आज फुलपाती भित्र्याइदै

टिकाको साइत असोज २६ गते ११ः३६ बजे

विराटनगर । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज (बिहीबार) घर–घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता पर्दैन ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहँदै आएको छ । मोरङको रंगेलीस्थित संसारी माइस्थानमा पनि फुलपाती बढाईसहित भित्र्याउने गरिन्छ । सो कार्यक्रममा प्रदेश सरकारको सहभागिता रहने गरेको छ ।

फुलपातीको दिनदेखि दशैंको सार्वजनिक विदा हुने भएकोले चाडको चहलपहल बढ्नेछ । विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अहिले चलिरहेको छ । ग्रामिण क्षेत्रको दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्छ ।

आश्विन शुक्ल पक्षमा शक्तिपीठमा गई पूजा आराधना एवम् साधना गरेमा देवी प्रसन्न भई मनोकामना पूर्ण गर्नका लागि भक्तजनलाई आशीर्वाद दिन्छिन् भन्ने धार्मिक विश्वास छ । त्यसैले यसबेला मन्दिरहरुमा भक्तजनको भिड लाग्ने गरेको छ ।

यो वर्ष महाअष्टमी र महानवमी पर्व एकैदिन परेको छ । असोज २५ गते, शुक्रबार दुबै पर्व मनाएपछि शनिबार टिका ग्रहण गरिन्छ । शनिवार ८ः३३ बजे देवी विसर्जन र ११ः३६ बजे टिकाको सुभसाइत रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । यद्यपी सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने समितिको भनाइ छ ।

टिका लगाइमाग्ने पूर्व फकिएर टिका लगाउनपर्ने समितिले जनाएको छ । असोज ३० गते बुधबार कोजाग्रत व्रतपछि यो वर्षको दशैं पव समापन्छ हुन्छ ।

बिहिबार, २४ असोज, २०८१, बिहानको ०९:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर