विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले जापान प्रकरणमा पूर्वमन्त्री अधिकारीले पटक–पटक तथ्यलाई तोडमोड गर्ने प्रयास गरिरहेको देखिएको छ ।
प्रदेश सरकारको निर्णयसहितको सिफारिस र संघीय सरकारको अनुमतीको आधारमा मात्र मन्त्रीले वैदेशिक भ्रमणमा जान पाउने प्राबधानविपरित जापान उडेका अधिकारीले सुरुवातबाटै तथ्यलाई तोरमोड गर्ने प्रयास गरिरहेका छन् ।
विना अनुमति र कुटनीतिक मर्यादा उल्लंघन गर्दै जापान भ्रमणमा अधिकारी गएको समाचार हाम्रोमतले पहिलो पटक प्रकाशित गर्दा अधिकारीले समय अभाबको कारण अनुमति लिन नपाएको बताएका थिए । तर, त्यसबेला जापानबाट आफूसहित नक्कली कागजात बनाएर जापान जान खोजेका व्यक्तिहरु डिपोर्ट भएको तथ्यलाई लुकाए ।
अधिकारीले जापान भ्रमणलाई सामान्य रुपमा ब्याख्या गरिहरँदा काठमाडौं प्रहरीले भने उनीसँगै नक्कली कागजात बनाएर जापान जान खोजेका तीन जना र उनीहरुको बयानको आधारमा थप तीन जनालाई पक्राउ गरिसकेको थियो । त्यसपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अधिकारीलाई राजीनामा दिन निर्देशन दिए ।
मुख्यमन्त्रीको निर्देशनपछि गत बुधबार राजीनमा दिएका अधिकारीले मुख्यमन्त्रीलाई नै विवादमा तानिने अभिव्यक्ति दिए । ‘मुख्यमन्त्रीले राजीनानमा नदिनु भएको भएपनि नैतिकताको आधारमा अनुसन्धानलाई सहयोग गर्न राजीनामा दिएको’ जिकिर गरे । गम्भीर फौजदारी अभियोगमा मुछिएपछि पनि सत्तारुढ दलको सांसद र मन्त्री भएको कारण प्रहरी अनुसन्धानको दायरा बाहिर रहेका उनले पत्रकार सम्मेलन गरेरै राजनीतिक नैतिकताको पाठसमेत पढाउन भ्याए ।
पत्रकार सम्मेलनमा अधिकारीले हङकङमा पुगेपछि मात्र आफूले आफूसँगै नक्कली परिचयपत्र बनाएर तीन जना जापान जान लागेको थाहा पाएको र त्यसपछि नेपाल फर्कन प्रयास गर्दा त्यहाँबाट फर्कन नमिलेपछि जापान पुगेर फर्किएको दावी गरेका थिए । ‘म जापान जाँदा मसँगै नक्कली कागजात बनाएका तीन जना पनि जापान जाने देखेपछि उनीहरुलाई पनि लिएर नेपाल फर्किएँ’ उनले भनेका थिए, ‘त्यसपछि काठमाडौंमा उनीहरुलाई अध्यागमनको जिम्मा लगाएर आएको हुँ ।’
अधिकारीले हङकङमा गिरोहले आफूसँगै तीन जनालाई नक्कली कागजात बनाएर जापान पठाउन खोजेको थाहा पाएपछि त्यहिबाट प्रहरीलाई खबर गरेको दावी गरेका छन् । तर, उनले प्रहरीलाई हङकङबाट नभएर जापान पुगेपछि मात्र खबर गरेको खुलेको छ । आफू जापान जाँदा तीन जना पनि जाने भएकोले फिर्ता भएको उनको दावी पनि झुटो ठहरिएको छ । किनकि उनीसहित सबैलाई जापानको अध्यागमनले जापान प्रवेशको अनुमति नदिई डिपोर्ट गरेको पुष्टि भइसकेको छ ।
जापानबाट डिपोर्ट भएपछि भने उनी काठमाडौंस्थित त्रिभुवन विमानस्थलको अध्यागमनमा मन्त्री भएको परिचय पत्र देखाएर बाहिरिएका थिए । आफूलाई फसाउन आफूसँग गिरोहले तीन जनालाई जापान पठाउन खोजेको उनले दावी गरेका छन् । तर, गिरोका नाइके मानिएका महेश पाण्डे र गोपाल गौतमसँग उनले विमानस्थलमै जापानतर्फ उड्नु अगाडि भेटेको सार्वजनिक भइसकेको छ ।
गम्भीर अपराधमा मुछिएपछि एमाले नेताहरुले अधिकारीमाथि के गर्ने भन्नेबारे छलफल भइसहेको जानकारी दिएका थिए । पार्टीले निलम्बन गर्ने सुईंको पाएपछि अधिकारी आफैंले शुक्रबार पार्टीमा निवेदन दिएर निलम्बनको माग गरे । अधिकारीलाई एमालेले शनिबार पार्टीको संगठित सदस्यबाट निलम्बन गर्यो । तर, संसदीय दलले भने उनलाई आइतबार मात्र स्पष्टिकरण सोधेको छ ।
गम्भीर अपराधमा मुछिएपछि पनि अधिकारीलाई अनुसन्धानको दायरामा नल्याएको सरकार र प्रहरीमाथि दबाब बढेको थियो । यो प्रकरणमा जोडिएका ६ जनाको बयान र प्राप्त प्रमाणको आधारमा पनि अधिकारी पक्राउ गर्नुपर्ने देखिएपछि काठमाडौं प्रहरी परिसले आइतबार कार्यालय समय सुरु हुनसाथ उनलाई पक्राउ गर्न अनुमति लियो ।
सत्तारुढ दलको सांसद, पूर्वमन्त्री र आफैं कानुन व्यवसायी रहेका अधिकारीले आफूलाई पक्राउ गर्न अदालतबाट प्रहरीले अनुमति लिएको जानकारी नपाउने कुरै थिए । त्यसपछि उनले आफ्नो संभावित पक्राउलाई पनि अन्यत्रै मोड्ने प्रयास गरे । प्रहरीले शनिबारबाटै उनको निवास वरपर निगरानी बढाइसकेको थियो ।
प्रहरी टोली पक्राउको लागि आउन लागेको सूचनापछि उनले निकटका केहि पत्रकार बोलाएर ‘प्रहरीको अनुसन्धानमा सहयोग गर्न काठमाडौं जान लागेको’ प्रचार गर्न लगाए । ‘प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आफैं काठमाडौं जान लागेको छु, हवाईजहाजको टिकट लिइसकेको छु’ उनले भनेका थिए । तर, उनले यस्तो दावी सार्वजनिक भइसक्दा सादा पोसाकका प्रहरीको टोली उनीको निवास वरपर पुगिसेकेको थियो । जिल्ला प्रहरी कार्यालय काठमाडौं परिसरको ‘अधिकारीलाई पक्राउ गरि पठाईदिनु’ भन्ने पत्रको आधारमा मोरङका एसपी नारायण चिमोरिया नेतृत्वको टोलीले उनलाई पक्राउ गर्यो ।
अधिकारीलाई प्रहरीले पक्राउ गरेर गाडीमा चढाउने बेला पनि उनले प्रहरीले पक्राउ गरेको नभई आफैं काठमाडौं जान लागेको आसयको प्रतिक्रिया दिए । ‘अनुसन्धानलाई सहयोग गर्न काठमाडौं हिँडेको’ उनको भनाइ थियो । तर, उनी आफैं काठमाडौं हिँडेको भनाई मानब तस्करी जस्तो गम्भीर अपराधमा पक्राउ पुर्जी जारी भएपछि प्रहरी नियन्त्रणमा थिए ।
अधिकारीलाई पक्राउ गरेर काठमाडौं पठाउन विहानदेखि प्रहरीले विमानमा टिकट होल्ड गरेर राखेको थियो । अन्ततः उनलाई यति एयरलाईन्सको विमानमा काठमाडौं लगियो र अदालतमा उपस्थित गराएर म्याद थप गरियो ।