नमुना बनेको कृषि एक्स्पो

 सम्पादकीय

नेपाल उद्योग वाणिज्य महासंघलाई उद्योगी र व्यवसायीको संस्थाको रुपमा लिइन्छ । ठूला उद्योगी र व्यवसायीहरु आबद्ध रहने यो संस्थाले प्रायः उनीहरुकै कुरा उठाउँछन् । तर, राजेन्द्र राउत नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघ, कोशीले भने तल्लो तहका किसानको पक्षमा काम गरिरहेको छ । कृषि क्षेत्रको विकास र किसानको समस्या समाधानको लागि विभिन्न कार्यक्रम गर्दै आएको महासंघले भदौ २७ गतेदेखि ४ दिनसम्म विराटनगरसँग जोडिएको कटहरीमा कृषि एक्स्पो सञ्चालन गर्यो । विराटनगरमा हरेक वर्ष २ देखि ३ वटा ठूला एक्स्पो हुन्छन् । तिनको प्रायः उद्देश्य धेरै स्टल लगाउने, मनोरञ्जनका अन्य स्थान नभएको महानगरका बासिन्दालाई सशुल्क प्रवेश गराउने, गाना बजनामा मध्यरातसम्म नचाउने र मोटो रकम असुली गर्ने हुन्छ । ती एक्स्पोहरुले यस क्षेत्रको नेपालको आन्तरिक उद्योग, व्यवसाय, उत्पादनको विकासमा खासै योगदान गर्दैनन् । तर, कृषि एक्स्पो भने त्योभन्दा पृथक रह्यो ।कुनै प्रवेश शुल्कविना सञ्चालन भएको एक्सोपमा जुम्लादेखि भारतसम्मका कृषि उत्पादन, कृषि यन्त्र, कृषि प्रबिधि र कृषि योजना तथा कार्यक्रमहरु मात्र थिए । करिब एक लाखले अवलोकन गरेको एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, कस्टम हायरिङको परिचय तथा प्रयोग र पशुपंक्षी कृषि विज्ञानका विषयमा छलफल भयो ।

एक्स्पोमा आर्थिक मामिला तथा योजनामन्त्री राम रानामगरसहित विज्ञहरुबीच प्यानल छलफल भएको थियो । छलफलमा भारतीय विज्ञ डा.कञ्चन भौमिक, कृसेन्दु सिन्हा र डा.सुभाषिश बलले कृषिमा एजोला तथा ब्लुग्रीन एल्गीको उत्पादन र प्रयोग एंव जैविक मल तथा विषादी बनाउने र यसको प्रयोगबारे जानकारी गराएका थिए । एक्स्पोमा पूर्वाञ्चल विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयले कृषि सम्वन्धी विषयमा काउन्सिलिङ पनि गरेका थिए । किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पोले मद्दत गरेको पाइएको छ । लगानीको सुनिश्चितता र कृषि आधुनिकीकरणका लागि यो महत्वपूर्ण अवसर बनेको छ । सरकारले कृषि क्षेत्रमा राम्रै लगानी गरेको भएपनि वास्तविक किसानसम्म त्यो पुगेको छैन । पहुँचवालाले नै त्यसमाथि हालिमुहाली गर्दै आएका छन् । अर्कोतिर कृषि पेशा गर्नेहरुमाथि सम्मानको अवस्था छैन । कृषि पेसालाई सबैभन्दा तल्लो स्तरको पेशाको रुपमा लिइन्छ । पढेलेखकाहरु कृषि पेशामा लागे समाजले नराम्रो नजरले हेर्ने अवस्था छैन । त्ससैले पनि नेपालको कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण हुन सकेको छैन । निर्वाहमुखी कृषिमा मात्र नेपालीहरु छन् ।

कृषि उत्पादनहरुको बजारीकरण हुन सकेको छैन । किसानले गरेको उत्पादन सहजै बजारमा पुग्न सक्दैन । किसानले उचित मूल्य पाएका छैनन् भने उपभोक्ताले पनि महंगो मूल्य तिर्न परिरहेको छ । किसानको उत्पादनमा बिचौलिया हावी छन् । त्यसलाई अन्य गर्न कृषि उत्पादनको बजारीकरणमा राज्यले ध्यान दिनुपर्छ । उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक्स्पोले कृषि उत्पादनको प्रबद्र्धन, बजारीकरण र व्यवसायीकरणमा पक्कै पनि योगदान गरेको छ । निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मन्चमा ल्याउने काम एक्स्पोले गरेको छ । यसबाट आयातमुखी अवस्थालाई परिवर्तन गर्दै निर्यातजन्य कृषि उपजको उत्पादनमा जानको लागि कसरी अगाडि बढ्ने भन्ने बहस र छलफल पनि भएको छ । किसान, उद्यमी, लगानीकर्ता र उपभोक्ताहरु एकै थलोमा जम्मा गर्ने काम एक्स्पोले गरेको छ । कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चिताको ज्ञारेन्टी राज्यले गर्नुपर्छ । त्यसले कृषिको व्यवसायिक विकासमा योगदान पुग्नेछ । कृषिको व्यवसायीक विकाससँगै उत्पादनमा प्रोत्साहन, निर्यातमा सहजीकरण र बजारीकरणमा राज्य तथा निजी क्षेत्रले सहकार्य गर्नुपर्ने सन्देश एक्स्पोले दिएको छ ।

सोमबार, ३१ भदौ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर