कोशी प्रदेशका विवादित छ सांसद

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी आइतबार पक्राउ परेका छन् । उनलाई मानव तस्करीको आरोप लागेको छ ।

प्रदेश र संघ सरकारको अनुमतिबिनै गत कात्तिक १३ गते जापान उडेका अधिकारीको साथमा अन्य चार जना पनि सँगै लिएर गएका थिए । तर, जापानको अध्यागमन विभागले नक्कली डकुमेन्ट मिलाएर आएको आरोप लगाउँदै मन्त्रीसहित पाँचै जनालाई नेपाल फर्काइदियो । मन्त्री अधिकारीसहितको टोली कार्तिक १७ गते नेपाल आयो । तर, अन्तर्राष्ट्रिय विमानस्थलबाटै तीन जना जनक राई, दावा तामाङ र कञ्चन देवकोटा पक्राउ परे । तर सँगसँगै जापान गएका मन्त्री अधिकारी र अनिता तिमल्सिनालाई भने कागज गराएर छोडिएको थियो ।

एक हप्तापछि अधिकारी पक्राउ परेका छन् । तर, तिमल्सिना अझै पक्राउ परेकी छैनन् । अधिकारी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।

कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा विवादमा पर्ने सांसद अधिकारी मात्रै छैनन् । सोलुखुम्बु निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित एमालेका सांसद बुद्धिकुमार राजभण्डारी गत साउनमा जुवाखालबाटै पक्राउ परेका थिए । कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्रीसमेत रहेका राजभण्डारी जुवाको खालबाट साउन २६ गते समातिएका थिए ।

काठमाडौंको गौरिघाटस्थित राजु महतको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका भण्डारीसहित ११ जना तीन दिनपछि जनही १० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए । त्यसबेला पक्राउ पर्नेमा सांसद राजभण्डारीसहित सोलुखुम्बु सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा थिए ।

उता, विवादित छविका कोशी प्रदेशका सांसद तथा हालका बहालवाला उद्योग, कृषि तथा सहकारी मन्त्री हुन् खगेनसिंह हाङ्गाम । उनले २०८० साल भदौ अन्तिममा तत्कालीन ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका थिए । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले तत्कालीन डीएसपी (हाल एसपी) लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका थिए ।

‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्, कस्तो लुगा लगाउँछस्, के खान्छस्, तेरो बाउआमा कहाँ छन्, तेरो छोराछोरी कहाँ छन्, त्यो पनि पत्ता लगाएर हामी मार्छौं’, हाङगामले लिम्बूलाई धम्की दिँदै भनेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । आफूहरु मान्छे मार्न पनि नडराउने भन्दै उनले प्रहरी अधिकारीलाई धम्की दिएका थिए । हाङ्गामको उक्त विवाद कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएपछि आएको थियो । हाङ्गाम ताप्लेजुङ १(२) बाट निर्वाचित सांसद हुन् ।

यस्तै विवादित छविका अर्का सांसद तथा पूर्व राज्यमन्त्री इन्दिरा थापा हुन् । कांग्रेसबाट समानुपातिक सांसद बनेकी सांसद थापाले प्रदेश सरकारको करिब दुई करोड बजेटबाट धनकुटामा आफ्नै घर निर्माण गरेको सार्वजनिक भएको थियो ।

धनकुटाको पाख्रिवास नगरपालिकामा आफ्नो परिवारको नाममा रहेको निजी जग्गामा थापाले प्रदेश सरकारको बजेटबाट घर निर्माण गरेको विषय अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । हाल भने उक्त जग्गा केयर वुमेन नेपालको नाममा ल्याइसकेको बताएकी छन् । पाख्रिबास ८ मुगा ठेगाना रहेको केयर वुमेनको नाममा प्रदेश सरकारबाट २०७६ सालमा १ करोड १० लाख बजेट विनियोजन भएको थियो । सो बजेटबाट संस्थाकी अध्यक्ष रहेकी थापाले आफ्नै निजी जग्गामा घर निर्माण सुरु गरेकी थिइन् ।

२०७७ सालमा थापाले पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पुनः केयर वुमन नेपालको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट लगेको पाइएको थियो । त्यति मात्रै हैन, सो योजनामा प्रदेश सरकारले गत आर्थिक वर्षहरुमा थप १० लाख र २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । राज्यमन्त्री थापाकी आमा दुर्गादेवि थापाको नाममा रहेको सो जग्गामा भवन निर्माण भने भइसकेको छ ।

उता, सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनाल पनि मुछिएका छन् । उनका छोरा सुमन खनाल भने पक्राउ परिसकेका छन् । खनाललाई झापाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको आरोप छ । खनाल सोही सहकारीका अध्यक्ष थिए । उनले बचतकर्ता र सेयर सदस्यको झण्डै एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका खनालका बुबा राधाकृष्ण खनाल झापा क्षेत्र नम्बर ४(१) बाट निर्वाचित एमालेका सांसद हुन् ।

खनालले निर्वाचनको बेला आफूलाई भोट दिएर निर्वाचित गरे छोराले डुबाएको सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता मतदाताबीच गरेका थिए । तर, उनले चुनाब जितेपछि वेवास्ता गरेको पीडितहरुको गुनासो छ ।

यस्तै अर्का विवादित सांसद हुन् कांग्रेसका इस्राइल मन्सुरी । सरकार गठन प्रक्रियामा तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद २०८० साउन १६ गतेदेखि खाली थियो । त्यही समयमा मन्सुरीले भने सभामुखको लेटरप्याड दुरुपयोग गर्दै एक पत्र सार्वजनिक गरेका थिए ।

मन्सुरीले प्रदेश सरकारले पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरुको विस्तृत विवरण सभामुखको लेटरप्याडमा आफ्नो नाम राखेर हस्ताक्षरसहित सार्वजनिक गरेका थिए । पत्रमा माननीय इस्राइल मन्सुरी, सभामुख कोशी प्रदेशसभा, नेपाल लेखिएको थियो । उक्त पत्र सार्वजनिक भएपछि उनले माफी माग्दै हटाएका थिए ।

सोमबार, २६ कार्तिक, २०८१, बिहानको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर