विराटनगर । चौतर्फी दबाबपछि गम्भीर फौज्दारी अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेर मानव ओसारपसार तथा बेचविखनविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको हैसियतमा नक्कली कागजात बनाएर तीन युवालाई जापान लैजान खोजेको आरोप लागेका अधिकारीलाई आइतबार विराटनरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।
आइतबार काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिएर प्रहरीले विराटनगर–२ स्थित निवासबाट अधिकारीलाई पक्राउ गरि काठमाडौं लगेको थियो । विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको जहाजमार्फत् काठमाडौँ लगिएका अधिकारीलाई अदालतमा उपस्थित गराइएकोमा २ दिनको म्याद थप भएको हो ।
आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । मानव तस्करी प्रकरणमा हालसम्म उनीसहित ७ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको काठमाडौं परिसरले अधिकारीलाई पक्राउ गरि पठाउन पत्र पठाएपछि मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरिया नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ गर्ने जानकारी पाएपछि अधिकारीले भने आफू आफैं प्रहरीमा उपस्थित हुन काठमाडौं जान लागेको झुटो जानकारी केहि पत्रकारमार्फत गराएका थिए ।
अधिकारीले आफू काठमाडौं जान लागेको बताएको केहि समयमै प्रहरी उनको निवासमा पुगेर नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा अधिकारीलाई काठमाडौं पुर्याएर जिल्ला प्रहरी परिसर काठमाडांैको जिम्मा लगाएको मोरङ प्रहरीले जनाएको छ ।
मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि मन्त्री अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको चर्को आलोचना भइरहेको थियो । नेकपा एमालेले मानब तस्करीमा मिलेमतो भएको भन्दै उनलाई निलम्बन गरिसक्दा पनि प्रहरीले उनीमाथि अनुसन्धान थालेको थिएन । नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले सत्तारुढ दलको सांसद भएको कारण अधिकारीको संरक्षण भएको भन्दै उनीमाथि अनुसन्धान गर्न दबाब बढाएका थिए ।
अधिकारीसँगै नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवासहित अधिकारीलाई जापनाको अध्यागमनले विमानस्थलबाटै डिपोर्ट गरेको थियो । तीन युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपनि अधिकारीलाई भने प्रहरीले त्यसै छाडिदिएको थियो ।
कात्तिक १३ गते प्रदेश सरकार र संघीय सरकारबाट भ्रमणको स्वीकृति पनि नलिई अधिकारी जापान पुगेका थिए । उनीसँगै रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राई नक्कली सरकारी परिचयपत्र बनाएर जापान पुगेका थिए । उनीहरुलाई जापनाले डिपोर्ट गरेपछि १७ गते तीन जना पक्राउ परेकामा उनीहरुको बयानको आधारमा जापान जाने नक्कली कागजान बनाइदिने थप तीन जना पनि पक्राउ परिसकेका छन् ।
प्रहरका अनुसार अधिकारी र फर्जी कागजका आधारमा उनीसँगै जापान पुगेका एक युवकले एउटै होटलमा कोठा बुकिङ गरेको पाइएको छ । अधिकारी र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटाले जापानको टोकियामा एउटै होटलमा अग्रिम कोठा बुकिङ गरेको कागजात फेला परेको हो ।
अधिकारीले आफूसँगै तीन जना गएको भन्ने हङकङमा मात्र थाहा पाएको र त्यसभन्दा पहिले चिनजान नभएको जिकिर गरेका थिए । तर, प्रहरीले त्यसरी जापान गएका एक युवक र उनको एउटै होटलमा बुकिङ भेटेपछि थप अनुसन्धान गर्नुपर्ने देखिएको जिकिर गरेको छ । अधिकारीलाई पक्राउ गरेर आइतबार अदालतमा पेश गर्दा सरकारी वकिलहरुले सो तथ्य पेश गरेका हुन् ।
यसअघि एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनले सहजै छाडिदिएकामा आलोचना भएको थियो । तत्कालीन मन्त्री अधिकारीको नेतृत्वमा चारै जना आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान उडेका थिए । अधिकारीसँग रहेका तीन युवालाई जापानबाट भगाउने गिरोहको योजना रहेको थियो ।
टोकियोको विमानस्थलस्थित अध्यागमनले शंकास्पद काजगात देखेपछि उनीहरुलाई जापान प्रवेश नदिएपछि चारै जना अध्यागमनबाटै फिर्ता गरेको थियो । तर, अधिकारीले भने आफूसँग नक्कली काजगात बनाएका व्यक्तिहरु जापान छिर्न लागेको थाहा पाएपछि जापानबाट उनीहरुलाई लिएर फर्किएको झुटो दावी गरेका थिए ।प्रहरी पक्राउ गरेपछि अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । यद्यपी आफू पक्राउ परेको विषयलाई छल्दै उनले ‘अनुसन्धानलाई सहयोग पुर्याउन हिँडेको’ प्रतिक्रिया दिएका थिए ।
यसअघि पत्रकार सम्मेलने अधिकारीले ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसकेका छन् । गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको उनको भनाइ छ । तर, उनले जापान पुगेर त्यहाँको अध्यागमनले डिपोर्ट गर्ने भएपछि मात्र प्रहरीमा घटनाबारे जानकारी दिएको पाइएको छ ।
अधिकारीसँगै डिपोर्ट भएका तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेश पाण्डेलाई यसअघि नै पक्राउ गरेको छ । उनीहरुले नक्कली कागजपत्र बनाउन सहयोग गरेको प्रहरीले जनाएको छ । जापान जान हिँडेकाहरुले गिरोहलाई जनही १० देखि १३ लाख रुपैयाँ बुझाएको बयान दिएका थिए ।
तीन युवालाई जापान पठाउने गिरोहका नाइके मानिएका महेश पाण्डेसँग अधिकारीले जापान उड्नु अगाडि विमानस्थलमै भेट गरेको पाइएको छ । यस्तै अधिकारीलाई पाण्डेसँग सम्पर्क गराउन एमालेकै कार्यकर्ता रहेका मोरङको रतुवामाई घर भई काठमाडौं बस्ने गोपाल गौतम भने फरार छन् ।
अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पु¥याउन खोजेको आरोप छ । एमाले कोशीले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो । यस्तै एमाले संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
अनुसन्धान सुरु भएपछि अधिकारीले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । पछि उनलाई पार्टीको प्रदेश कमिटीले संगठित सदस्यबाट समेत निलम्बन गरेको थियो ।
एमाले नेता लीलबल्लभ अधिकारी मोरङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मन्त्रिपरिषदमा अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।
साबिकको अमरदह गाउँपालिका निवासी ५९ वर्षीय अधिकारी २०७४ सालमा प्रदेशसभा सदस्य बन्नुअघिसमम विराटगरमा वकालत (कानून व्यवसायी) पेशा गर्थे । उनी आफूलाई गरीबको वकिल भएको दाबी गर्थे । क्लाइन्टहरुलाई समेत ‘कमरेड’ भनेर सम्वोधन गर्थे ।
अधिकारीले विराटनगरको जनता क्याम्पसमा कानुन पढेका हुन् । अनेरास्ववियुको सक्रिय राजनीति हुँदै उनी २०४९ सालको स्थानीय चुनावमा तत्कालीन अमरदह गाविसमा एमालेबाट अध्यक्षको उम्मेवार बनेका थिए। तर, पराजित भए ।
वकालत र राजनीतिलाई सँगै अघि बढाएका उनी २०५४ सालमा एमाले विभाजित हुँदा मालेतिर लागेका थिए । एमालेभित्र केपी ओली र माधब नेपालबीच विवाद हुँदा उनी नेपाल पक्षधर थिए । विराटनगरस्थित उच्च बारका पूर्वअध्यक्ष समेत भइसकेका उनी २०७४ सालमा प्रदेश सभामा निर्वाचित भएका थिए।
अवसरको लागि जस्तोसुकै काम गर्न तयार हुने भएकोले उनले एमालेको पछिल्लो विभाजनमा भने नेपाललाई साथ दिएनन् । त्यसकै उपहारस्वरुप उनलाई प्रदेशसभाको पहिलो कार्यकालमा शेरधन राईपछि मुख्यमन्त्री बनेका भीम आचार्यले आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका थिए । तर, उनको कार्यकाल २ महिनाभन्दा छोटो भयो । प्रदेशसभाको दोस्रो कार्यकालमा निर्वाचित भएपछि हिक्मतकुमार कार्की दोस्रो पटक अल्पमतको मुख्यमन्त्री बन्दा पनि उनले छोटो समय सोही मन्त्रालयको राज्यमन्त्री बन्ने अवसर पाएका थिए ।
पछिल्लो समयमा ओली समूहका ऋषिकेश पोखरेलको साथ लिएर लीलाबल्लभले २०७४ मा प्रदेशसभा सदस्यको टिकट पाए । कांग्रेसभित्र अन्तरघातको फाइदा उठाउँदै उनले चुनाव जिते । त्यसपछि ०७९ को निर्वाचनमा पनि उनले मोरङ–२ (ख) बाटै चुनाव जिते र प्रदेशको कानुन मन्त्रीसमेत बन्न सफल भए ।अधिकारीले २०७९ को चुनावमा नेपाली कांग्रेसका विनोद कार्कीलाई हराएका थिए । विनोदले १४ हजार ९५२ मत पाउँदा अधिकारीले १७ हजार ७५२ मत पाएका थिए ।
प्रदेशसभाको अघिल्लो कार्यकालमा सांसद रहँदारहँदै सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतको पक्षमा अदालतमा बहस गरेपछि विवादमा परेका थिए । २०७४ पछि प्रदेशसभामा बोल्ने क्रममा अधिकारीले ३३ किलो सुन प्रकरणमा तस्करको पक्षमा बोलेपछि प्रदेशसभामा उनको चर्को आलोचना भएको थियो । सुन तस्करको पक्षमा बोलेपछि एमालेले उनलाई तीन महिनासम्म प्रदेशसभामा बोल्न नपाउने गरी अनुशासनको कारवाही गरेको थियो ।
आफ्नै मन्त्रालयका कर्मचारीहरूले प्रक्रिया पूरा नगरी नजान सुझाउँदा ुकाठमाडौंसम्म पुगेर आउनेु भन्दै हिँडेका उनी शंकास्पद रूपमा जापान उडेका थिए । अहिले आफू फसेको दाबी अधिकारीले गरेपनि उनको भनाइमा विश्वास गर्न उनकै पार्टीका नेताहरू पनि तयार छैनन् । ‘उनी जत्तिका चलाख मान्छे फसे होला भनेर कसरी पत्याउनु ?’ उनीहरूको भनाइ छ।
अधिकारीका समकालिनहरु उनलाई अवसरवादी र बेइमान व्यक्तिको रुपमा चित्रित गर्छन् । उनीसँगै राजनीति र कानुन व्यवसायमा संलग्न रहेका एमाले कार्यकर्ता हेमराज पन्तले अधिकारीको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा उनको विरुद्ध कडा स्टाटस लेखेका छन् ।
अधिकारी कहिले पनि इमान्दार नभएको र अदालतदेखि पुलिससम्म सेटिङ गरेर पैसा कमाउने धन्दामा राजनीतिक पदको दुरुपयोग उनले गरेको पन्तले लेखेका छन् । ‘उ कहिले पनि इमान्दार थिएन । ४५–४६ सालमा जासुसीको आरोप थियो । भागीभागी हिँड्नेहरू अहिले एमालेभित्रै छन्। न त राजनीतिमा योगदान छ न त इतिहासै छ । पार्टी विभाजनमा विभाजनको मौका भेटेर कमिटीमा प्रवेश पायो । त्यसपछि मामाथरका फुच्चे नेताको फेर समातेर अलिकति भेटि हालेर पद पायो । त्यो पदलाई पुलिसको सेटिङ र अदालतको सेटिङको नामबाट पैसा कमायो । हुँदाहुँदै ठूलै पद भेट्यो । पदको दुरुपयोग गर्ने त पुरै सम्भावना छँदै थियो । तर, अलिकति जानेन प्रकट रुपमै सो भयो । यी सबै प्रकरणको समय आफैले छानबिन गर्नेछ गर्नेछ’ पन्तले लेखेका छन् ।