उरावले पनि ५८ थपेर ७७० मत प्राप्त गरे । गत निर्वाचनमा ४२४ मत पाएका माओवादीका कुशेश्वर खेरवारले ३७० मत थपेर ७९४ मत पाएका छन् ।

त्रियुगा– १२, उदयपुर
उदयपुरको त्रियुगा १२ मा पनि माओवादीले चमत्कारिक जित निकालेको छ । गत निर्वाचनमा फराकिलो अन्तरसहित तेस्रो स्थानमा रहेको माओवादीका नविनकुमार वान्तवाले ५१९ मत बढाएर साविक विजेता काँग्रेसका उम्मेदवारलाई तेस्रो स्थानमा धकेल्दै जित निकालेका हुन् ।

अघिल्लो निर्वाचनमा माओवादीले ४०४ मत प्राप्त गरेकोमा अहिले ९२३ मत पाएको छ । अघिल्लो निर्वाचनमा काँग्रेसका चुडाराज काफ्लेले ४२९ मत पाएर विजयी भएकामा अहिले काँग्रेसका सञ्जीव काफ्लेले ८० मत कम अर्थात ३५९ मत प्राप्त गरे । अघिल्लो पटक एमालेका रमेश राउत क्षेत्रीले ४०८ मत पाएकोमा अहिले लक्ष्मीनारायण चौधरीले २०० मत थपेर ६०८ मतसहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

मोलुङ– ५, ओखलढुंगा
ओखलढुंगाको मोलुङमा ५ मा अघिल्लो निर्वाचनमा काँग्रेसका गोपिकृण कार्की ३८४ मतसहित विजयी भएकोमा यसपटक काँग्रेसका घनश्याम दाहालले २०७ मत गुमाएर १०७ मात्र प्राप्त गर्दा पराजित भए । अघिल्लो निर्वाचनमा एमालेका गोपाल नेपालले ३७० मत पाएकोमा यो निर्वाचनमा २९ मत थपेर एमालेका उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मतसहित जित निकाले ।

सो वडामा माओवादीका मानबहादुर सुनुवारले अघिल्लो निर्वाचनमा ३० मत पाएकोमा अहिले उनैले ७ गुमाएर २३ मात्र पाएका छन् ।

सिरिजंगा–३, ताप्लेजुङ
ताप्लेजुङको सिरिजंगा ३ मा गत निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार टिकाप्रसाद बोखिम ४०३ मतसहित विजयी भएका थिए । यसपटक काँग्रेसले १८५ मत गुमाउँदा भिमकुमार लक्सम्बा २१८ मतसहित तेस्रो स्थानमा खुम्चिए । एमालेकी कुमारी साउदेनले अघिल्लो निर्वाचनमा ३९९ मत पाएकोमा ४६ मत घटेर ३५३ पाए पनि विजयी भइन् । अघिल्लो निर्वाचनमा काँग्रेसलाई समर्थन गरेको माओवादीका अम्बी साउदेन २५१ मतसहित दोस्रो भए ।

लालिगुराँस–८, तेह्रथुम
अघिल्लो निर्वाचनमा काँग्रेसका तेजमान लिम्बूले ५२४ मतसहित जितेको तेह्रथुमको लालिगुराँस ८ मा ७४ मत घटेपनि काँग्रेसकै नगेन्द्र लिम्बू ४४० मतसहित निर्वाचित भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा एमालेका तुलसीराम खनालले ४१३ मत पाएकोमा यस पटक बुद्धबहादुर लिम्बूले ५३ कम अर्थात ३६० मत पाए । अघिल्लो निर्वाचनमा काँग्रेसलाई समर्थन गरेको माओवादीका कुमार विश्वकर्माले भने २६ मत मात्र प्राप्त गरे ।

बेलका–९, उदयपुर
अघिल्लो निर्वाचनमा बेलका ९मा काँग्रेसका पदमबहादुर खड्का ६७१ मतसहित विजयी हुँदा १७६ मतसहित चौथो भएको माओवादीले सानदार जीत निकालेको छ । माओवादीका भरत घिमिरेले ५५९ मतसहित जीत निकाल्दा काँग्रेसका नबराज बस्नेत ४०४ मतसहित तेस्रो भए । गत निर्वाचनमा एमालेका रणजीत राईले ५४८ मत पाएकोमा यस पटक मोहन खड्काले ५२५ मत प्राप्त गरे ।

बेलका ९ मा गत निर्वाचनको तुलनमा माओवादी केन्द्रले ३८३ मत बढाउँदा काँग्रेसले २६७ र एमालेले २३ मत गुमाएको छ ।

सोमबार, १७ मंसिर, २०८१, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर